एमालेमा पस्नासाथ हत्याको कारण खोज्न थाले किरणले

एमालेमा पस्नासाथ हत्याको कारण खोज्न थाले किरणले

नेकपा एमालेका युवा नेता रविकिरण हमालले पार्टीको तर्फबाट तत्कालीन संविधानसभा सदस्य उम्मेदवार ऋषिप्रसाद शर्माको हत्याको राजनीतिक कारण र संलग्नतासमेत छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।

तत्कालीन संविधानसभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका ऋषिको २०६४ चैत्र २६ गते लोदे भन्ने ठाउँमा हत्या भएको थियो । घटनाको डेढ दशक बितिसक्दा पनि वास्तविकता बाहिर आउन सकेको छैन ।

उक्त घटना शर्माका कार्यकर्ता, शुभचिन्तकको मानसपटलमा ताजै देखिन्छ । ‘देखावटी रुपमा उठाइएका कारबाहीका मुद्दा र मागहरु ओझेलमा परे पनि वास्तविक आवाजहरु अझै मत्थर भएका छैनन्,’ उनीहरुले भने ।

केही हप्ताअघि एमाले प्रवेश गरेका रविकिरण हमालले मंसिर ४ गतेको निर्वाचनमा ऋषि हत्याकाण्ड प्रमुख एजेन्डा बन्नुपर्ने माग राखेका छन् । उनले प्रेस वक्तव्य जारी गर्दै भनेका छन् ‘यसपालि हाम्रा प्रिय नेता शहीद कमरेड ऋषिप्रसाद शर्माको हत्या किन गरियो ? योजनाकार को थिए ? र,हत्या पछाडिको राजनैतिक लाभ के थियो ? भन्ने कुरा प्रमुख एजेन्डा बन्नुपर्छ ।’

ऋषि हत्याकाण्डमा नेपाली काँग्रेसका स्थानीय नेताहरुको हात हुनसक्ने आशंका गरिँदै आएको सन्दर्भमा हमालले वक्तव्य जारी गरेका हुन् ।

टिप्पणीहरू