माओवादी प्रवेश गरेका एमाले पूर्वमेयरले अघिल्लो दिन भने ‘भ्रामक, कपोलकल्पित समाचार’

माओवादी प्रवेश गरेका एमाले पूर्वमेयरले अघिल्लो दिन भने ‘भ्रामक, कपोलकल्पित समाचार’

आज बिहान खुमलटार पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट खादा लगाएका इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरीले माओवादी प्रवेशसम्बन्धी समाचारको खण्डन गरेका छन् । उनले उक्त समाचारलाई भ्रामक, कपोलकल्पित भनेका हुन् ।

हिजो एउटा अनलाइनले ‘इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरी माओवादी प्रवेश गर्दै, भोलि प्रचण्डले स्वागत गर्ने’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । तर, उनले उक्त समाचारलाई भ्रामक, कपोलकल्पितको संज्ञा दिएका थिए ।

उनले सामाजिक सञ्जालमा त्यस्तो समाचार लेख्नेलाई कुकुर भनेका छन् । यस्तो समाचार लेख्ने कार्यलाई उनले पत्रकारिताको सट्टा कुत्ताकारिताको विशेषण भिराउँदै लेखेका छन्, ‘यस्ता कुकुरहरुले लेखेको समाचारमा अहिले कोही विश्वास गर्दैनन् । यो कुत्ताकारिता हो ।’

तर, आफैँंले कुकुर र कुत्ताकारिता भनेको २४ घण्टा नबित्दै आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर अरु १० जनासहित माओवादी प्रवेश गरेको फोटो बाहिरिएको छ । चौधरीलाई जवाफ दिँदै सामाजिक सञ्जालमा श्रीकृष्ण नामका एक जनाले हिन्दीमा लेखेका छन्, ‘कुत्ताकारिता मत कहो भाइ । कुत्ते तो इमानदार होते है ।’

टिप्पणीहरू