कर्मचारीबीच खेल, बाबुरामको ठेलमठेल

कर्मचारीबीच खेल, बाबुरामको ठेलमठेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल दूरसञ्चार कर्मचारी संघको अधिवेशन भदौ २२ गते विराटगरमा सम्पन्न भएको छ । अधिवेशनमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले शुभेच्छा मन्तव्य दिएका थिए । करिब ३५० जना प्रतिनिधि मतदाता रहेको सो संघमा मोहन फुयाँलले जितेका छन् । उनले रामजी पन्तलाई १५ मतको अन्तरले पराजित गरेका थिए ।

दूरसञ्चार बोर्डमा कर्मचारीको तर्फबाट गराइने प्रतिनिधित्वको लागि सत्तारुढ गठबन्धनका तर्फबाट शिव पोखरेलले एमाले उम्मेदवार यादव पनेरुलाई पराजित गरेका छन् । सत्ताधारी मिल्दा एमालेले सबैजसो पेशागत संघसंस्थामा वर्चश्व गुमाउँदै गएको छ । पनेरु विराटनगर अधिवेशनपूर्व दूरसञ्चार कर्मचारी संघका अध्यक्ष थिए ।

त्यसैगरी वाणिज्य बैंक कर्मचारी संघको ३० र ३१ गते पोखरामा हुने अधिवेशनमा अहिलेका महासचिव लक्ष्मी पाण्डे अध्यक्षमा उठ्ने भएका छन् । उनीविरुद्ध अहिले कार्यवाहक अध्यक्ष रहेका सुदूरपश्चिमका रामप्रसाद जोशीलाई उभ्याउने तयारी छ । पाण्डे छैंठौं तहका कर्मचारी भए पनि कर्मचारीबीच लोकप्रिय मानिन्छन् भने आठौं तहको आईटी विज्ञका रूपमा रहेका जोशी अलिक कमजोर ठानिएका छन् । जोशीका पक्षमा अध्यक्ष केपी शर्मा ओली पक्षधर भनेर चिनिने पेशागत महासंघका कार्यवाहक संयोजक बाबुराम थापाले भोट माग्न थालेका छन ।

पेशागत महासंघका अधिकांश पदाधिकारी र सदस्यहरूले पार्टी विभाजन हुँदा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पक्षमा महासंघको कार्यालय भवन कब्जा जमाएका छन् । त्यसबेला अध्यक्ष ओलीले बाबुराम थापालाई कार्यवाहक संयोजकको जिम्मेवारी दिएका थिए । संयोजकको जिम्मेवारी पाएका थापाले दुई वर्ष बितिसक्दा पनि एक पटक केन्द्रीय समितिको बैठक बोलाउन सकेका छैनन् ।

पेशागत महासंघको केन्द्रीय समिति ३०० जनाको छ । विधानमा महासंघ सञ्चालनको लागि स्थायी समिति, पोलिटव्यूरो, सचिवालय र कार्यालयको व्यवस्था गरिएको भए पनि थापाले कुनै संरचना निर्माण गर्न चासो समेत नदिएको बताइन्छ । केही कर्मचारी नेताकाअनुसार उनकै अकर्मण्यताले गर्दा एकीकृत समाजवादी पक्षधर कर्मचारीहरूले महासंघको भवन कब्जा जमाउन सकेका हुन् ।

टिप्पणीहरू