मीनाकुमारीको त्यसपछि छियाछिया भयो मन

मीनाकुमारीको त्यसपछि छियाछिया भयो मन

टुकडे–टुकडे दिन बिता, धज्जी–धज्जी रात मिली
जिसका जितना आंचल था, उतनी ही सौगात मिली
रिमझिम–रिमझिम बूंदों में, जा हर भी है और अमृत भी
आंखें हंस दिं दिल रोया, यह अच्छी बरसात मिली

जब चाहा दिलको समझें, हंसने की आवाज सुनी
जैसे कोई कहता हो, ले फिर तुझको मात मिली
मातें कैसी घातें क्या, चलते रहना आठ पहर
दिल–सा साथी जब पाया, बेचैनी भी साथ मिली
होंठों तक आते आते, जाने कितने रूप भरे
जलती–बुझती आंखों में, सादा–सी जो बात मिली

मीनाकुमारी हिन्दी चलचित्र क्षेत्रको घागडान अभिनेत्री हुन् । ‘ट्राजिडी क्विन’ (दुखान्त चलचित्रकी सर्वश्रेष्ठ अभिनेत्री)को रूपमा दर्शकमाझ लोकप्रिय उनी कवयित्री पनि हुन् । कविता, गजल सिर्जना गरेकी छन् । उल्लिखित गजल उनैको हो । ‘बहन’ ‘पिया घर आजा’ आदि ६ वटा चलचित्रमा गीत गाइन् । सन् १९३९ देखि १९७२ सम्म अभिनयमा सक्रिय उनले ९० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिन् । ३३ वर्षको अभिनयकालमा ४ पटक फिल्मफेयर अवार्ड जितिन् । चलचित्रजगतमा दिइने उक्त पुरस्कारको भारतमा ठूलो महत्व राख्छ र सर्वश्रेष्ठ अभिनय विधामा यो पुरस्कार जित्ने उनी प्रथम महिला कलाकार हुन् ।

सन् १९५२ मा प्रदर्शित चलचित्र ‘बैजुबावरा’ मा सजिव अभिनय गरेवापत पहिलोपटक यो पुरस्कार पाएकी थिइन् । हलहरूमा लगातार सय हप्ता अनवरत चलेको पहिलो हिन्दी चलचित्र यही हो । यसले आजभन्दा ६८ वर्षअघिको त्यो समयमै नेरू २ करोडको ब्यापार गरेको थियो । फिल्मी समीक्षकहरू भन्छन् ‘यो रकम भनेको आजको दिनमा १ अर्ब ८४ करोड बराबर हुन आउँछ ।’

मीनाले खेलेका अधिकांश चलचित्र बियोगले भरिपूर्ण छन् । ३९ वर्षको अल्पायुमै दिवंगत भएकी मीनाको रियल जीवन पनि रिल जीवनजस्तै बियोग र दुःखमयी छ । त्यसैले पनि होला, भन्छिन् –

‘तुम क्या करोगे सुन कर मुझ से मेरी कहानी,
बेलुफ्त जिन्दगी के किस्से हैं फीके फीके ।’

जन्मजात गरिब थिइन् । पाल्न नसक्ने भएकै कारण अलि बख्सले नवजात छोरीलाई अनाथालयमा राख्न लगे । तर, घर नपुग्दै छोरीको माया लाग्यो र दौडेर लिन गए । त्यहाँ पुग्दा देखे कि छोरीको शरीरभरि कमिला दौडिरहेको छ र ऊ रोइरहेकी छ । राति सबै सुतिसकेका थिए, छोरीलाई छातीमा लगाए र घर ल्याए । अलि बख्स रंगमञ्चका राम्रा कलाकार थिए । घर खर्च चलाउन छोरीहरू खुर्सिद र महजबींलाई चलचित्रमा खेलाउन चाहन्थे । सन् १९३९ मा प्रकाश पिक्चर्सले चलचित्र ‘फर्जंद ए–वतन’ बनाउने भयो । कम्पनीका मालिक विजय भट्टले बालकलाकारको भूमिकामा ६ वर्षकी महजबींलाई छनौट गरे । उनलाई रंगबिरंगी फ्रक लगाउन दिइयो । आँखामा गाजल र अनुहारमा पाउडर । अलि बख्सले भने ‘छोरी, मालिकले जे जे भन्यो त्यैत्यै गर्नु । त्यसपछि तिमीले राम्रोराम्रो लुगा लगाउन पाउनेछौ, धेरै चकलेट र खेलौना पाउनेछौ ।’

त्यो दिनको सुटिङपश्चात अलि बख्सले २५ रूपैयाँ पाए । खुशीको हो वा विवशताको हो कुन्नि, आँखाबाट आँशु झार्दै उनले पैसा हातमा लिए । कमिजको बाहुलाले आँशु पुछ्दै छोरीको शीरमा हात राखे र निधारमा म्वाइ खाए । स्टुडियोका मालिकलाई बालकलाकार महजबींको नाउँ मन परेको थिएन त्यसैले नयाँ ३ वटा नाउँ प्रभा, कमला र मीनामध्ये एउटा रोज्न लगाए । महजबींले मीना रोजिन् । यसरी ६ वर्षकी महजबीं बेबी मीना बनिन् । र, यही नाउँबाट ११ वटा चलचित्र खेलिन् ।

