बालिका बलात्कार प्रयासको घटना वडाध्यक्षकै नेतृत्वमा सामसुम

चितवनको भरतपुर महानगरपालिका– २० मा वडाध्यक्षकै नेतृत्वमा बालिका बलात्कार प्रयासको गम्भीर घटनालाई सामसुम परिएको छ ।

भरतपुरको चनौली बजारमा जेठ २० गते घटेको बालिका जबर्जस्ती करणी प्रयासको उक्त घटनामा संलग्न ती व्यक्तिलाई राजनीतिक एवं आर्थिक पहँुचका आधारमा कानुनी कारबाहीबाट उन्मुक्ति दिने मनसायले वडाध्यक्ष आफैं न्यायाधीश बनी पीडित परिवारलाई मानसिक दबाब दिनुका साथै केही रूपैयाँको प्रलोभनमा पारी केही बजारका धनाढ्यसमेतको रोहबरमा घटना सामसुम पारिएको विषयप्रति पश्चिम चितवनका स्थानीयले आपत्ति जनाएका छन् ।

सय मिटर दूरीमा रहेको इलाका प्रहरी कार्यालय चनौंलीलाई घटनाबारे केही जानकारी नहुनुले स्थानीय प्रहरीको अक्षमता कि मिलेमतो ? भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ ।

के थियो घटना ?

जेठ २० गते पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका–२० चनौली बजारमा रहेको एक हार्डवेयरमा काँटी किन्न गएकी एक बालिकालाई छिमेककै प्रौढले जबर्जस्ती करणी प्रयास गरेको भन्दै पीडितकी आमाबुबासहित स्थानीयले उनलाई चनौलीकै हाकु कुमालको घरमा केही घण्टा थुनेर १८ नंं. वडाका वडाध्यक्ष दीपक लामालाई बोलाएका थिए ।

घटनाबारे बुझेपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले कानुनी निकायमा खबर गर्नुपर्नेमा बलात्कार प्रयासमा संलग्न कांग्रेसकै जनप्रतिनिधिका श्रीमान्समेत रहेका ती व्यक्तिलाई त्यहाँबाट छुटाएर उनको आफ्नै घरमा पु¥याएका थिए । केही समय पीडकसँग छुट्टै बसेका वडाध्यक्षले पीडितलाई समेत त्यहीँ बोलाई यो कुरो प्रहरीमा लैजान नहुने भन्दै पीडितलाई मिल्न चौतर्फी दबाब दिएका थिए ।

आफ्नो पार्टीका सदस्य भएकै आधारमा उक्त घटनामा मुछिएका ती पुरुषलाई उन्मुक्ति दिन वडाध्यक्षले गाउँको कुरा बाहिर जान दिन नहुने भन्दै गाउँमै मिलाउनुपर्ने बताएर ढाकछोप गरी गुपचुपमै मिलाएको एक स्थानीयले बताए ।

प्रहरीलाई निष्क्रिय बनाइएको दाबी

गोप्य स्थानीय स्रोतका अनुसार नजिकै रहेको इलाका प्रहरी कार्यालयले बालिका बलात्कार प्रयासको घटना राजनीतिक दबाब र लेनदेनमा मिलाइँदै गरेको थाहा पाएर पनि बजार व्यवस्थापन समिति र वडाध्यक्षको दबदबाको अगाडि प्रहरी मुकदर्शक बनेका हुन् ।

स्रोतले भन्यो, ‘जेठ २० गते बिहान ८ बजे छिमेकीको घरमा जाँदा ती बालिकामाथि ती पुरुषले जबर्जस्ती करणी प्रयास गरेका थिए । तर, बालिकाले प्रतिरोध गरी हल्ला गरेपछि सो घटना वरिपरिका छिमेकले थाहा पाएका थिए । घटना भएको दुईदिनसम्म अर्थात् २२ गतेसम्म के खिचडी पकाएका थिए वडाध्यक्षले ? अनि यस्तो लकडाउनमा हुलका हुल मानिसको सार्वजनिक जमघट हुँदा प्रहरी मस्त निद्रामा थियो कि चौकी पूरै खाली ?

यसर्थ, प्रहरीलाई राजनीतिक एवं आर्थिक पहँुचवाला बजारियाले पूरै निष्क्रिय बनाएर केस डिसमिस बनाउन सफल भएका हुन् । त्यहीँबाट अनुसन्धान शुरु गरे यथार्थता आउने स्रोतको दाबी छ ।

स्थानीय प्रहरीको समेत मिलीभगतको आशंका

सय मिटर दूरीमा रहेको इलाका प्रहरी कार्यालयलाई घटनाबारे सबै थाहा पाएर पनि चुप बसेको स्थानीयको आशंका छ ।

‘दैनिक उठबस र खानपान गर्नेहरूविरुद्ध प्रहरी कसरी एक्सनमा उत्रन सक्छ ?’ एक स्थानीयले भने । उनले अगाडि थपे हैन भने बजार व्यवस्थापन, स्थानीय टोलसहित दर्जनौंको उपस्थितिमा पटक–पटक सार्वजनिक स्थल(आँगन)मा छलफल गरी दुई दिनपछि मात्र माफी मगाएको घटना प्रहरीलाई थाहा नहुनु भनेको के के हो ?’ उनले प्रतिप्रश्न गरे ।

यता, १८ नम्बरका वडाध्यक्ष दीपक लामासँग यस विषयमा बुझ्दा उनले पीडकलाई मोसो लगाउनेसम्मको तयारी भए पनि सय जनाभन्दा बढी स्थानीय जम्मा गराई आरोपितले हात जोडेर माफी मागेपछि पीडित पक्षले माफी दिएको बताए ।

उक्त घटना स्थानीय स्तरमा मिलाउन नपाइने र कसैको उजुरी नपरे पनि प्रहरीले थाहा पाएपछि अनुसन्धान गर्न सक्ने र सरकारवादी मुद्दा बन्ने भन्दै यस्तो घटना सामसुम हुनु दुःखद भएको नेत्री एवं अधिकारकर्मी संगीता भट्टराईले बताइन् ।

यो घटनालाई सामसुम बनाउन किन वडाध्यक्ष नै ज्यान फालेर लागिपरे ? के आफ्नो राजनीतिक सदस्य वा कार्यकर्ता भएमा जस्तोसुकै हर्कत गरे पनि बचाउने नाममा कतै हामी अपराध र आपराधिक मनोवृत्तिलाई बढवा त् दिइरहेका छैंनौं ? घटना थाहा पाएर पनि नजिकैको प्रहरी किन मुकर्दशक रह्यो ? के व्यावसायिक प्रहरीको छनक यही हो ? यस्ता यावत सवाल अझै आशंकाको घेरामा छन्, जसबारे हामी थप खोजी गर्नेछौं ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जिल्ला प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान शुरु गरिरहेको भन्दै घटनाको यथार्थता बाहिर ल्याइछाड्ने बताए ।

टिप्पणीहरू