राप्रपा र जसपासङ्ग आजदेखि एमालेको सहयात्रा शुरु

राप्रपा र जसपासङ्ग आजदेखि एमालेको सहयात्रा शुरु

सत्तारुढ गठबन्धनविरुद्ध एक्लै प्रतिष्पर्धा गर्ने पूर्वघोषणा विपरित नेकपा एमालेले राष्ट्रिय राजनीतिमा दुई विपरित खेमाका शक्तिसंग चुनावी मोर्चा कस्ने भएको छ । उम्मेदवारी मनोनयन दर्ताका लागि २ दिन बाँकी रहँदा एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरु सत्तारुढ जसपा र पूर्वपञ्चहरुको पार्टी राप्रपासँग बेग्लाबेग्लै वार्ता र संवादमा जुटेका छन् ।

पाँचदलीय गठबन्धनमा आवद्ध जसपाका अध्यक्ष उपेन्द्र यादवको टोलीसँग ओलीसहितका नेताहरुले हिजो राती अबेरसम्म गरेको वार्ता ‘निर्णायक अवस्था’मा पुगेको र आजै सम्झौतामा हस्ताक्षर गर्ने तयारी भैरहेको दुवै पार्टीसंवद्ध स्रोतले बताएका छन् । सत्ता गठबन्धनमा मागेअनुसार सीट नपाएपछि भड्किएको जसपालाई एमालेले आकर्षक प्रस्ताव गरेको छ । बताइएअनुसार प्रतिनिधिसभातर्फ २५ र त्यही अनुपातमा प्रदेशमा जसपालाई सीट छोड्न एमाले तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

जसपासँग घनिभूत संवादमा रहेको एमालेले आज अपरान्ह १ बजे राप्रपासँग पनि ‘निर्णायक’ वार्ता गर्दैछ । दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुंग्याउने गरी दुवै पक्षबीच निर्णायक वार्ता हुन लागेको हो । दुवै दलसँग यसअघि विभिन्न चरणमा छलफल भएको र सम्भवतः आजै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्ता अघि बढेको नेताहरुले जनाएका छन् । राप्रपाको देशव्यापी शक्ति र प्रभाव नरहेकाले झापामा दुवै पार्टीका अध्यक्षको निर्वाचन क्षेत्र सुरक्षित गर्ने गरी सहमति जुट्ने सम्भावना रहेको बताइएको छ ।

कांग्रेस-माओवादीसहित पाँच दलीय गठबन्धनलाई अप्राकृतिक गठबन्धन भन्दै आएको एमाले गणतन्त्रविरोधी राप्रपा र जातीयतासहित संघीयताको पक्षपाती जसपासँग एकैसाथ सहकार्य गर्ने निष्कर्षमा पुगेपछि राष्ट्रिय राजनीतिमा तरङ्ग फैलिएको छ । एमाले-जसपा सहकार्यलाई दुवै पार्टीका तल्लो तहका नेता, कार्यकर्ताले समेत अस्वभाविक ठानिरहेका बेला ओली र उपेन्द्रको पछिल्लो मुभले सत्ता गठबन्धनलाई ‘कम्फर्टेबल’ भन्दै विदेशी शक्तितिर जोड्ने एमालेमाथि नै त्यही प्रश्न तेर्स्याइदिएको टिप्पणी हुन थालेका छन् ।

टिप्पणीहरू