सन् १९४६ मा रमणिक प्रोडक्सनले ‘बच्चोंका खेल’ बनाए । १३ वर्षीय मीना उक्त चलचित्रबाट मीनाकुमारी बनिन् किनभने फिल्ममा उनले पहिलो पटक नायिकाको भूमिका पाएकी थिइन् । चलचित्रमा नायक ३२ वर्षका चर्चित हाँस्य अभिनेता आगा थिए । फिल्म खुब चल्यो । लगतै मीनाले धमाधम काम पाउन थालिन् । तर, अधिकांश चलचित्र धार्मिक थिए । र, बल्ल सन् १९५२ मा प्रदर्शित ‘बैजुबावरा’ ले उनलाई शिखरमा पु¥याइदियो । त्यसपछि भने पछाडि फर्केर हेर्नै परेन । सबै नामी कलाकारको हिरोइन बनेर खेलिन्, प्रायः सबै उनले खेलेका फिल्म हिट भए । उनको गम्भीर अभिनयलाई सबैले तारिफ गरे । तीमध्येका ‘परिणीता’ र ‘दायरा’ अभिनय, कथावस्तु र कलात्मक सबै कोणबाट उत्कृष्ट मानिन्छन् ।

सन् १९५१ मा ‘तमाशा’ बन्ने भयो । देव आनन्द र मीनाकुमारी प्रमुख भूमिकामा थिए । सुटिङको दौरान वरिष्ठ निर्देशक कमाल अमरोहीसित मीनाको भेट भयो । ३७ वर्षीय कमाल त्यसो त सन् १९३८ देखि नै चलचित्रमा सक्रिय थिए, सन् १९४९ मा प्रदर्शित अशोककुमार र मधुबाला अभिनीत सुपरहिट फिल्म ‘महल’ उनको पहिलो निर्देशित फिल्म थियो । उनले पहिलो पटक विल्किस बानुसँग र उनको निधनपश्चात् सायदा महमुदीसँग बिहे गरेका थिए । यसबीच मे २१ मा मीना महाबलेश्वरको सडक दुर्घटनामा परिन् जसमा बायाँ हातको कान्छी औंला गुमाउनुप¥यो । दुर्घटनामा परेपछि मीना पुणेको अस्पतालमा भर्ना भएकी थिइन् । मीनाको अभिनयकला र रूपबाट मोहित कमाल २–४ दिन बिराएर मुम्बैबाट पुणे पुग्थे र मीनाको लागि जुस लान्थे । कमालले त्यतिखेर उनलाई ‘अनारकली’ को लागि छनोट गरिसकेका थिए ।

तर, दुर्घटनाको कारण उक्त चलचित्रमा अभिनय गर्न नपाइने भयो भनेर मीना दुखी बन्न थालिन् । जब यो कुरा कमालले थाहा पाए, मीनाको हातमा ‘अनारकलीको’ अगाडि ‘मेरी’ थपिदिएर मनको अशान्तिलाई शान्त पारिदिए । कमालको यो व्यवहार र हेरचाह गर्ने तरिकाबाट प्रभावित नभइरहन सकिनन् र बिस्तारै प्रेम गर्न थालिन् । अस्पतालबाट फर्केको केहि दिनपछि नै गोप्यरूपमा दुवैले १४ फेब्रुअरी १९५२ मा निकाह गरे । मीनालाई थाहा थियो अलि बख्सले कमाललाई ज्वाइँको रूपमा कदापी स्वीकार्ने छैनन् किनभने उनी मीनाभन्दा १९ वर्षले जेठो मात्र हैन, विवाहित र छोराछोरीको बाबु थिए । भयो पनि त्यस्तै, अलि बख्सले थाहा पाउनेबित्तिकै दुबैलाई अलग्याउन खोजे तर मीना कमालको प्रेममा पागल बनिसकेकी थिइन् । अन्त्यमा, आफूले कमाएको सबै पैसा बाबुलाई छाडेर ४–५ वटा सारी च्यापी राति नै घर छाडिन् ।

