नाबालिगको व्याख्या पो गलत भयो कि ?

नाबालिगको व्याख्या पो गलत भयो कि ?

अभिनेता पल शाहमाथि लागेको किशोरी जबरजस्ती करणीको मुद्दा सेलाउन नपाउँदै क्रिकेटर सन्दिप लामिछानेको घटनाले अर्को तरंग ल्याएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिपमाथि नाबालिकामाथि एकै रात पटक पटक बलात्कार गरेको आरोप लागेपछि पक्ष र विपक्षमा सामाजिक सञ्जाल रंगिएको छ ।

उनले दिनभर नगरकोट घुमाएर केन्यातर्फ उड्ने अघिल्लो रात राजधानीको तिलगंगास्थित ‘काठमाडौं होटल इन’ मा पटक–पटक बलात्कार गरेको विवरण किशोरीकी दिदीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । भदौ ५ गते होटलको कोठा नम्बर ३०५ मा सुतेर रातको अन्दाजी १२ बजेर २५ मीनेटपछि पटकपटक जबरजस्ती करणी गरेको निवेदनमा लेखिएको छ ।

अघिल्लो मंगलबार सन्दिपविरुद्ध उजुरी पर्नुभन्दा केही समयअगाडि मात्र अभिनेता पललाई अदालतले अढाई वर्षको जेल सजाय सुनाएको थियो । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका उनलाई बाल यौन दुरूपयोगको कसूरमा जेलमै राखिएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार मुद्दामा शाहलाई निर्दोष ठहर गरे पनि बाल यौन दुरूपयोग कसूर मात्रै तोकेको हो । न्यायाधीश आचार्यको इजलासले शाहलाई अढाई वर्ष जेल सजायँ र १० लाख क्षतिपूर्ति दिन आदेश गरेको छ । त्यस्तै, २५ हजार जरिवाना पनि सुनाइएको छ ।

यस्तै, तनहुँ जिल्ला अदालतमा चलिरहेको पलविरुद्धको उही प्रकृतिको अर्को मुद्दाको पेसी सरेको छ । यसबीच गायक शिव परियारले सरकारलाई संबोधन गर्दै बलात्कारको विषयमा कडा आक्रोश पोखेका छन् । उनले ‘पेशेवर पीडित भनाउँदाहरूलाई व्यवस्थित गरी कारबाही गर्ने कुनै कानुनको धारा होला नि ?’ भन्दै सरकारलाई प्रश्नसमेत गरेका छन् । यता, नायिका रिमा विश्वकर्माले लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको विषयलाई लिएर प्रश्न उठाएकी थिइन् । एउटा अन्तर्राष्ट्रियस्तरको खेलाडीलाई दोषी प्रमाणित हुनुअगाडि नै कालोसूचीमा राखिनु न्यायपूर्ण नभएको उनको तर्क छ ।

नाबालिगलाई बलात्कार गर्नु जघन्य अपराध हो । उमेर नपुगेकी किशोरीलाई बलात्कार गर्नु त झनै संवेदनशील विषय हो । मुलुकी देवानी संहिता, २०७४, दफा २१९ को उपदफामा १ मा जबरजस्ती करणी गर्न हुँदैन भनिएको छ । यदि कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा त्यसलाई जबरजस्ती करणी मानिने कानुनमा उल्लेख छ ।

स्टार भन्दैमा मनलाग्दी र घीनलाग्दाे कार्यमा सरिक हुने, किशाेरीकाे शरीरमाथि  खेलबाड  गर्ने हक कसैलाई पनि छैन र हुँदैन ।

त्यसैगरी, दफा २२५ को उपदफा २ मा भनिएको छ, ‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविक ढंगबाट एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अंग छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग गरेको मानिनेछ ।’ सहमतिमा होस् वा असहमतिमा नाबालिगसँग शारीरिक सम्बन्ध स्थापित गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।

पछिल्लो समय नेपाली सेलिब्रिटीहरूले चेलीबेटीलाई फसाएका हुन् कि चेलीबेटीहरूले सेलिब्रेटीलाई भन्ने बुझ्न गाह्रो भएको कतिपयको धारणा छ । पल शाहकै अभियोगलाई व्याख्या गर्ने हो भने उनी अहिले अपराधी बनिसकेका छन् । हिजो उनको जुन ‘स्टारडम’ थियो उनी जेलबाट निस्केपछि त्यो अवश्य पनि ध्वस्त हुनेछ । एक कलाकारका रूपमा स्थापित पलको करियरमाथि कालो बादल मडारिएको छ । यता, सन्दिपको उदाउँदो करिअरसमेत त्यस्तै जोखिममा परेको छ । नेपाल क्रिकेट संघले निलम्बन गरिसकेको छ । नाबालिग करणीजस्तो गम्भीर आरोपमा मुछिएको हुँदा मुद्दा किनारा नलागेसम्म उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लिगमा सहभागी हुन पाउने छैनन् ।

