दशैंमा पनि फुटपाथमा पसल राख्न पाईंदैन : काठमाडौं महानगर

दशैंमा पनि फुटपाथमा पसल राख्न पाईंदैन : काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापार हटाउन चलाइएको अभियान कुनै पनि कारणले नरोकिने प्रष्ट पारेको छ । दशैँ, तिहारलगायत चाडपर्वका बेला फुटपाथमा पसल राख्न दिनुपर्ने माग उठिरहेका बेला महानगरको यस्तो प्रस्टोक्ति आएको हो ।

सडक किनारमा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकारका लागि सञ्चालन भएका क्रियाकलाप रोक्न पर्व विशेषका नाममा लचिलो हुन नसकिने महानगरको भनाइ छ ।

फुटपाथ व्यापारलाई दशैंको सन्दर्भसँग जोडेर विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि महानगरले आज त्यसबारे ध्यानाकर्षण भएको जनाएको छ । पर्व विशेषमा फुटपाथको अझ बढी आवश्यकता पर्ने उल्लेख गर्दै महानगरले फुटपाथ व्यवसायले पैदलयात्री, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिकालगायतलाई अप्ठ्यारो पारेको समेत ठहर गरेको छ ।

आर्थिक वर्ष २०७९–८० को वार्षिक कार्यक्रमअन्तर्गत पूर्वाधार विकाससम्बन्धी नीतिमा पैदलयात्री सहज आवागमनका लागि फुटपाथको उपभोग सहज र सरल बनाइने उल्लेख गरिएकाले सोहीअनुसार हुने महानगरको अडान छ । फुटपाथमा मानव आवतजावत बाहेकका सबै क्रियाकलापलाई निषेध गरिने प्रावधान पूर्णरुपमा कार्यान्वयन गरिने बताइएको छ ।यस कार्यक्रमअन्तर्गत रहेर सडक किनार व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको महानगरले जनाएको छ । साथै, सहरी सुशासन र सहरी विकास व्यवस्थापनमा नीतिबमोजिम आफ्ना कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।

टिप्पणीहरू