बानेश्वरबाट मानवीयता हराएपछि

मीनभवनस्थित निजामती अस्पतालका चिकित्सक तथा नर्सहरूलाई राख्ने गरेको स्थानीय होटलमा अस्ति राजधानी बानेश्वरका केही उच्छृङ्खलहरूले हुल हुज्जत गरेको घटनालाई स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताइएको छ । कोरोना संक्रमण फैलँदै गएपछि अधिकांश अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नजिकैको होटल तथा लजमा राखेर भएपनि सेवा सञ्चालन गर्दै आएको छ ।

मानिसको जीवन मरणसँग जोडिएको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरूलाई निरुत्साहन गर्ने गरी होटल नजिकै बानेश्वरका स्थानीयले अस्ति अमानवीय र आपराधिक ढंगको व्यवहार गरेका थिए । उनीहरूले होटलमा राखिएका चिकित्सक र नर्सहरूलाई तत्काल हटाउन माग गर्दै नाराबाजी र हुलदङ्गा समेत गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले त्यसरी नाराबाजी र हुलदङ्गा गर्नेलाई सीसीटिभी फुटेजको आधारमा तत्काल पक्रेर आवश्यक कारबाहीको लागि गृह मन्त्रालयसमक्ष अनुरोध गरेको बुझिएको छ । आइतबार बसेको स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय बैठकले बानेश्वरमा भएको आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कारबाही गर्न र आगामी दिनमा त्यस्ता गतिबिधिलाई निरुत्साहित गर्न आवश्यक भएको समेत बताएको छ ।

स्वास्थ्य मन्त्रालयले त्यसरी नाराबाजी र हुलदङ्गा गर्नेलाई सीसीटिभी फुटेजको आधारमा तत्काल पक्रेर आवश्यक कारबाहीको लागि गृह मन्त्रालयसमक्ष अनुरोध गरेको बुझिएको छ ।

अस्पतालमा काम गर्ने चिकित्सक र नर्सहरूलाई कोरोना संक्रमणको सम्भावना बढी रहेकोले  आफ्नो क्षेत्रको होटलमा बस्दा आफूहरूलाई समेत सर्नसक्ने भन्दै स्थानीयले अवरोध पुर्याएका हुन् । यसअघि गौशालाका केही होटलमा बसेका चिकित्सक र स्वास्थ्यकर्मीहरू बिरुद्ध पनि त्यसैगरी भीडले नाराबाजी गरेको थियो । हाल बढ्दै गएको कोरोना महामारीको भावी स्वरूपको विश्लेषण गर्न मन्त्रालयले विज्ञहरूसँग छलफल गरिरहेको बताइएको छ ।

कुनैपनि महामारी नियन्त्रणमा चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको जति भूमिका हुन्छ आमनागरिकको पनि त्यो भन्दा कम हुँदैन । प्रकोप र विपत्तीबिरुद्ध लड्न सबैको सामूहिक योगदान र प्रतिबद्धता आवश्यक हुन्छ । तर, अस्ति बानेश्वरको हुलहुज्जतको घटना सभ्य समाज र नागरिकको लागि लाजमर्दो विषय बनेको छ ।

यतिखेर नेपालमा मात्र होइन विश्वका चिकित्सक र स्वास्थ्यकर्मीहरू उच्च जोखिम मोलेरै कोरोना संक्रमितहरूको उपचारमा तल्लिन छन् । हाम्रोजस्तो सीमित स्रोत र साधन भएको मुलुकमा उनीहरूले झन् धेरै जोखिम उठाउनु परेको छ । यस्तो अवस्थामा चिकित्सक, स्वास्थयकर्मी र सुरक्षाकर्मीहरूलाई सुरक्षा सतर्कताका साथ सहयोग गर्नु असल नागरिकको कर्तव्य हुन आउँछ ।

टिप्पणीहरू