पाँचथरले जित्यो ११ स्वर्ण, २२ खेलाडी पोखरा जाने

पाँचथरले जित्यो ११ स्वर्ण, २२ खेलाडी पोखरा जाने

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटअन्तर्गत १ नम्बर प्रदेशस्तरिय प्रतिष्पर्धामा पाँचथर जिल्लाले ११ स्वर्ण जितेको छ । बिभिन्न खेल बिधामा पाँचथरले ११ वटा स्वर्ण जितेको हो ।

प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ देखि असोज ८ गतेसम्म सञ्चालन भएको छनोट प्रतियोगितामा पाँचथरले आइटिएफ तेक्वान्दो, फुलकन्ट्रयाक कराँते र कुस्तीमा समान तीन-तीन तथा जुडो र शारीरिक सुगठनमा एक-एक वटा स्वर्ण पदक जितेको हो । जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानका अनुसार तेक्वान्दोमा दर्शन सेलीङ, आलोक राई (४५ केजी समूह) र अनिस सेलीङ (६० केजी समूह)ले स्वर्ण पदक जितेका हुन् ।

यस्तै, फुलकन्ट्रयाक कराँतेतर्फ सृष्ठी आङदेम्बे ४० (केजी समूह), विना तुम्बपो (५० केजी समूह) र इक्सा माङलाक (५५ केजी समूह)ले स्वर्ण पदक जितेका छन् । कुस्तीमा अमिलेख नेम्बाङ (७४ केजी समूह), बर्ण लिम्बु चोम्बाङ (५७ केजी समूह), प्रेरणा लिम्बु (५३ केजी समूह)ले स्वर्ण पदक जिते । जुडोमा उत्तम प्रधानले ७७ केजी समुहमा स्वर्ण पदक हात पार्दा शारीरिक सुगठनतर्फ पबन भट्टराई (७० केजी समूह)ले स्वर्ण जितेको मोक्तानले जानकारी दिए ।

स्वर्ण पदक नजिते पनि फुटबलकी प्रबिना कालीकोटे, रग्बी पुरुषतर्फका बुद्धिराज राई, बिनय तुम्बापो, सन्दीप कुमार राई र बुद्धिचालतर्फ प्रशान्त दाश चेम्जोङ पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् । पाँचथरबाट १७ वटा खेलमा दुई सय ६६ जना खेलाडीले प्रदेश छनोटमा सहभागिता जनाएका थिए । जसमध्ये २२ जना राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका हुन् ।

जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष मोक्तानले समय अभावका बाबजुत राम्रो नतिजा प्राप्त भएको बताए । पर्याप्त समय पाएको अवस्थामा अझ धेरै खेलडी छनौट हुने सम्भावना रहेको पनि उनले दावी गरे ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म पर्यटकीय नगर पोखरामा सञ्चालन हुँदैछ ।

टिप्पणीहरू