राजनीतिक नेतृत्वमा कथित विज्ञ : ठीक वा बेठीक ?

राजनीतिक नेतृत्वमा कथित विज्ञ : ठीक वा बेठीक ?

अर्थमन्त्री युवराज खतिवडाको विज्ञता र गतिबिधिलाई पार्टीभित्रैका राजनीतिक विश्लेषकहरूले छुट्टै ढङ्गले ब्याख्या गरेका छन् । उनीहरूले ‘राजनीतिक नेता वा कार्यकर्ता जतिसुकै झुर भएपनि तथाकथित विज्ञहरूलाई मुलुकको डाडु पन्युुँ दिँदा तिनले सखापै पार्न बेर लाउँदैनन्’ भन्ने प्रमाणित भएको बताएका छन् ।

निश्चित व्यक्ति र शक्ति केन्द्रको आडमा विज्ञता देखाउन पाएपछि उनीहरूले ब्युरोक्रेसी,राजनीतिक नेता तथा अन्य मन्त्रीको कुरै नसुन्ने अनि जनता र पार्टीप्रति समेत जिम्मेवार नहुने प्रवृत्ति मौलाउँदै गएको तिनको ठहर छ ।
विश्लेषकहरूले ‘भोलि चुनावमा पार्टी पराजित भयो भने हाँसीहाँसी डलरमा जागिर खान विदेशतिरको कन्सल्ट्यान्सीमा जान उनीहरूलाई जति सजिलो हुन्छ राजनीतिक नेताले भने जनउत्तरदायित्वका कारण त्यसो गर्न नसक्ने’ बताएका छन् ।

‘कुनैपनि विज्ञलाई काम लगाउने हो,डाडु पन्युँ बुझाएर नेतृत्व दिने होइन’ भन्ने मान्यतालाई उल्लङ्घन गर्नेमा राजा ज्ञानेन्द्र सबैभन्दा अगाडि देखिएका थिए । उनले आफ्नो मन्तृमण्डलमा अधिकांश ‘विज्ञ’ नियुुक्त गरेकै हुन् । तर, तिनले पनि अहिले खतिवडालेझैँ चाँहिदो काममा सिन्को भाँचेनन् । नचाँहिदो बेपर्वाह गरिरहे ।

ज्ञानेन्द्रले विषय विज्ञको जलप लगाउँदै दीपक ज्ञवालीलाई जलस्रोत,रूप ज्योति,रविभक्त र राजेशकाजी श्रेष्ठ,मधुकर समशेरलाई विभिन्न समयमा अर्थ,याङ्किला शेर्पालाई पर्यटन,देवी ओझालाई शिक्षा,डा.उपेन्द्र देवकोटालाई स्वास्थ्य मन्त्री,रमेशनाथ पाण्डेलाई परराष्ट्र र श्रीष  समशेरलाई सञ्चारमन्त्री बनाए । तर, तिनले पनि आफ्नो फिल्डमा कुनै लछारपाटो लाउन सकेनन् ।

त्यो अवस्था र अहिलेका अर्थमन्त्रीको कामकारबाहीलाई हेर्दा विज्ञ भनेको कतै ‘अनभिज्ञ’ पो हो कि भन्ने शंका प्रमाणित हुँदै गएको छ । आफूले पढेको र जानेको एउटा सोझो विषयले एकोहोरिएकाहरूलाई कुनैपनि राजनीतिक नेतृत्वले सम्हाल्नुपर्ने पदमा यो वा त्यो नाममा लैजानु मुलुक र जनताको लागि दुर्भाग्य ठहरिँदै आएको छ । यी सबै हाम्रा विगतदेखि वर्तमानका अनुभव र यथार्थ हुन् ।

टिप्पणीहरू