एलिसलाई चाहिँ कानून लाग्दैन ?

एलिसलाई चाहिँ कानून लाग्दैन ?

नेकपाका एकथरी नेताहरूले हिजो साँझ आठ बजेसम्म त्यहाँ बसेर खानपिन र छलफल गरेका थिए ।

प्रहरी प्रधान कार्यालय र प्रहरी महानिरीक्षकको सरकारी निवास नक्सालस्थित एउटै कम्पाउण्डमा छ । निवास प्रहरी प्रधान कार्यालयसँगैको पेट्रोल पम्पभन्दा केही पश्चिमपट्टि छ । त्यहि निवास अगाडिबाट मुश्किलले दुई सय मीटर उत्तरतर्फको गैह्रिधारा चोक हुँदै सभामुखको निवासतर्फ जाने सडकमा एउटा भव्य रेष्टुरेण्ट ‘एलिस’ छ । रेष्टुरेण्टसँगैको आलिसान पार्टी प्यालेसचाँहि ‘एलिस रिसेप्सन’ हो । दरबारमार्गमा पनि त्यहि नामको रेष्टुरेण्ट छ । सर्वत्र कोरोना र लकडाउनले व्यवसाय ठप्प भएपनि एलिसमा पछिल्लो महिनादेखि खचाखच ग्राहकको भीड लाग्यो । उसका ग्राहक पनि साधारण होइनन् । गाडीमा झण्डा हल्लाउने मन्त्री,मुख्यमन्त्री,उच्च तहका नेता र सांसदहरूको भीडले साउन महिनाभरि एलिसको व्यापार घटेन बरु बढ्यो ।

प्रहरीले यसबीच शहर बजार सबैतिर माइकिङ्ग गर्दै र सूचना टाँस्दै जमघट र भीड नगर्न सचेत गराउँदै आएको छ । रेष्टुरेण्टमा खाना अर्डर गरेर लैजान मात्र पाइने, बसेर खानपिनमा रोक लगाएको छ । यसपटक गाउँ ठाउँमा पनि प्रहरी र प्रशासनको उक्त आदेशलाई सर्वसाधारणले राम्रैसँग पालना गरेका छन् । तर,प्रहरी प्रधान कार्यालय र आईजीपीको निवासबाट केही मीटर टाढाको महँगो रेष्टुरेण्ट चौबिसै घण्टा खोलेर लकडाउन र संक्रमणलाई चुनौती दिँदा न प्रहरीले चाल पायो न प्रशासनले नै । थाहा पाएर पनि उनीहरूले नदेखे झैँ गरेको आँकलन गरिएको छ ।

जापान बसेर आएका नकुल शेरचनले खोलेको एलिस रेष्टुरेण्टमा हिजो पनि पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका पचासौं ग्राहकको उपस्थिति देखिन्थ्यो । रेष्टुरेण्टको पार्किंङ्गमा ठाउँ नपुगेर बाहिरको गैह्रिधारा सडकमा समेत खचाखच गाडी थिए । प्रहरीसँग सेट मिलाएर राजनीतिक सम्वादको लागि लकडाउनमा पनि रेष्टुरेण्ट खोलिएको बताइएको छ । पोखरेललगायत नेकपाका एकथरी नेताहरूले हिजो साँझ आठ बजेसम्म त्यहाँ बसेर खानपिन र छलफल गरेका थिए ।

प्रहरी मुख्यालयको नाकैमा भएको खुलमखुल्ला रेष्टुरेण्ट सेवालाई लकडाउन र महामारीमा पनि सबैले आँखा चिम्लिँदा महामारी संक्रमणको जोखिम घट्यो कि बढ्यो होला ?

पहिले झैँ खुलमखुल्ला ढोका खोलेर हिजो ग्राहकलाई ‘गुड फ्राइडे’ को व्यवस्था मिलाएको अनौपचारिक जानकारी प्रहरी मुख्यालयमा पुगेपनि प्रहरी महानिरीक्षकले ‘म बुझ्छु’ मात्र भनेको बताइन्छ । अस्तिदेखि प्रहरीले नयाँ बानेश्वर,शंखमुललगायत क्षेत्रका सामान्य घुम्तिका चिया पसलमा समेत बसेर चिया खान दिएको थिएन । हातमुख जोर्न धौ धौ परेर नास्ता पसल खोलेका घुम्तिमा लाठी बजार्दै बन्द गराउने प्रहरी प्रशासन गैह्रिधारामा दुईवटा र दरबारमार्गमा एउटा आउटलेट खोलेका एलिसका करोडपति व्यवसायीको क्रियाकलापप्रति मौन बस्नुको कारण खुलेको छैन । प्रहरी मुख्यालयको नाकैमा भएको खुलमखुल्ला रेष्टुरेण्ट सेवालाई लकडाउन र महामारीमा पनि सबैले आँखा चिम्लिँदा महामारी संक्रमणको जोखिम घट्यो कि बढ्यो होला ?

टिप्पणीहरू