निर्वाचनमा उम्मेदवारको खर्च रकमको सीमा बढाइयो

निर्वाचनमा उम्मेदवारको खर्च रकमको सीमा बढाइयो

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिदिएको छ ।

आयोगले यस अघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा बराबर खर्च गर्न सकिने सीमा निर्धारण गरेको थियो । तर यस पटक भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित खर्चको अधिकतम हद तोकेको बताइएको छ ।

निर्वाचन खर्चको हद निर्धारणमा २०७९ भदौ ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई ६० प्रतिशत भार दिइएको छ । मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई २० प्रतिशत, भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार तोकिएको आयोगले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार पाँच वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद २५ लाख रुपैयाँ, १७ वटा निर्वाचन क्षेत्रहरुमा २७ लाख, ६५ बटा निर्वाचन क्षेत्रमा २९ लाख, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद ३३ लाख रुपैयाँ कायम गरिएको जनाइएको छ ।

समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्याअनुसार प्रति उम्मेदवार दुई लाख रुपैयाँ तोकिएको छ । प्रदेश सभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद राजनीतिक दलले सम्बन्धित प्रदेशमा पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्याअनुसार प्रति उम्मेदवार एक लाख ५० हजार रुपैयाँ कायम गरिएको छ ।

आयोगले निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिए बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामग्री, दुबानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका क्षेत्रमा खर्च गर्न पाउनेछन् ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन राजनीतिक दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोकेको बताएको छ ।

टिप्पणीहरू