बिहेपछि कमालको स्वभावमा एक्कासी परिवर्तन आयो । मीनाको क्यारियर राम्रोसँग चलिरहेको थियो । कमालमा पुरुषवादी सोच हावी भयो । मीनामाथि हैकम जमाउन शुरु गरे । घरबाट निस्कने र फर्कने समय निर्धारण गरिदिए । हरेक कुरोमा शंका गर्न थाले । मीनालाई आमा बन्नै दिएनन् । मीनाले घर परिवार चलाउन र परिवारभित्र सन्तुलन कायम गर्न हरसम्भव कोसिस गरिन् । सन् १९५४ मा ‘परिणिता’ मा सर्वश्रेष्ठ अभिनय गरेबापत मीनालाई फेरि अर्को फिल्मफेयर अवार्ड प्रदान गरिने भयो । कार्यक्रममा कमाल र मीना अघिल्लो पंक्तिमा संगै थिए । मीना अवार्ड लिन मञ्चतर्फ जाँदा आफ्नो पर्स कुर्सीमै छाडिन् । अवार्ड लिइसकेपछि सिधै घरतर्फ लागिन् । पछि अभिनेत्री निम्मीले उक्त पर्स मीनालाई घरमै पु¥याइ दिइन् । कमाल जब घरमा आइपुगे, मीनाले ‘मेरो पर्स देख्नुभएन र ? भनी सोध्दा कमालले जवाफ दिए ‘मैले पर्स देखेको थिएँ तर उठाइन किनभने मैले आज तिम्रो पर्स उठाएको भए भोलि तिम्रो जुत्ता पनि उठाउनुपर्ने हुन्थ्यो ।’

कमालको यो जवाफ मीनाको लागि असह्य बन्यो । दुवैबीच खटपट शुरू हुन थाल्यो । मीनाले एक्लोपन महसुस गर्न थालिन् र गजल लेखन र मदिरालाई जीवनको सहारा बनाइन् । यसैबीच उनको जीवनमा हिन्दी चलचित्र जगतमा पहिचान बनाउन कोसिस गरिरहेका अभिनेता धर्मेन्द्रको प्रवेश भयो (धर्मेन्द्र र मीनाको प्रेमकथा जनआस्थाको २०७४ सालको फागुण ९ गतेको अंकमा प्रकाशित भइसकेको छ) । एक दिन स्टुडियोको मेक अप रूममा गुलजारलाई प्रवेश गर्न दियो भनेर कमालका सहायक बाकर अलिले मीनाको गालामा चड्कन हाने । जब यो कुरो मीनाले सुनाइन्, कमाल चुप बसिरहे । यो घटनापछि मीना पनि कमालसँग नबस्ने निधोमा पुगिन् । एकदिन उनीहरूबीच ठूलै झगडा भयो, कमाल मारपिटमा उत्रे । र, अन्त्यमा, दशौं वर्षको खटपट दाम्पत्य जीवनपछि सन् १९६४ मा कमालले सजिलै ३ पटक तलाक तलाक भनी सम्बन्ध बिच्छेद गरे । मीनाले त्यतिखेर लेखेकी थिइन् ‘तलाक तो दे रहे हो नजर–ए–कहर के साथ, जवानी भी मेरी लौटा दो मेरे मेहर के साथ ।’

कमालले रिसको झोंकमा तलाक त दिए तर पछि पुनः मिलाप चाहे । मुस्लिम धर्मअनुसार तलाक दिइसकेकी स्त्रीसंग फेरी बिहे गर्न चाहेमा ’हलाला’ प्रथा निभाउनु पर्ने हुन्छ । त्यो भनेको सम्बन्धबिच्छेद गरेकी महिलाले अर्को पुरुषसंग बिहे गर्नु पर्ने र फेरि ऊबाट तलाक लिई पहिलाको लोग्नेसंग बिहे गर्न सकिने । कमालले त्यसै गरे । आफ्ना मित्र अमान उल्लाह (अभिनेत्री जीनत अमानका पिता) संग मीनाको बिहे गर्न लगाए । मीना जवर्जस्ती आफूले मन नपराएको पुरुषसित सुत्न बाध्य भइन् । केही दिनपछि दुवैबीच तलाक गर्न लगाइयो र पुनः मीनासँग बिहे भयो । कमालको यो रवैयाबाट मीनाको हृदय झन् छियाछिया भयो । उनले कलम उठाइन् र कापीमा लेखिन् ‘धर्मको नाउँमा मैले आफ्नो शरीर दोश्रो पुरुषलाई सुम्पनुप¥यो । म र वेश्यामा के फरक रह्यो ?’

कमालले मीनासँग फेरि बिहे त गरे तर धर्मेन्द्र र गुलजारसितको सम्बन्धलाई लिएर शंका गर्न र आरोप लगाउन छाडेनन् । यसरी लोग्नेबाट निरन्तर अविश्वास र प्रेमी धर्मेन्द्रबाट धोका खाएपछि फेरि मदिराकै सहारामा जीवन बिताउन थालिन् । कैयौं दिनसम्म घरबाटै ननिस्कने भइन् । सन् १९६८ पुग्दासम्ममा मीना सख्त बिरामी भइन् । कलेजोले काम गर्न छाडिसकेको थियो । लण्डन र स्विट्जरल्याण्डमा उपचारार्थ लगियो । चिकित्सकले धपेडी नगर्न भनेका थिए तर भारत फर्कनेबित्तिकै पुनः सुटिङमा सक्रिय बनिन् । फिल्म पाकिजाको सुटिङका दौरान थला परिन् र ३९ वर्षको कलिलो उमेरमा सन् १९७२ मा निधन भयो । उनको अन्तिम फिल्म ‘गोमती के किनारे’ थियो ।

टिप्पणीहरू