आउनुहोस्, कम्युनिष्ट पार्टी भंग गरौं « janaaasthanews
४ आश्विन २०७७, आइतबार

आउनुहोस्, कम्युनिष्ट पार्टी भंग गरौं



मुकुन्द न्यौपाने, नेकपाका नेता

पूर्वएमालेका नेतामध्ये मुकुन्द न्यौपाने निरन्तर मूलधारमा काम गरिरहेका नेता हुन् । तर, अहिले ओझेलमा छन् । भोजपुरको मान्छे, तर भूमिगतकालदेखि नै बारा जिल्लालाई आधार क्षेत्र बनाएर काम गरे । झापा आन्दोलनबाट खारिएका र ०४६ को परिवर्तनपछि मजदुर फाँटमा काम गरेका उनी अहिलेको जिफन्ट निर्माणका मुख्य व्यक्ति हुन् । केपी ओली अध्यक्ष निर्वाचित भएको नवौँ महाधिवेशनमा उनी ओली पक्षमा थिए तर अहिले संस्थापनबाटै अपहेलित छन् ।

० पार्टी फुट्ला कि नफुट्ला ?

– व्यक्तिको इच्छाले संसार चल्दैन । समूह, जनताको इच्छा र समाजको आवश्यकताले पार्टी चल्ने हो । एक्लो व्यक्तिले गर्न सक्ने भए न समूहमा जान्थ्यो, न त जनतालाई गन्थ्यो । महत्वाकांक्षा र अहंकार बोकेर हिँड्छ र सबै मैँ गर्छु भन्दा राजाहरु रैती भएका छन् । इतिहास साक्षी छ, त्यस्तो महŒवाकांक्षा बोक्नेलाई समयले आफैं किनारा लगाइदिएको छ । नेपालकै इतिहासमा ज्ञानेन्द्रले चाहेर पनि उनको शासन टिकेन । त्योभन्दा अघिका १० वर्षमा ज–जसले चाहे, तिनीहरुले पनि आफूलाई टिकाउन सकेनन् । समय सबैभन्दा बलियो न्यायाधीश हो । समयसँग खेलवाड गर्नुहुँदैन । समयको भाषालाई बुझेर समयसँगै हिँड्नुपर्छ ।

० प्रधानमन्त्रीले मन लागे तिमीहरु छाड, म केही पनि छाड्दिन भन्नुभएकोलाई कसरी लिनुहुन्छ ?

– हरेक महाधिवेशनमा एक व्यक्ति, एक पदको मुद्दा उठाउँदै आइरहेको छु । एउटाले पार्टी चलाउने, अर्कोले सरकार चलाउने । त्यसरी जाँदा पार्टी पनि माथि उठ्छ । एक व्यक्ति एक पदमा मिलेर जाऔं, बाडेर खाऔं । लडाईं त खानकै निम्ति हो नि † झगडा गर्छौ भने गाँस खोसिन्छ । नेपालको राजनीतिक दलका नेतृत्वमा मैले देखेको समस्याचाहिँ, उहिले हाम्रा बाबुबाजेले भन्थे, ‘एक ठक्कर खाए सात बुद्धि आउँछ †’ तर, हाम्रा नेता, नेतामा सात ठक्कर खाँदा पनि एक बुद्धि आएको नदेख्दा उदेक लाग्छ । भारतमा अमित साह पार्टी अध्यक्ष, मोदी प्रधानमन्त्री छन् । हिजो राजनाथ सिंह अध्यक्ष र मोदी प्रधानमन्त्री थिए । आज मोद िमातहत अमित र राजनाथ मन्त्रीमा रमाएर बसेकै छन् । हिजो राजनाथ सिंह अध्यक्ष र मोदी प्रधानमन्त्री थिए । आज पाँच वर्षमै तीन करोड पार्टी सदस्य बढाएर १२ करोड पार्टी सदस्य पु¥यायो । परिणाम चुनावमा देखिहालियो । आज हामी जनतामा पार्टी स्थापित नगरेर, लकिर र फकिर भनेझैं एउटै गल्लीमा घुमिरहेका छौं । गणतन्त्र आएको १४ वर्ष व्यतित भइसक्दा पनि हाम्रो हालत उस्तै छ ।

