“आधुनिक सुरक्षित सपिङ मलहरुमा प्रतिबन्ध लगाउनु अनुचित” : उज्वल के.सी. मल व्यवस्थापक

“आधुनिक सुरक्षित सपिङ मलहरुमा प्रतिबन्ध लगाउनु अनुचित” : उज्वल के.सी. मल व्यवस्थापक

कोभिड १९ को संक्रमण रोकथामको उद्देश्यले चैत ११ देखि सरकारले लागू गरेको लकडाउनको म्याद जेठ ३२ गतेबाट सकियो । लकडाउनले गर्दा सर्वसाधारणको रोजीरोटी खोसिनेदेखि सरकारलाई कर्मचारीको तलब खुवाउने पैसाकै अभाव भएपछि सरकारले व्यवसाय र सर्वसाधारणको आवमगनमा लगाइएको प्रतिबन्ध केही खुकुलो गरेको छ ।

सरकारको उक्त कदमसँगै सर्वसाधारणले थोरै भएपनि राहतको सास फेर्न पाएका छन् । सरकारको उक्त कदमले दिनभरी कमाएर बिहान–बेलुकाको छाक टार्नुपर्ने मजदुर लगायत भाडाको घरमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमी, व्यवसायीलाई राहतहुने निश्चित छ । सरकारले झण्डै तीन महिनादेखि ठप्प रहेको व्यवसाय सञ्चालन गर्ने अनुमतिदिए पनि सपिङ मलहरु माथि भने प्रतिबन्ध कायमै राखेको छ ।

सुरक्षा, सरसफाई एवं अन्य सुविधाका हिसाबले परम्परागत पसल र किनमेल केन्द्रको तुलनामा निकै व्यवस्थित सपिङ मलमाथिको प्रतिबन्धले सर्वसाधारण र व्यवसायी अचम्भित भएका छन् । स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड अवलम्बन नगर्ने परम्परागत पसल र सपिङ सेन्टरहरु खोल्न पाउने तर आधुनिक सुविधा सम्पन्न मल खोल्न नपाउने सरकारको निर्णयबाट सम्बद्ध व्यवसायीले विभेदको अनुभूति गरेका छन् । यसबाट एकातिर व्यवसायीहरुको करोडौं लगानी डुब्ने तथा हजारौंको रोजगारी खोसिने खतरा झन्झन् बढेको छ ।

सामान्यतया कुनै रोग र महामारीको जोखिम नभएको अवस्थामा पनि सपिङ मलहरुले सरसफाइमा निःसंक्रमित रसायनहरु प्रयोग गर्दै आएका हुन्छन् । व्यवस्थित र सफा शौचालय फराकिलो ठाउँ तथा उपयुक्त पूर्वाधारका कारण आधुनिक सपिङ मलहरुमा सामान्य अवस्थामै पनि कोभिड १९ को संक्रणण रोक्न अपनाउनु पर्ने दुई मिटरको सामाजिक दुरी कायम भइरहेको हुन्छ । त्यसमाथि कोरोना भाइरस संक्रमणको जोखिम रहेको अहिलेको अवस्थामा परम्परागत किनमेल केन्द्रहरुमा भन्दा सपिङ मलमा विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न/गराउन सजिलो छ ।

सपिङमल सञ्चालक एवं त्यहाँ व्यवसाय गरेर बसेका व्यवसायीहरु अहिलेको परिप्रेक्ष्यमा स्वास्थ्य सुरक्षा र सरसफाइ प्रतिअझ बढी सजग छन् । पर्याप्त सुरक्षाकर्मी, सिसी क्यामेरा तथापर्याप्त स्थानले गर्दा सपिङ मलमा आउने ग्राहकले सुरक्षा सावधान अपनाए/नपअनाएको, स्यानिटाइजर प्रयोग गरे÷नगरेको जस्ता कुराको अनुगमन गर्न सपिङ मलमा सजिलो हुन्छ ।

परम्परागत किनमेल केन्द्रमा भन्दा फरक आधुनिक सपिङ मलहरुमा नगदको प्रयोग नगरिकन र बिक्रीका लागि राखिएका सामानहरु धेरै नचलाइकनै किनमेल गर्न सकिने सुविधा उपलब्ध छ । यस मानेमा आधुनिक सपिङमलहरु परम्परागत किनमेल केन्द्रको तुलनामा धेरै बढी सुरक्षित छन् ।

सपिङमलका एउटा आउटलेटमा एकै किसिमको सामानमात्र किनबेच हुने भएकाले पनि त्यहाँ अनावश्यक व्यक्तिहरुको भीडभाड र जमघटको सम्भावना रहँदैन । उदाहरणका लागि जुत्ता बिक्री गर्ने पसलमा अन्य सामान खोज्ने ग्राहक जाँदैन र अन्य सामानको पसलमा जुत्ता खोज्ने ग्राहक पुग्दैन ।

यसरी हेर्दा सरकारले आधुनिक सपिङ मलहरु खोल्नमा लगाएको प्रतिबन्ध अत्यन्तै अवैज्ञानिक ठहर्ने उनी बताउँछन् । तसर्थ विश्व स्वास्थ्य संगठनले तोकेका प्रोटोकल पालना गर्ने गरी सपिङ मलहरु खोल्न दिएर जोखिममा परेको अर्बौं लगानी र हजारौं रोजगारी बचाउनको लागि भएपनि मलहरु खोल्न दिनु पर्छ भन्ने उनको मनसाय हो । बेलैमा यसतर्फ कदम चाल्ननसके बेरोजगारी र चर्को ऋण भारले निम्त्याउने सामाजिक तनावको सिकार हामी नै हुनुपर्ने पक्का भएको केसी बताउँछन् ।

टिप्पणीहरू