हिजो शीतल निवास नगएका प्रधानसेनापतिलाई बालुवाटारबाट बोलावट

हिजो शीतल निवास नगएका प्रधानसेनापतिलाई बालुवाटारबाट बोलावट

हिजो दिउँसो नेपाली सेनाको मुख्यालय भद्रकालीमा चार वटै सुरक्षा अंगका प्रमुखहरुको आकस्मिक भेला बोलाइयो । सेनाको परमाधिपति समेत रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगई जंगी अड्डाको आकस्मिक छलफलमा सुरक्षा अंगका प्रमुखहरु जुटेका थिए ।

सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई हिजो प्रेस काउन्सिलको ५३ औं वार्षिकोत्सव कार्यक्रममा निम्तो गरिएको थियो । तर उहाँहरुको त्यही समय पारेर जंगी अड्डामा भेला भयो ।

जंगी अड्डाको भेलामा नागरिकता विधेयकमा देखिएको लफडाका कारण आगामी चुनाव र शान्ति सुरक्षामा पर्न सक्ने असरबारे कुराकानी भएको स्रोतले बताएको छ ।

आज बिहान अकस्मात प्रधानसेनापतिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाउनुभएको छ । उहाँहरुबीच बिहान पौने १० बजेदेखि साढे १० बजेसम्म भएको कुराकानीको विस्तृत विवरण बाहिर आइसकेको छैन ।

उता नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण नभएको सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटहरुमाथि आज एकल इजलासमा सुनुवाई हुन लागेको छ । आजको इजलासले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने सम्भावना प्रवल रहेको बताइन्छ ।

अर्कोतर्फ आगामी शुक्रबारपछि दशैंको लामो बिदा शुरु हुँदैछ । अन्य कार्यालय फूलपातीको दिनदेखि बन्द भएर टीकाको तेस्रो दिन खुले पनि अदालत घटस्थापनादेखि पूर्णिमाको दिनसम्म बन्द हुने प्रचलन छ । यसले पनि तत्काल कानुनी उपचारको निम्ति हालिएका रिट निवेदन प्रभावित हुने निश्चित छ ।

त्यसैगरी यसबीच कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अवकास पनि यही बिदाको बीचमा हुँदैछ । यी सबै सन्दर्भलाई विश्लेषण गर्दा कानुनी र संवैधानिक परिस्थितिको गाँठो फुकाउनेतिर भन्दा पनि कसिलो हुनेतर्फ अघि बढेको अनुमान लगाउन सकिन्छ ।

टिप्पणीहरू