माओवादी नेताविरुद्ध अख्तियारमा उजुरी,श्रीमतीले खेताला राखेको आरोप

माओवादी नेताविरुद्ध अख्तियारमा उजुरी,श्रीमतीले खेताला राखेको आरोप

नेकपा माओवादी केन्द्रका एक जना केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य शरदसिंह भण्डारीविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको छ । आगामी निर्वाचनमा पुनः उम्मेदवारको निम्ति पार्टीभित्र विभिन्न प्रयासमा लागेका उनको विरुद्ध आयोगमा उजुरी परेको हो ।

२०६४ को संविधान सभा निर्वाचनमा भण्डारी निर्वाचित भएको आरोपसहितको उजुरी परेपछि घटनाक्रमले नयाँ रुप लिने भएको छ । त्यतिबेला मतदाता नामावलीमा नाम समावेश नभए पनि भण्डारी उम्मेदवारी दिएको र गैरकानुनी रुपमा निर्वाचित भएको दावी गरिएको छ ।

अख्तियारमा दर्ता गरिएको उजुरीमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरेका व्यक्तिबाट भएको सो कार्य अख्तियारको दुरुपयोग हुने हुँदा तत्कालीन संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा १९ को उपदफा (क) बमोजिम अयोग्य ठहरेकाले कानुनबमोजिम अनुसन्धान गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाई दिनुहुन अनुरोध गरिन्छ ।’

त्यतिबेला भण्डारीले शहीद,बेपत्ता तथा घाइते योद्धाका लागि प्राप्त एम्बुलेन्स र सामाग्री बेचेको आरोपसमेत लाग्दै आएको छ । एम्बुलेन्स किनेको नक्कली कागज बनाई सांसद विकास कोषको रकम दुरुपयोग गरेको गृहजिल्ला अछामका माओवादी नेता तथा कार्यकर्ताको आरोप छ ।


संविधानसभा सदस्य छँदा उनी नक्कली भीसा बनाएर सर्वसाधारणलाई विदेश उडाउने काममा संलग्न भएको र त्यस्ता व्यक्तिबाट सात लाख रुपैयाँका दरले उठाएको बताइन्छ । भण्डारीको योजनाबमोजिम अमेरिका उडाउन खोजिएका चार जनामध्ये एक जनाको भीसा नक्कली रहेको प्रमाणित भएको थियो ।

उनले हरियाली अभियानको नाममा उठाइएको करोडौं रुपैयाँ हिनामिना गरेको अर्को आरोप पनि छ । अभियानको नाममा विदेशी गैरसरकारी संस्थाबाट प्राप्त रकम दुरुपयोग गरिएको उनी निकटस्थहरुले बताएका छन् ।

भण्डारी माओवादी केन्द्र छाडेर विप्लव नेतृत्वको माओवादी पार्टीमा गएका थिए । त्यहाँको आर्थिक मामिला विभागको जिम्मेवारीमा रहँदा उनले कैलालीको हरैयास्थित सुकुम्बासी बस्ती हटाएर भूमाफियालाई सहयोग गरेको बताइन्छ । विप्लव माओवादीहरुको आरोप छ, ‘तत्कालीन माओवादी कमाण्डर कालीबहादुर खामसँग मिलेर भण्डारीले ६५ लाख रुपैयाँ पचाएको सबै प्रमाण छ ।’

पार्टीभित्र आर्थिक अनियमिततामा मुछिएपछि विप्लवले भण्डारीसहित ती जनालाई कारवाही गरेका थिए । त्यसपछि ती सबैले उक्त पार्टी छाडेर माओवादी केन्द्र रोजेको बताइन्छ ।

पेशाले शिक्षक रहेकी भण्डारीकी श्रीमती चेतना रेग्मीले अछामको एउटा विद्यालयमा खेताला शिक्षक राखेर आफूले अन्य व्यवसाय गरेको आरोपसमेत लागेको छ । श्रीमती रेग्मी धेरै समय काठमाडौं,थोरै जिल्ला बस्ने गरेको उनीहरुको आरोप छ ।

अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीको स्थानीय समितिले भण्डारीसहित अरु दुई जनाको नाम सिफारिस गरेको छ ।

टिप्पणीहरू