चुनावको १५ दिनअघि जाँड रक्सी बन्द

चुनावको १५ दिनअघि जाँड रक्सी बन्द

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले विभिन्न तयारी थालेको छ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गर्न–गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृहले त्यस्तो निर्देशन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सबै जिल्ला प्रशासन कार्यालयलाई दिएको हो । भदौ ३० गते लेखिएको पत्रमा शाखाले मतदानको मितिभन्दा १५ दिनअगाडिको प्रचारप्रसार अवधिमा नै मदिरा बिक्री वितरण र सेवनमा पूर्ण रोक लगाउन भनिएको छ ।

‘निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन, मतदानको मितिभन्दा १५ दिन अगाडिको प्रचारप्रसार अवधिमा मदिरा बिक्री वितरण र सेवन गर्न निषेध गर्ने’ निर्णय आवश्यक कार्यार्थ निर्देशन भई आएको हुँदा उक्त निर्णय कार्यान्वयन गर्न गराउनुहुन आदेशानुसार अनुरोध छ’, पत्रमा लेखिएको छ ।निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता कडाइका साथ पालना हुनुपर्ने भन्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिले गत भदौ २८ गते गृह मन्त्रालयलाई लिखित जानकारी गराएको थियो ।

टिप्पणीहरू