प्रधानमन्त्रीसँगै को-को गए बहादुर भवन ?

प्रधानमन्त्रीसँगै को-को गए बहादुर भवन ?

प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न पार्टीका नेताहरु चुनावी आचारसंहिताबारे छलफल गर्न कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् । मङ्सिर ४ को निर्वाचनका लागि आचारसंहितामा हस्ताक्षर गराएर लागू गर्नेबारे छलफलका लागि आयोगले बोलाएको बैठकमा भाग लिन प्रधानमन्त्री देउवा,एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु आज अपराह्न बहादुर भवन गएका हुन् ।

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई छलफलमा भाग लिन निम्तो दिएको थियो । निम्ता स्वीकार्दै प्रधानमन्त्री देउवा,एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित गृहमन्त्री बालकृष्ण खाँण पनि बहादुर भवन पुग्नुभएको छ । काँग्रेसका तर्फबाट उपसभापति धनराज गुरुङ पनि छलफलमा बस्नुभएको छ ।

त्यस्तै,एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ र केन्द्रीय निर्वाचन विभाग सचिव केदार कोइराला छलफलमा सहभागी हुनुहुन्छ । माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल र केन्द्रीय सदस्य मुक्ति प्रधान, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झा,राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल,सचिव हिमलाल पुरी,जसपा नेता प्रकाश अधिकारी छलफलमा छन् ।

आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु इश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा.जानकी तुलाधर, सगुनसमशेर राणा, सचिव गोकर्णमणि दुवाडी, प्रवक्ता शालिकराम शर्मा पौडेल छलफलमा सहभागी रहेको बताइएको छ ।

गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकोमा अब आयोगले निर्णय गर्नेबित्तिक्कै लागू हुनेछ । त्यसअघि आयोगले प्रमुख राजनीतिक दलका नेतासँग छलफल गरी हस्ताक्षर गराउन लागेको हो ।

टिप्पणीहरू