रुकुममा झरीबीच रमिता

रुकुम पूर्व । विशेषगरी आर्थिक वर्षको अन्त्यतिर हुने विकास निर्माणमा गुणस्तरीयताको प्रश्न उठिरहेका हुन्छन् । झन् त्यसैमा असारे झरीले गर्दा प्रश्न उठाउन सहज हुने गरेको छ । १७ सय ७६ किमि लामो पुष्पलाल तथा मध्यपहाडी लोकमार्गभित्रको ५५ किमि भाग रुकुम पूर्वमा पर्छ । त्यही सडकखण्ड अहिलेको असारे झरीबीच कालोपत्रे भइरहेको छ । सर्वसाधारण उक्त कालोपत्रे गुणस्तरहीन हुने शंकामा छन् ।

मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्डमा चार खण्ड विभाजन गरेर काम भइरहेको छ । विभाजन गरिएकामध्ये एक खण्डमा कालोपत्रे भइसकेको छ भने एक खण्डमा काम जारी छ । थप दुई खण्डमा कालोपत्रेका लागि तयारी भइरहेको छ । असारमा गरिएको कालोपत्रे चाँडै उप्कन सक्ने जानकारहरूले बताएका छन् ।

भूमे गाउँपालिका–१ लुकुमको तुपुबाङखोलादेखि बाग्लुङ सिमाना पालिहाल्नेमा १३ किमि खण्डमा कालोपत्रेका लागि तयारी भइरहेको छ भने तुपुबाङखोला देखि भूमे–३ किमोबोटसम्म १६ किमि खण्डमा कालोपत्रे गरी आवश्यक रङरोगन तथा ट्राफिक संकेत राख्ने काम भइरहेको छ । किमोबोटदेखि सिस्ने गाउँपालिका–६ छिप्रिदह १६ किमि खण्डमा कालोपत्रेको काम जारी छ । छिप्रिदहदेखि रुकुम पश्चिमको सिमाना घोरखानी खण्ड १० किमि रहेकोमा हाल सडक चौडा, ग्रावेललगायत काम भइरहेको जनाइएको छ ।

तुपुबाङखोलादेखि बाग्लुङ सिमाना खण्डमा सिद्धिसाई कन्स्ट्रक्सन कम्पनीले फागुनसम्म कालोपत्रे सक्ने गरी पर्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयसँग सम्झौता गरेको छ । त्यसैगरी किमोबोट–रुकुमकोटमा असोज र रुकुमकोट–रुकुम पश्चिम सिमाना गोर्खानी खण्डमा मंसिरसम्म कालोपत्रे सक्ने ठेक्का कालिका प्यासिफिक जेभी कम्पनीले पाएको छ ।

किमोबोट–लुकम तुपुबाङखोला खण्डको १६ किमिमा वसन्त एण्ड चन्द्र कन्स्ट्रक्सन कम्पानीले कालोपत्रे गरी हाल रङरोगन गर्ने र ट्राफिक संकेत राख्ने काम भइरहेको छ । मध्यपहाडी लोकमार्गको रुकुम पूर्वको ५५ किमि लामो रहेकोमा हाल करिब २२ किमि कालोपत्रे भएको छ भने बाँकी ३३ किमिमा कालोपत्रेका लागि तयारी भइरहेको बताइएको छ ।

टिप्पणीहरू