बालुवाटारमा कांग्रेसको चाप,मन्त्री उभिएपछि चुपचाप

बालुवाटारमा कांग्रेसको चाप,मन्त्री उभिएपछि चुपचाप

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहानैदेखि सत्ता गठबन्धनको बैठक चलिरहेको थियो । आजको बैठकमा पनि सीट बाँडफाँडको टुंगो लगाउने भन्दै नेताहरु कम्मर कसेर सहभागी भएका थिए । सोही बेला विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ता छिरे ।

ती सबै सीट बाँडफाँडको विषय बोकेर आएका प्रतिनिधिहरु भएको बताइन्छ । तीमध्ये दाङका प्रतिनिधि भने निकै आक्रोशित देखिन्थे । उनीहरुले नेपाली कांग्रेसले कुनै हालतमा गठबन्धन गर्न नहुने आवाज उठाए । उनीहरुको तर्क थियो, ‘सरकारमा गठबन्धन एउटा कुरा होला । शीर्ष नेताहरुले पार्टीको छवि नै धुमिल बनाएर निर्वाचनको निम्ति गठबन्धन गर्दा सबै कार्यकर्ताको मुख बन्द भएको छ ।’

एक जना नेतृ भन्दै थिइन्,‘यदि गठबन्धन नगर्ने हो भने चुनावपछि माधव नेपालको हालत रविन्द्र मिश्रको जस्तै हुनेछ भने प्रचण्ड कमल थापाको स्तरमा झर्नेछन् । तर के गर्नु,हाम्रा नेताहरुको बुध्दि छैन !’

दाङकी ती महिलाका अनुसार जिल्लामा हिजो कांग्रेसको मत २८ हजार थियो,अहिले झन बढेको छ । स्थानीय निर्वाचनमा माओवादीलाई टिकट दिँदा १२ हजार मत भएको ऊ विजयी भएको तर आफूहरुले पराजयको मानसिकतामा बाँच्नु परेको उनको भनाइ छ ।

एक जना नेतृ भन्दै थिइन्,‘यदि गठबन्धन नगर्ने हो भने चुनावपछि माधव नेपालको हालत रविन्द्र मिश्रको जस्तै हुनेछ भने प्रचण्ड कमल थापाको स्तरमा झर्नेछन् । तर के गर्नु,हाम्रा नेताहरुको बुध्दि छैन !’

अहिलेको गठबन्धन कालान्तरसम्म नचल्ने ठोकुवा पनि काँग्रेसी कार्यकर्ताहरुले बालुवाटारमै गरेका छन् । उनीहरुले यसको ग्यारेण्टी दुई प्रतिशत पनि नभएको बताए । ‘यस्तो वास्तविकता हुँदाहुँदै किन ५ वर्षको निम्ति नेताहरुले जोखिम मोलेको ?’ उनको प्रश्न छ ।

उनीहरुले प्रचण्डको विश्वास गर्न नहुने,उनी असारमास जस्तै भएको र आगामी दिनमा एमाले तथा उसका अध्यक्ष केपी शर्मा ओलीसँग साँठगाँठ गर्नसक्ने सम्भावना रहेको भन्दै कटाक्ष गरेका थिए । ‘यो गठबन्धन कम्युनिष्टहरुको चालबाजी हुन सक्छ । कांग्रेस सिध्याउने खेल पनि हुन सक्छ ।’

उनीहरुले पार्टी नेतृत्वप्रति आशंका व्यक्त गर्दै अहिलेको अवस्थामा नेताहरुले कार्यकर्तालाई सडकमा जान उकास्न नहुने जिकीर गरेका छन् । ‘अहिले राष्ट्रपतिविरुध्द प्रदर्शन गर्दा भोलिका दिनमा पार्टीलाई घात हुने निश्चित छ,’ काँग्रेस कार्यकर्ताको निश्कर्ष सुनाउँदै एक जनाले भने ।

बालुवाटार परिसरमा कार्यकर्ताले यस्तै गन्थन गरिरहँदा सञ्चारमन्त्री बैठककै बीचमा राष्ट्रपतिको पछिल्लो कदम र बैठकले गरेका निर्णय सार्वजनिक गर्न निस्किए । कार्यकर्ताको खासखुस कम भयो । त्यसपछि उनीहरु नै साँझ टेलिभिजनको स्क्रिनमा देखिनेगरी मन्त्रीको पछाडि उभिन तँछाड मछाड गर्दै गरेको दृश्य अरुले कैद गरेका थिए ।

टिप्पणीहरू