बहस गरौं, आफैं न्यायाधीश नबनौं

बहस गरौं, आफैं न्यायाधीश नबनौं

– पवित्रा पराजुली

जति–जति नयाँ–नयाँ प्रविधिको विस्तार विकास भयो, त्यति–त्यति समस्या र चुनौती पनि थपिए । प्रसंग सामाजिक सञ्जाल र सामाजिक मनोवृत्तिको । कुनै जमाना थियो, एउटा कुनै ठाउँमा घटेको घटना अर्को गाउँ वा जिल्लामा थाहा हुन महिनौँ लाग्थ्यो, ती कुरा सम्झेर अर्थ छैन ।

इन्टरनेटको माध्यमबाट एकदेखि अर्कोलाई जोड्ने ऊबेलाका चोकचौताराजस्तै सामाजिक सञ्जाल विश्वका घटना परिघटनाको जानकारी दिने र नयाँ कुरा थाहा पाउने थलो मात्र होइन, अपराधीकरणलाई बढावा दिने, व्यक्तिगत भडास पोख्ने र सामाजिक सद्भाव, न्याय कानुनमाथि औँला उठाउने कुठाउँ बन्दै छ । मान्छे बरू आडैमा बसेको मान्छेसँग सञ्चो बिसञ्चो सोध्न, बिरामी भए तातोपानी दिन सक्दैन तर सात समुद्रपारिको घटनामा प्रतिक्रिया दिन र सञ्चारमाध्यममा आएका समाचारमा तत्काल वार कि पार गरी निर्णय सुनाउन न्यायाधीश बनेर ‘स्टाटस’ र ‘ब्लग’ लेख्न खप्पिस भइसके ।

प्रसंग, हालै मात्र एक क्रिकेटरमाथि लागेको बलात्कार आरोपको हो । केही दिनअघि समाचार माध्यममा समाचार आयो, ती क्रिकेटरको तस्बिरसहित ‘…माथि नाबालिका बलात्कारको आरोप । त्यसपछि अनेकन् सञ्चार माध्यमले मसला पाएझैँ गरी अपराधी नै करार गरेर ‘कोट अनकोट’ समाचारहरू भाइरल गराए ।

उनीमाथि अनेकौँ ट्रोल बनाएर एउटा हाँसो मजाक गरियो । त्यति मात्र होइन, करणीमा परेकी भनिएकी नाबालिकालाई गलत र आरोपित क्रिकेटरलाई निर्दोष भन्न पनि भ्याइसके । विभिन्न पेशा व्यवसायमा लब्धप्रतिष्ठित भनेर चिनिएकाहरू नै फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक, आफ्ना व्यक्तिगत ब्लगजस्ता सञ्जालमा कुनै एक पक्षलाई दोषी करार र अर्को पक्षलाई निर्दोष करार गर्ने विषयमा तल्लीन भेटिए ।

आडैमा बसेको मान्छेसँग सञ्चो बिसञ्चो सोध्न, बिरामी भए तातोपानी दिन सक्दैन तर सात समुद्रपारिको घटनामा प्रतिक्रिया दिन र सञ्चारमाध्यममा आएका समाचारमा तत्काल वार कि पार गरी निर्णय सुनाउन न्यायाधीश बनेर ‘स्टाटस’ र ‘ब्लग’ लेख्न खप्पिस भइसके ।

चितवन जिल्लावासी कांग्रेसका एक नेता, लामो समय विदेश बसेका शिक्षित व्यक्तिले यो घटनापछि एउटा स्टाटस लेखे, ‘मेरो फेसबुकमा रहनुभएका आफन्तबाहेक १७ वर्षमुनिका केटीसाथीहरू आफैँ अनफ्रेण्ड हुनुहोला ।’ अर्का एक जना पत्रकारले एउटा पोष्ट राखे, ‘सधैँ एउटा बल फ्याँकेर नाम कमाएको केटो, दुइटा बल समात्न पुगेर सिद्धिने भएछ ।’ यस्ताखाले स्टाटस, पोष्ट र टिप्पणीहरू छताछुल्ल छन् । कसैले क्रिकेटरको फोटो राखेर लेखेका छन्, ‘स्टारर्डमको नाममा कलंक, यस्तालाई त फाँसी हुनुपर्छ सिधै ।’ कसैले कुनै युवतीका अप्रासंगिक फोटो राखेर लेखेका छन्, ‘यस्तैले हो, फसाउने’ आदि–इत्यादि ।