आरोप लाग्नु मात्रै अपराध नभए पनि इज्जतमा एक पटक दाग लागेपछि उसलाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । छविमा लागेको दाग मेटाउन त्यति सजिलो पनि छैन । आरोप प्रमाणित हुनुअघि नै कोही कसैको नाम छरपष्ट हुँदा अन्तर्राष्ट्रिय जगतमा नेपालको समेत बदनाम भएको छ । अहिले सामाजिक सञ्जाल दुई भागमा विभाजित भएको छ । कोही सन्दिपको पक्षमा उभिएका छन् त कोही पीडित भनिएकी बालिकाको पक्षमा ।

आफ्नै रगतको नाताका व्यक्तिसँग भर पर्न नसकिने बेलामा ‘फ्यान’ हुँ भन्दैमा अपरिचित व्यक्तिसँग दिउँसोदेखि रातिसम्म घुम्न जानुभन्दा अगाडि किशोरीले पनि सोच्नुपर्ने थियो । दिनभर घुमे पनि रात परेपछि आफ्नो घर वा वासस्थान जाने कि होटल ? लगायत प्रश्नले सामाजिक सञ्जाल भरिएको छ । पीडित किशोरीको नाम आजसम्म गोप्य छ । तर अनुसन्धानअगावै अन्तर्राष्ट्रिय क्रिकेटरको नाम भने सार्वजनिक गरिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोख्नेहरूको जमात पनि कम देखिँदैन ।

यता, सन्दिपमाथि पनि थुप्रै सवाल उठेका छन् । ‘स्टार’ भन्दैमा मनलाग्दी र घीनलाग्दो कार्यमा सरिक हुने, किशोरीको शरीरमाथि खेलबाड गर्ने हक कसैलाई पनि छैन र हुँदैन । एक्काइसौं शताब्दीमा आइपुग्दा समेत हाम्रो समाज बलात्कारजस्तो जघन्य अपराधबाट मुक्त हुन नसक्नु अर्को लाजमर्दो विषय हो ।

नेपालमा साक्षरता दर बढे पनि, सूचना प्रविधिको विकास भए पनि सोही अनुपातमा बलात्कारका घटनासमेत बढेको बारे समाजशास्त्रीहरूले थप अध्ययन गर्नुपर्ने हुन्छ । पछिल्लो समय पढेलेखेका र जान्ने–बुझ्ने किशोर, किशोरीहरू नै बलात्कारमा मुछिएका छन् । आज विश्वले प्रविधिमा ठूलो फड्को मारेको छ । सूचना प्रविधि र इन्टरनेटको विकासले बालबालिकाहरू निकै जान्ने भएका छन् ।

केही समय अघिसम्म रुमालचोर, चुङ्गी, गट्टा, लुकामारीजस्ता खेल खेल्ने बालबालिका आज फेसबुक, टिकटक, इन्स्टाग्राम, स्न्यापच्याटजस्ता एपमा झुण्डिने किशोर किशोरी भएका छन् । दुर्गम क्षेत्रका बालबालिकाका हातमा पनि मोबाइल, ल्यापटप, कम्प्युटर, भिडियो गेमहरू पुगेका छन् । पहिलेको तुलनामा अहिले बलात्कारका घटना बढ्नुलाई सबै कोणबाट व्याख्या गरिनुपर्ने अवस्था बन्दै गएको छ ।

योसँगै जबरजस्ती करणीको परिभाषा बुझ्न सकस पर्न थालेको भन्नेहरू पनि छन् । कसैमाथि रिस उठ्यो कि बलात्कारको आरोप लगाउने क्रम बढेको छ । अघिल्लो दिन हाँसीखुसी राजी भएर सहवास बसेको जोडी भोलिपल्ट जबरजस्ती करणी ग¥यो भन्दै प्रहरीमा उजुरी दिन पुग्छन् । केटी बलात्कृत हुन्छ, केटा बलात्कारी ठहरिन्छ । पहिलेभन्दा अहिलेका किशोरकिशोरीहरूमा परिपक्वता पनि छिटै नै आउँछ ।