पार्टीको स्थायी कमिटी बैठकमा आएर स्पष्टसँग कुरा राख्नुपर्ने हो । जो मानिसमा तर्कको बानी छ, उसले बहस गर्दैन । तर्कले तथ्य माग गर्दछ । तर, हाम्रो स्वभाव–शैली कस्तो भयो भने, अरुको तर्क नसुन्ने, तथ्य नखोज्ने, सत्यको बाटो पनि नसमाउने । अनि, ‘मैँ हुँ’ भन्ने दम्भ पाली राख्ने । उहाँका सल्लाहकारबाट राम्रो सल्लाह लिनुहुन्न, कि त सल्लाहकारले निच मारेर राम्रो सल्लाह दिँदैनन् । उहाँले पार्टीका बैठकमा पूरै समय बसेर सबैको कुरा सुन्नुपर्छ र त्यस आधारमा चल्नुपर्छ ।

० यो विवादको समाधान के देख्नुहुन्छ ?

– प्रधानमन्त्रीको राजीनामा मागिएकै छैन । एक व्यक्ति, एक पदअनुसार प्रधानमन्त्री उहाँलाई चलाउन दिने र पार्टी अध्यक्ष प्रचण्डले चलाउने भनिएको हो । मंसिरमा उहाँहरुबीच जे सहमति भएको (हामीसँग सल्लाह भएको पनि होइन, हामीलाई देखाइएको पनि छैन) थियो, त्यहीअनुसार प्रचण्डले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक चलाउनु भयो । तर बीचैमा यसरी बनिसकेको लिकबाट पछाडि फर्काउने र ओराल्ने काम शुरु भयो ? सहमति किन लागु हुँदैन ? स्थायी कमिटीमा यसको छलफल हुनुपर्छ । स्थायी कमिटी नै फेस नगरेपछि पार्टी कसरी चल्छ ?

० अध्यादेशबाट नयाँ व्यवस्था गरेर प्रधानमन्त्रीले दल विभाजन गर्नुभयो भने उहाँको र नेकपाको अवस्था के हुन्छ ?

– उहाँले अर्काे अध्यादेश ल्याएर दल विभाजन गर्नुहुन्छ भन्ने मलाई विश्वासै छैन । त्यस्तो सल्लाह उहाँलाई कसैले दिन्छ भने नेपाली इतिहासमा पटमूर्ख सावित हुन्छ ।

० यहाँलाई प्रधानमन्त्रीले बालुवाटार बोलाएर अपमान गरेको चर्चा छ । के हो वास्तविकता ?

– पहिलाको कुरा छाडिदिनोस्, पछिल्लोचोटि म गएँ, आफ्नो कुरा राखेँ । राजनीतिक उपाय, पार्टीभित्रका समस्याहरुको समाधानका सुझावहरु दिएँ । पार्टीभित्रको एकता, जनतासँगको घनिष्ठता, छिमेकीहरुसँगको सम्बन्ध, अन्य पार्टीसँगको सम्बन्धलाई कसरी सुमधुर बनाउने भन्ने सल्लाह दिएँ । तर उहाँको आफ्नै ताल थियो ।

० झापा आन्दोलनको लिगेसी के ओलीसँग छ ?

– उहाँ ०३० सालमा पक्राउ परेको ६ वर्षपछि झापा संघर्षको उग्रपन्थी लाइन सच्याउने काम भयो । १४ बर्ष जेल बसेर छुटेपछि ०४४ सालदेखि मसँग काम गर्नुभएको हो । त्यतिखेरको अनुभव नै कति हुन्छ र ? व्यक्ति हत्याका कारण पार्टीको बद्नामी भयो । जनाधार पनि पाएन । ०४३ सालमा जनतामा गयौं । लेनिनले भन्थे, ‘जहाँ जनता छन्, त्यहीँ पाइला राख ।’

० त्यस आन्दोलनका मान्छे नारद वाग्लेबाहेक अरु को–को ओलीसँग छन् ?

– मैले त्यस्ता मान्छे भेटेको, कुरा गरेको पनि छैन । व्यक्तिगत कुरा खोजेर केही हुँदैन । सैद्धान्तिक कुरामा मेरा आफ्ना भनाइ छन् । कम्युनिष्ट पार्टी नाम राखिन्छ भने त्यसकै विधिमा जाऔँ । व्यक्ति कमिटी मातहत हुन्छ र कमिटीका निर्णय उसले पालना गर्नुपर्छ । अल्पमत बहुमतको मातहत हुन्छ । तल्लो तह माथिल्लो तह मातहत हुन्छ । सबै सदस्य केन्द्रीय कमिटी मातहत हुन्छन् । यो मान्दिनँ भन्ने हो भने कम्युनिष्ट पार्टी भंग गरौं र अर्काे नामको पार्टी बनाऔं । त्यो हिम्मत गरेर आउनुप¥यो । होइन भने यो विधि–पद्धति मान्नुप-यो ।

० यसरी चल्छ त पार्टी ?

