सम्भव छ राष्ट्रिय सभाको चुनाव ?

सम्भव छ राष्ट्रिय सभाको चुनाव ?

युवराज खतिवडालाई जसरी पनि राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको अडानले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी समेत चर्चा हुन थालेको छ ।

मनोनित सांसदको कोटा तीनजना मात्रै रहेको र रिक्त एउटा भएकाले अर्को कुनै सदस्यलाई राजीनामा गर्न लगाएर भएपनि राष्ट्रिय सभाको निर्वाचन गर्ने कोणबाट समेत बालुवाटारमा चर्चा हुन थालेको हो ।

संविधानतः राष्ट्रिय सभाको सदस्य संख्या ५९ छ । त्यसमध्ये सात वटा प्रदेशबाट प्रत्यक्ष निर्वाचित हुने सांसदको संख्या आठ जनाको दरले ५६ जना हो ।

बाँकी तीन जनामध्ये एक महिलासहित दुईजना पुरुष सांसद सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । अहिले खाली रहेको एउटा पद गत फागुनमा दुई वर्षे चिठ्ठाको कारण युवराजको म्याद सकिएपछि भएको हो ।

युवराज खतिवडा महिला नभएकाले र तत्काल हुनपनि नसक्ने भएकाले महिला कोटाकी विमला पौडेल राईलाई राजीनामा गराएको अवस्थामा समेत उनको नियुक्ति हुन सक्दैन । अर्का मनोनित रामनारायण बिडारीलाई राजीनामा गराएर युवराजलाई राष्ट्रिय सभामा लैजाने कल्पना सपनामा पनि गर्न सकिँदैन भनिन्छ ।

यस्तो अवस्थामा ५६ जनामध्ये कोही एकजना सांसदलाई राजीनामा गराएर उक्त स्थानबाट खतिवडालाई प्रत्यक्ष निर्वाचित गराउन सकिने कोणबाट समेत सोचिएको बालुवाटार निकट स्रोतको दाबी छ ।

यतिखेर मुलुकभर कोरोना संक्रमण र ५० भन्दाबढी जिल्लामा बन्दाबन्दीको अवस्था रहेकाले तत्काल स्थानीय निकायका अध्यक्ष र उपाध्यक्ष आएर भोट हाल्न र राष्ट्रिय सभाको चुनाव चाहेर पनि गर्न सकिने अवस्था छैन । अर्कोतर्फ, अर्थमन्त्री बनेदेखि नै संघीय संसददेखि स्थानीय निकायका जनप्रतिनिधि र तिनलाई उपलब्ध गराइएको बजेटप्रति नकारात्मक बनेकाले खतिवडालाई उम्मेदवार बनाएको अवस्थामा भोट क्रस भएर पराजित हुने सम्भावना अधिक छ ।

राष्ट्रिय सभाको चुनावमा सम्बन्धित प्रदेशका प्रदेश सांसद र पालिकाका मेयर तथा उपमेयर र अध्यक्ष तथा उपाध्यक्षहरू मतदाता हुने व्यवस्था छ ।

टिप्पणीहरू