शारीरिक रूपमा १३–१४ वर्षमा किशोरकिशोरीहरू परिपक्व हुन्छन् भने मानसिक र बौद्धिकताको विकास भइरहेको हुन्छ । १७–१८ वर्षमा किशोरकिशोरीहरू धेरै चेतनशील भइसकेका हुन्छन् । किताबले पढाएको पाठ र समाजले दिएको शिक्षाले उनीहरूलाई धेरै कुरा सिकाइसकेको हुन्छ । प्रायःजसोले १६ वर्षमा आफ्नो विद्यालय शिक्षा पूरा गरिसक्छन् । १७ वर्षमा कलेज पुगिसकेका हुन्छन् । यस्तोमा पनि नाबालिग भनेर संबोधन गर्नु कत्तिको जायज छ ? क्याम्पस पढ्दासम्म सही र गलतबीच भिन्नता छुट्याउन नसक्ने हो भने कहिले परिपक्वता आउँछ ? अहिले नाबालिग भनेर कुन उमेर समूहलाई भन्ने विषयमा समाजमा बहस चलेको छ ।

नेपाली मुलुकी ऐनले यसअघि नाबालिग उमेरलाई १६ वर्ष कायम गरेको थियो । मुलुकी ऐनको व्यवस्थालाई उल्टाएर २०७४ मा ल्याइएको संहितामा यो हद १८ वर्ष कायम गरिएको छ । तर, नेपालमा नाबालिगको उमेर बढाइएपछि सकारात्मकभन्दा पनि नकारात्मक परिणामहरूले व्यापकता पाएको छ । बालविवाह र बलात्कार मुद्दामा जेल जानेको संख्या धेरै देखिन थालेको छ । यौनसम्बन्ध राख्ने क्रममा दुवै किशोर–किशोरीको सहभागिता भए पनि केटोलाई बलात्कारी र केटीलाई बलात्कृत ठहराउने गरिएको छ । सोही कारण किशोरहरू सजायको भागिदार बनिरहेका छन् ।

यतिखेर नेपालको कानुनमा भएको १८ वर्षे नाबालिगको व्यवस्थालाई किशोर कतिपय किशोरीले नै खिल्ली उडाइरहेका छन् । सरकारले नाबालिगको उमेर हद र हद म्याद बढाएपछि ‘बलात्कारका घटना’ झन् धेरै बढिरहेको छ । विवाह गर्ने उमेर हद बढाएपछि नाबालिगको उमेर पनि बढाइएको वरिष्ठ अधिवक्ता शशी अधिकारीको भनाइ छ ।

विवाह गर्न २० वर्ष हुनैपर्ने भएकाले नाबालिगको उमेर बढाएर १६ बाट १८ बनाइएको उनी बताउँछिन् । ‘विवाह गर्ने उमेर बढाएपछि नाबालिगको उमेर बढाइएको हो, अन्य मुलुकमा पनि यही व्यवस्था छ ।’ वैवाहिक बलात्कारको कानुनसमेत बनिसक्दा नाबालिगको उमेर हद घटाउनुपर्छ भन्नु सान्दर्भिक नभएको उनको तर्क छ ।

अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिलेको कानुनलाई गलत भन्न नमिल्ने बताए । बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमै १८ वर्ष तोकेकाले नेपालमा समेत उही कानुन अनुमोदन गरिएको उनको भनाइ छ । लामो समयको अध्ययनपछि कानुन संशोधन गरिएको त्रिपाठी बताउँछन् । ‘सारा दुनियाँ एकातिर र नेपाल अर्कोतिर नहोस् भनेर कानुन संशोधन गरिएको हो’, उनले भने । एक–दुई वटा सेलिब्रिटीको घटना हेरेर कानुनलाई गलत ठहराउनु उचित नभएको वरिष्ठ अधिवक्ता त्रिपाठीले सुनाए ।

नेपाल र भारतमा नाबालिगको उमेर १८ वर्ष तोकिएको छ । बंगलादेशमा १४ र जापानमा १३ वर्षसम्म नाबालिग हुन्छ भन्ने मान्यता छ । त्यसैगरी, अमेरिकाले राज्यअनुसार १६ देखि १८ र बेलायतले पनि १६ वर्ष कायम गरेको छ ।

टिप्पणीहरू