कार्यदलको रिपोर्ट र क्याबिनेट हेरफेर

कार्यदलको रिपोर्ट र क्याबिनेट हेरफेर

नेकपाले गठन गरेको छ सदस्यीय कार्यदलको प्रतिवेदनपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ ।

प्रतिवेदन आउन केही दिन लाग्ने भएपछि मन्त्रिपरिषद् पुनर्गठनको काम पर सर्ने भएको हो । आजको सचिवालय बैठकमा कार्यदलले तयार गर्ने प्रतिवेदनका विषयमाथि पनि अनौपचारिक छलफल हुने बुझिएको छ । कार्यदल गठनको समाचार सार्वजनिकलगत्तै देखिएको वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजीको असन्तुष्टि हिजोदेखि मत्थर भएको बालुवाटार र खुमलटार निकटहरूले बताएका छन् ।

हिजो तीनैजनालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै भेटेपछि उक्त खबर बाहिर ल्याइएको हो । प्रचण्डलाई उद्धृत गर्दै स्रोतले बताएको छ ‘उहाँहरूमा मप्रति केही आशंकासहितको विश्वास थियो,भेटपछि आशंका हटेको छ ।’ क्याबिनेट पुनर्गठनबारे दुईजना अध्यक्षबीच भएको छलफलमा दाहालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई आवश्यक प्रस्ताव आफैँ ल्याउन भन्नुभएको छ ।

उहाँले आफ्नो विशेष आग्रह नभएकाले को राख्ने र को हटाउने भन्नेबारेको प्रस्ताव आफैँ ल्याउन प्रधानमन्त्रीलाई स्वतन्त्रतापूर्वक छाडिदिनुभएको पनि बताइएको छ । स्रोतका अनुसार सम्भवतः अधिकांश मन्त्री फेरबदल हुनेछन् ।

टिप्पणीहरू