सम्झौता पालना नगर्ने नागरिकको कार्यालय महासंघले घेर्ने

सम्झौता पालना नगर्ने नागरिकको कार्यालय महासंघले घेर्ने

नेपाल पत्रकार महासंघले भोलि काठमाडौंको सुन्धारास्थित नेपाल रिपब्लिक मिडिया लिमिटेडको कार्यालय घेराउ गर्ने भएको छ । श्रमजीवी पत्रकारका हकहितका लागि पटक–पटक भएको सम्झौता कार्यान्वयन गर्न नागरिक दैनिकले अटेर गरेपछि महासंघले धर्ना तथा विरोध कार्यक्रम गर्न लागेको हो ।

भोलि दिउँसो १२ बजेदेखि धर्ना शुरु हुने बताउँदै महासंघले सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि आह्वान गरेको छ । महासंघले ‘न्यूनतम पारिश्रमिक तत्काल लागू गर’,‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर’,‘स्ट्रिन्जर र पत्रकारलाई स्थायी गर’,‘सरकारसँग लिएको सहुलियतपूर्ण कर्जालाई पत्रकारको हितमा लागू गर’, ‘नियमित पारिश्रमिकको व्यवस्था गर’ लगायत नारा लगाउने जनाइएको छ ।

नागरिक दैनिकमा कार्यरत पत्रकार र कर्मचारीहरुले यसअघि पनि पेशागत रक्षाका लागि आन्दोलन गरेका थिए । नियमित रुपमा पारिश्रमिक नदिएको र पूर्व जानकारीबिना जागिरबाट निकालिएको विरोधमा सत्याग्रहसमेत गरिएको थियो ।

टिप्पणीहरू