आरोप लाग्नु अपराधी प्रमाणित हुनु होइन । प्रमाणित त प्रहरीको अनुसन्धान र अदालतको फैसलाले गर्नेछ । अँ, योचाहिँँ हो कि, किटानीसहित जाहेरी परेको व्यक्ति प्रहरीको अनुसन्धानमा तानिन्छ, त्यो पक्राउ वा आफैँ आत्मसमर्पण नगरुञ्जेल प्रहरीको कालोसूची (ब्ल्याक लिस्ट)मा पर्छ । अहिले ती क्रिकेटर प्रहरीको सम्पर्कमा नपुगिसकेकाले प्रतिवादी हुन् र प्रहरीको खोजी सूचीमा छन् ।

यस्तो विषय खासमा अनुसन्धान पूर्ण नहुञ्जेल प्रहरीले पनि गोपनीयताको ख्याल गर्नुपर्ने र सञ्चारमाध्यमले त झनै कानुन र पत्रकार आचारसंहिताको परिधिमा रहेर सम्प्रेषण गर्नुपर्ने विषय हो । प्रहरी र आमसञ्चार माध्यमको संयमता भएको भए आमनागरिकले पनि यति धेरै आफैँ न्यायाधीश बनेर सामाजिक सञ्जालमा अपराधी करारसहित फैसला सुनाउने थिएनन् होला कि !

हो, अचेल कुनै पनि घटना लुकाएर, छिपाएर छिप्दैन । सञ्चारको तीव्रत्तर विकासले कुनै पनि विषय अति गोपनीय रहन छोडिसकेको छ । तर, कुनै पनि व्यक्ति संविधानप्रदत्त अधिकार, जघन्य अपराध, आमनागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षाजस्ता विषयमा अनुसन्धानबिनै जो पायो त्यही व्यक्ति न्यायाधीश बन्ने हो र ? जवाफ सबैलाई थाहा छ, होइन । कसैले पीडित भनिएकी नाबालिगलाई पेशेवर भन्न भ्याइसके, कानुन संशोधन गर्न भनिसके, कसैले आरोपितलाई सिध्याउनुपर्ने बताइसके ।

कतिलाई पीडितलाई भेटेर अन्तरवार्ता लिन, भाइरल गराउन हतार । कतिलाई आरोपितका पुराना फोटो र भिडियोका क्लिप देखाएर भयंकर अपराधी वा निर्दोष र स्वच्छ छविको बनाउन हतार छ । लाग्छ, सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्ता घटनाबारे सम्पूर्ण ठेक्का परेको छ जो यिनीहरू यसो गरिरहेका छन् । यसो होइन भनेर कसैले भन्यो भने त्यही आउँछ, ‘हामीले बहस गर्न नपाउने ? कुनै विषयमा बिचार लेख्न र बोल्न नपाउने ? भन्न पाइन्छ । तर बहस गर्नुस्, न्यायाधीश नबन्नुस् । फैसला नसुनाउनुस् ।

म त महान् हो, यो विषयमा म नबोले त को बोल्छ ? म त ठूलो मान्छे पो त भन्नेहरूले बहसको विषयमा कस्तो हो, कति संवेदनशील छ ? अनि यो विषयको आफू पूर्ण जानकार हो कि होइन, यस्ता विषयबारे कानुनले के भन्छ भन्नेचाहिँँ सोच्नुपर्दैन ? घटनाको वास्तविकतापछि नै थाहा होला । कानुनले फैसला गर्ला । तर, अहिले सामाजिक सञ्जालमा मानिसहरू यसरी बहस गरिरहेका छन् कि, मानौँ उनीहरू यस विषयमा पूर्ण जानकार छन् । उनीहरू घटनाको शुरुदेखि अन्त्यसम्मका प्रत्यक्षदर्शी हुन् । यस्तो लाग्छ, उनीरूलाई कानुन सबै थाहा छ । न्याय उनैले दिने हुन् ।

फेसबुकमा पत्रकार तथा सामाजिक अभियन्ता महावीर विश्वकर्मा लेख्नुहुन्छ, ‘….माथि अहिले बलात्कार आरोपमा ‘किटानी जाहेरी’ परेको छ । उनी अन्तर्राष्ट्रिय क्रिकेटर हुन् कि, असाध्यै धनाढ्य युवा हुन् कि, उनको कति बिघा जग्गा छ, पुख्र्याैली विरासत के हो, कुन गाडी चढ्छन्, कति रूपैयाँको कफी खान्छन्, उनको पक्षमा को–को सेलिब्रेटी छन्…यस्ता केही कुरा कानुनलाई मतलब हुँदैन ।’ विश्वकर्मा कानुन नबुझिकन आरोपीप्रति सहानुभूति राख्नेप्रति प्रश्न गर्नुहुन्छ, ‘कानुनको नजरमा अब उनी ‘सशंकित व्यक्ति’ हुन्, र सशंकित व्यक्ति पक्राउ नपरुञ्जेल कालोसूचीमै राख्ने हो ।