– कुनै पनि वस्तु कि गति लिएर समयसँगै गतिशील हुनुपर्छ, नत्र सकिन्छ । यत्रो कार्यकर्ता पंक्तिले बोकेर आएको पार्टीलाई चार जना मान्छेले बन्दी बनाएर राख्न सकिँदैन । अहंकारबाट मुक्त हुनुप¥यो । माओत्सेतुङले भनेझैं नम्रताले अघि बढाउँछ, घमण्डले पछि धकेल्छ । अघि बढ्नु छ भने नम्र भएर आउनुपर्छ । पछाडि धकेलिनु छ भने अहंकार बोकेर गए हुन्छ ।

० तपाईंले अकस्मात किन ओलीको साथ छाड्नुभएको ?

– म एक व्यक्ति, एक पदमा उभिने मान्छे । पार्टी फुटको संघारमा पुग्दा पटक पटक जोगाएको छु । वामदेवलाई एमालेमा फर्काउनका लागि ८ पेज लामो लेखेरै दिएको थिएँ । केही साथीले टुँडिखेलबाट भ्रष्टाचारी घोषणा गर्नुभयो । त्यही कारण यता फर्कने ठूलो पंक्ति माओवादीतिर गयो । हिजो वामदेवलाई ल्याउनै हुँदैन भन्ने साथीहरु अहिले पनि पार्टीभित्र ठाउँमै हुनुुहुन्छ । सातौं महाअधिवेशनमा फुटको संघारमा पुग्यो, वामदेवजी अमेरिका पुग्नुभएको थियो । माधव नेपाल र केपी ओलीबीच सातवटा बैठक राख्दा बल्ल सहमति भयो । त्यो सहमतिमा वामदेव बहुत रिसाउनुभयो, केपी कमरेडसँग । आठौं महाअधिवेशनमा माधवलाई अध्यक्ष, केपी वरिष्ठ उपाध्यक्ष, झलनाथ महासचिव हुनुहोस् भनेर बहुमत स्थायी समितिका सदस्य सहमत भएर हामी बल्खु गएका थियौं । त्यहाँ पुगेपछि सबैले खुट्टा छाडे । साथीहरु लाखापाखा लागे । त्यहाँ माधव उठ्नुभएन । केपीले झलनाथसँग हार्नुभयो । नवौं महाधिवेशनमा माधव र केपीलाई एक–एक पद भनेको हो मैले । तर, माधव मान्नुभएन । माधवलाई मैले पनि साथ दिन्नँ भनेँ । अनि, केपीको समर्थनमा लागेँ । पछि केपीसँग सम्बन्ध बिग्रिएको पनि होइन । उहाँ दोस्रोपटक सरकारको नेतृत्व गर्न आउनुभयो । त्यहाँ पनि पुरानै रमझम देखिन थालेपछि मैले भनेको थिएँ, ‘सर्वमान्य नेताको रुपमा अघि जानुस् ।’ हेर्नुस् त, काम गर्ने कुमालको एउटा मूर्ति छैन तर चाकरी र चाप्लुसी गर्ने यामानको भुँडीवाला गणेश कति पूजिन्छन् † चाप्लुसीवाजहरु जताततै पूज्य छन्, कर्मवीर र कर्मशीलहरु बहिष्कृत छन् ।

० प्रचण्डले तपाईंहरुको साथ छाडेर ओलीसँग पदीय सम्झौता गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

– मलाई यस्तो कुरामा मतलबै छैन । मैले मन्त्री खान्नँ नै भनिसकेको छु । सुशील कोइरालाको मन्त्रिमण्डलमा जा’ भनेका थिए । हल्कारा मन्त्री हुने रहर छैन । दुई पटकसम्म नयाँलाई स्थान दिऊँ भनेर संसदमा पनि नगएको हो । तर, मान्छेलाई एउटा झण्डा हल्लाउँदा आनन्द आउने । युरोपको राष्ट्रपति हाफप्यान्ट लगाएर हिँडेको छ । डेनमार्कको प्रधानमन्त्री रिटायर्ड हुँदा झोला पछाडि बोकेर हिँडेका छन् । त्यसो गर्न सक्छन् यहाँका नेताले ? जनताभन्दा कति माथि राखेका छन् आफूलाई हाम्रा नेताहरुले ? हामीकहाँ त भारतका महन्थहरुको संस्कार हावी भयो । पण्डितहरुले के बनाए भने उनीहरु बेआसनमा बस्छन्, स्रोता आसनमा । यहाँ पनि त्यही आसन र बेआसनको परिभाषा ल्याए । एकातिर समानताको चर्काे कुरा गर्ने, अनि सानो र ठूलो आसनमै अल्झने ।

० वामदेवको सदाबहार भूमिकाबारे के भन्नुहुन्छ ?

