पुजारीको मिलेमतोमा मूर्ति गायब

पुजारीको मिलेमतोमा मूर्ति गायब

नेपालगन्ज उपमहानगरपालिका– ७ को नालामा भेटिएको आकर्षक शिवको मूर्ति रहस्यमय तरिकाले तीन महिना बित्न नपाउँदै गायब भएको छ । समुदायबीचमा अवस्थित राम जानकी मन्दिरको अति सुरक्षित स्थानमा राखिएको मूर्ति रातारात हराएको हो ।

कोरोना भाइरसका कारण नेपालगन्जमा निषेधाज्ञा जारी भएकै बेला साउन २७ गते सोमबार मन्दिरभित्रबाट मूर्ति चोरी भएपछि आमनागरिक सशंकित भएका छन् । मन्दिरभित्र राम जानकीका अन्य मूर्ति रहेकै स्थानमा राखिएको शिवको मूर्तिसम्म पुग्न तीनवटा गेट खोल्नुपर्ने हुन्छ तर दुईवटा बाहिरी गेट प्रयोग नगरी भित्रको तेस्रो गेटको ताला फोडेर मूर्ति चोरी भएको बताइएपछि चोरीमा मन्दिरकै पुजारीको संलग्नता रहेको आशंका गरिएको छ ।

रातिको समय मूर्ति चोरी भएको भनिए पनि मन्दिरबाहिरका दुईवटा गेट सुरक्षित छन् । गेटबाट प्रवेश नगरी कसरी मूर्ति चोरी भयो र मन्दिरभित्रको घरमा परिवारसहित बसिरहेका पुजारीलाई कसरी थाहा भएन भन्ने बिषयले पुजारी शंकाको घेरामा तानिएका छन् । मंगलबार बिहान मूर्ति चोरी भएको जानकारी प्रहरीलाई भएपछि घटनास्थलमा पुगेको प्रहरीले पुजारी रामजी पाठकसँग आवश्यक सोधपुछ गरेको बताइएको छ । उनलाई प्रहरीले २४ घण्टा नियन्त्रणमा लिई छाडेको छ ।

मूर्ति हराएको विषयमा प्रहरीले मन्दिरका पुजारीसँग सोधपुछबाहेक घटनाका बिषयमा खासै चासो नदेखाएको स्थानीयको भनाइ छ । सबै सीमा नाका शिल भएको अवस्था र जिल्लाभित्र निषेधाज्ञा रहेको अवस्थामा प्रहरीले सक्रियता देखाएमा हराएको मूर्ति तत्काल भेटिने आशा स्थानीयबासीको छ ।

घटनाका विषयमा पुजारी पाठक चोरी रहस्यमय भएको बताउँछन् । राति ११ बजे मन्दिरका सबै ढोका बन्द गरेर सुतेको र बिहान साढे चार बजे ढोका खोल्दा मूर्ति नभेटिएपछि प्रहरी र समुदायलाई खबर गरेको उनले बताए । उनले भने, ‘मूर्ति मात्रै चोरी भयो, मूर्तिमा रहेका माला र कपडा मन्दिरमै छन् ।’ मूर्ति राखिएको स्थानको ताला फोडेको र छतमाथिको ढोका खुला भेटिएकाले सोही स्थानबाट चोरी भएको हुनसक्ने आशंका पुजारी पाठककोे छ ।

उनले घटनाले आफू र आफ्नो परिवालाई समेत असुरक्षित बनाएको भन्दै सत्यतथ्य छानबिन गरी दोषी पत्ता लगाउन प्रहरीले सक्रियता बढाउनुपर्ने माग गरेका छन् । स्मरण होस्, केही महिनाअघि भेटिएको मूर्ति दर्शनका लागि आउने दर्शनार्थीहरुलाई फलामको गेट बाहिरबाटै दर्शन गर्न लगाइन्थ्यो, दर्शन गर्दा चढाएको हजारौं भेटीको लेखाजोखा समेत नभएको स्थानीयको आरोप छ ।

यस विषयमा नेपालगन्ज– ७ का अध्यक्ष जुमन खाँले मन्दिरभित्रैबाट मूर्ति चोरी हुनु र मन्दिरभित्र बस्ने पुजारीलाई थाहा नहुनु अपत्यारिलो खबर भएको प्रतिक्रिया दिएका छन् । नेपालगन्जमा निषेधाज्ञाका बीच चोरिएको मूर्तिको खोजबिनमा प्रहरी प्रशासनले सक्रियता नदेखाएको उनको भनाइ छ ।

उता मूर्ती चोरीको घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

– नमस्कार शाह

टिप्पणीहरू