पक्राउ परेर प्रहरीले अनुसन्धान गर्छ र सरकारी वकिल कार्यालयलाई कागजात बुझाउँछ किनकि यो ‘सरकारवादी मुद्दा’ हो । तब सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्दा उनलाई ’अभियुक्त’ किटान गर्छ । यो त कानुनी प्रक्रिया हो । यति सामान्य कुरा पनि नबुझेर सार्वजनिक रूपमै बलात्कार आरोपीप्रति सहानुभूति देखाउने तहमा खसखस लाग्या किन हो ?’ अर्थात् कानुन सबैलाई बराबर हो । जाहेरी परेपछि यो अनुसन्धान हुन्छ र फैसला पनि हुन्छ यसरी सामाजिक सञ्जालमा न्यायाधीश बन्दा मुद्दा झन् प्रभावित हुन्छ ।

अरू प्राणीमा भन्दा चेतनास्तर हुने र सही गलत खुट्याउन सक्ने दर्जामा मानिसलाई राखिएको हुन्छ । तर, अचेल व्यक्तिगत स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र विचार व्यक्त गर्ने नाममा मानिस कानुनी प्रक्रियालाई नै चुनौती दिनेगरी सामाजिक सञ्जालमा पोखिन थालेका छन् । मानवीय नैतिकतासमेतको ख्याल नगरी अभिव्यक्ति दिने प्रवृत्तिले नयाँ पुस्तालाई कस्तो शिक्षा दिन्छ होला ? पीडित र आरोपितका विषयमा आफैँ न्यायाधीश भएर छिनोफानो गर्ने परिपाटी गलत छ ।

अझ समाजमा चर्चित, प्रतिष्ठित भनेर चिनिएका, चिनाइएका व्यक्तिले नै असंवेदनशील रूपमा अभिव्यक्ति दिइरहेका छन् । यसले समाजमा झनै विकराल स्थिति सिर्जना गर्न सक्छ । पत्रकार दामोदर न्यौपाने भन्नुहुन्छ, ‘हामी सबैलाई असल चरित्र चाहिएको छ । तर, आफू चरित्रमा बस्नु छैन । हरेक मान्छे चरित्र निर्माणमा सजग हुनुपर्छ । यसका लागि बालबालिकादेखि नै अभ्यास गराउनुपर्छ । नागरिकलाई कानुनको जानकारी हुनुपर्छ । अर्कालाई दुःख दिने प्रवृत्ति त्याग्नुपर्छ । यसका लागि शिक्षा सही हुनुप¥यो । हुर्काइ सही हुनुप¥यो । घरमा संस्कार सिकाउनुप¥यो । संस्कारयुक्त शिक्षा हुनुप¥यो । आफू व्यवस्थित हुने कला सिकाउनुप¥यो । मनलाई नियन्त्रित गर्ने कला सिक्नुप¥यो । यसका लागि संयम शिक्षा दिनुप¥यो । यति गर्दा गर्दै पनि गलत क्रियाकलाप गर्ने कोही न कोही भेटिन्छन् । यस्तो बेलामा समाजका मर्यादा र कानुनको सीमा नाघ्ने जोसुकै भए पनि कडा कारबाहीको लागि आवाज उठाऊँ ।’ पक्कै पनि यदि सही शिक्षा र चेतना हुने थियो भने पछिल्लो घटनामा सामाजिक सञ्जालमा कोहीपनि न्यायाधीश बन्न हौसिने थिएन ।

यो घटनामा कतिपय यस्ता अभिव्यक्ति सार्वजनिक भइरहेका छन् कि, तिनले उनीहरूको स्तर मापन गरिरहेको छ । ती खाले अतिवादी अभिव्यक्ति रोकिनुपर्छ । त्यस्ताखाले अभिव्यक्ति दिने व्यक्तिलाई सम्झाउने–बुझाउने र बुझेन भने कानुनको सहारा लिएर भए पनि लगाम लगाउनै पर्ने अवस्था आएको छ ।

टिप्पणीहरू