– उहाँको पहिलो बुँदा छ, सम्पूर्ण कार्यकारी अधिकारसहित प्रचण्डले पार्टी चलाउने, प्रधानमन्त्रीले सरकार चलाउने । तर यो प्रस्ताव स्थायी समितिमा ल्याउन चाहनुुहुन्न । सचिवालयबाटै टुंग्याऊँ भन्नुहुन्छ । सचिवालयबाट के गरेर टुंग्याउनुहुन्छ ? टुंगिएन भने के गर्नुहुन्छ ? स्थायी समितिलाई बाइपास गर्ने कुरा किन गर्नुहुन्छ ? प्रधानमन्त्री स्थायी समितिलाई किन मान्नुहुन्न ? यस्ता कुराको उपयुक्त उत्तर आउनुप¥यो ।

० तीन वटा बजेट ल्याइसकेको नेकपा सरकारको अहिलेको जनाधार खुस्कियो कि, उक्लियो कि उस्तै छ ?

– कोरोनाको महामारीमा छौं हामी । तर कहाँबाट हिँड्न शुरु गर्ने भनेर पहिलो पाइला चाल्दै ख्याल गर्नुपर्दछ । हामी समाजवादतिर जाने हो भने संविधानमा लेखेका छौं । दलाल पूँजीवाद नियन्त्रण, कालो धनको नियन्त्रण, राष्ट्रिय पुँजीवादको लागि मध्यमवर्गीय पँुजीपति र राष्ट्रिय पुँजीपति वर्गको उत्थान– यी चार कुरा नभई समाजवादको यात्रा कल्पना गर्न पनि सकिँदैन । मुलुकलाई आत्मनिर्भर बनाउने हो भने कृषिमा आत्मनिर्भर हुनुप¥यो । ४० अर्बको चामल, २५ अर्बको फलफूल–तरकारी, २५ हजार मान्छे उतै भारतबाट आउँछन् । फलफूल, तरकारी बेच्न, १७ अर्बको खाने तेल, १८ अर्बको माछा मासु, पेय पदार्थ १० अर्ब हाराहारीको विदेशबाट आउँछ । नेपालको काम गर्नसक्ने जनशक्ति विदेशमा, पहाडका बारी सबै बाँझा । अनि हामी नारा जप्छौं, समाजवादको ।

० ओलीले अहिले किन भारतविरुद्ध धार्मिक युद्ध छेड्नुभएको होला ?

– महाभारत भनेको दुई जमिन्दारबीच उत्पन्न द्वन्द्वको सत्य घटनामा आधारित कथा हो । महाकाव्य लेख्नेले बृहत बनाए, त्यहाँ कविले ज्ञान, विज्ञान, मानवता, दर्शनका कुरा घुसाए । त्यो उनको खुबी हो । रामायण दन्त्यकथामा आधारित हो । रत्नाकार डाँकु वाल्मीकि ऋषि भए, रामायण लेखे । भारतमै २५ भन्दा बढी भाषामा रामायण लेखिएको छ । बाल्मीकिको रामायणमा सीता त्यागेको कुरै छैन । उनले कल्पनामा लेख्दा बाँदर फौज बनाए । समुन्द्रमा पुल हाले, लंका जानलाई । बाँदरले स्काभेटर चलाएर पुल हाल्या हो समुन्द्रमा ? कसैले प्रमाण दिनसक्छ ? काल्पनिक कथाका राम भारतका हुन् कि नेपालका ? अहिले हामी यस्ता कुरामा विवाद गरेर बस्ने ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नियुक्ति पाउन समर्थन गर्नैपर्ने नियम : लेखेरै डेपुटी गभर्नरको लाइन
सेनाभित्र दिनकै सय
क्याबिनेटमा प्रधानमन्त्रीद्वारा मन्त्रीमाथि कटाक्ष
कुन कुन क्षेत्रमा अझै कोरोनाको सकस ?