व्यक्ति व्यक्तिलाई कसरी नजिक बनाइँदै ?

व्यक्ति व्यक्तिलाई कसरी नजिक बनाइँदै ?

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर शंकर पोखरेल, जनार्दन शर्मा र विष्णु पौडेलले एकैसाथ पटकपटक अर्का अध्यक्ष प्रचण्डलाई भेटे पनि समस्या सल्टिने संकेत देखिएको छैन । दुईमध्ये एक पद छाड्नुपर्ने प्रचण्डको माग पूरा नहुने सन्देश पठाएका प्रधानमन्त्रीलाई प्रचण्डले त्यसोभए वार्ता र छलफलको नाटक किन गरिरहनु भनेर जवाफ दिनु भएको स्रोतको दाबी छ ।

साथै दाहालले ‘छलफल नै गर्ने हो भने अबदेखि एक्लाएक्लै नबसौं,समूहमा बसौं र छलफल भनेर विना निश्कर्षको घण्टौं बस्ने काम पनि नगरौं’ भनेर टोलीलाई फिर्ता पठाउनु भएपछिका छलफलहरुमा झलनाथ खनाल र सुवास नेम्वाङ्गको समेत उपस्थिति रहेको देखिएको छ ।

प्रधानमन्त्रीले आफ्ना विश्वासपात्र पीताम्बर तिमिल्सिनाको सट्टा शिव कोइराला ‘ज्वाला’ लाई खेलकुद परिषद्को उपाध्यक्षमा गर्नुभएको नियुक्तिलाई पनि नेकपाभित्र अर्थपूर्ण ढङ्गले व्याख्या गरिएको छ । स्रोतका अनुसार पहिले वाईसिएलको काठमाडौं जिल्ला अध्यक्ष रहेका ज्वालालाई टोपबहादुर रायमाझीको सिफारिशमा प्रधानमन्त्रीले नियुक्त गर्नुभएको हो । त्यतिखेर रायमाझी खेलकूदको संयोजक र ज्वाला उपसंयोजक थिए । उनी मागी, प्रेम र प्रगतिशील गरेर एउटै व्यक्तिसँग तीन पटक विवाह गर्ने कमरेडसमेत हुन् । लीला नामक एकजना पूर्व माओवादीले सदस्य सचिवमा आवेदन गरेका थिए । तर,रायमाझीले सदस्य सचिवमा प्रधानमन्त्रीको उम्मेदवार रमेश सिलवालसँग उपाध्यक्षको आफ्ना उम्मेदवार साटेको बताइन्छ ।

नेकपाको वर्तमान केन्द्रीय समितिमा बादलनिकट सदस्यहरूको संख्या झण्डै तीन दर्जनको हाराहारीमा रहेको बताइन्छ । त्यसमध्ये लेखनाथ न्यौपाने दुबैतिर मिल्न नहुने र अलग पहिचान बनाएर अघि बढ्नुपर्नेमा दृढ देखिन्छन् । सूर्य सुवेदी पथिक र उनकी श्रीमती ज्ञानु बस्नेत, महेश्वर दाहाल र कुलप्रसाद केसी सोनाम प्रधानमन्त्रीतर्फ ढल्कनुपर्ने अडानमा छन् । बस्नेत बनमन्त्री शक्ति बस्नेतकी बहिनी भएकीले सूर्य र शक्ति नातामा ज्वाईं जेठान हुन् । अरु २९ भाइ एकातिर र बादल स्वयम्चाँहि वीचमा रहेको बताइन्छ ।

आफू अनुकूलको समीकरण हुनेबित्तिक्कै जुनसुकै कमिटीको बैठक राखेर एकतर्फी निर्णय गराउने तर अल्पमतमा परेको बखत बैठक टार्ने प्रवृत्ति प्रधानमन्त्रीको विशेषता नै हो ।

टोपबहादुर रायमाझीको पछिल्लो चाहना मन्त्री पदमा अडेको उनी निकटहरूले बताएका छन् । रायमाझीलाई मन्त्री दिने हो भने स्वतः गृहमन्त्री थापालाई हटाउनुपर्ने देखिन्छ । रायमाझी यसअघि नै उपप्रधानमन्त्री बनेकाले मर्यादाक्रममा थापाभन्दा माथि राख्नुपर्ने हुन्छ । उता हरिबोल गजुरेल एकपटक मात्र त्यो पनि कृषि मन्त्री बनेको हो ।त्यस्तो अवस्थामा वरिष्ठताको हिसाबले उनलाई पनि मर्यादाक्रममा माथि नै राखेर मन्त्री दिनुपर्ने हुन्छ ।

बालुवाटारतिर लहसिएको भन्ने खुमलटारको आरोपमा गजुरेलले प्रचण्डसँग आफूहरूले सोझै भेट गर्न नपाउने र वरिष्ठ हुँदाहुँदै पनि अवसर प्राप्त हुँदा अरुलाई च्याप्ने गरेको बताएका छन् । उता,प्युठानका मणि थापाकी श्रीमतीलाई प्रधानमन्त्रीले मासिक डेढ लाख प्राप्त हुनेगरी विपद् व्यवस्थापनसँग सम्बन्धित निकायमा व्यवस्थापन गरिदिनुभएको छ । घर बनाउने क्रममा थापालाई पैसाको हाहाकार र आच्छु आच्छु हुँदापनि राम्रै जोहो भएको गाइँगुइँ छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापा समेत प्युठानकै हुन् ।

उता संसदीय दलमा खुमलटार नजिकका नेताहरू आजका मितिसम्म ५१ जना सांसद सुरक्षित राखेर ढुक्कसँग बसेका छन् । माधव नेपालसँग निकट सांसदहरू पनि डेग नचलेको बताइन्छ । तर, संसदीय दलमा बहुमतले प्रधानमन्त्रीको बिरुद्ध निर्णय गरेपनि पार्टी फुटाउने बालुवाटारको धम्कीले खुमलटार ‘पर्ख र हेर’ को रणनीतिमा बसेको स्रोतको दाबी छ । संसदीय दलमा आवश्यक निर्णय गरेर प्रधानमन्त्री हटाएपनि नयाँ प्रधानमन्त्री बन्न नदिने तानाबानामा बालुवाटारलाई कसैले रोक्न नसक्ने निश्कर्षसमेत निकालिएको छ ।

संसदीय दल,स्थायी समिति र केन्द्रीय समितिमा खुमलटारको बहुमत देखेपछि प्रधानमन्त्रीले सहमतिमा मात्र ती कमिटीको बैठक बोलाउनुपर्ने अडान राख्दै आउनुभएको छ । आफू अनुकूलको समीकरण हुनेबित्तिक्कै जुनसुकै कमिटीको बैठक राखेर एकतर्फी निर्णय गराउने तर अल्पमतमा परेको बखत बैठक टार्ने प्रवृत्ति प्रधानमन्त्रीको विशेषता नै हो । उक्त प्रवृत्तिलाई ठीक पार्न पनि विधानबमोजिम केन्द्रीय समितिको बैठक आव्हान गरेर आवश्यक निर्णय गर्नुपर्ने निश्कर्षमा खुमलटार निकट कमरेडहरू पुगेको बताइन्छ ।

टिप्पणीहरू