घुमेर फर्किए पत्रकार बेलायतमा अझै भाँडभैलो

घुमेर फर्किए पत्रकार बेलायतमा अझै भाँडभैलो

अगष्ट तेस्रो साता नेपालबाट लण्डन घुम्न आएका थिए एक हुल पत्रकार । टोलीमा हिमालय टेलिभिजनका राजेन्द्र बानिया, जीवराम भण्डारी (योहो टिभी), टीकाराम यात्री (एपीवान), विक्रम श्रेष्ठ (योहो टिभी), निमेश बञ्जाडे (ग्यालेक्सी टिभी), दिवाकर ज्ञवाली (मेघा टिभी) लगायत थिए । गायक योगेश्वर अमात्य र जेम्स प्रधान पनि भ्रमणमा सामेल थिए ।

एनआरएनए यूकेको कागजात र गायक योगेश्वर अमात्यको खर्चमा पत्रकारहरूलाई बेलायत भ्रमणको अवसर मिलेको हो । उनीहरूको उद्देश्य घुम्ने, ब्लयाक टाइ एउटा कार्यक्रममा सामेल हुने र नेपाली समुदायसँग घुलमिल हुने थियो ।

नाम चलेका पत्रकारहरूले एकाएक चर्चाको शिखरमा पु¥याइदिन्छन् भन्ने विश्वासमा रहेका बेलायतस्थित नेपालीले सम्मानमा कन्जुस्याईं पनि गरेनन् । ख्वाउने, पिलाउने, सपिङ, घुमघाममा कुनै कमी भएन । मस्त स्वाभावका योगेश्वर अमात्य भएपछि मस्ती नहुने कुरै थिएन । पत्रकारहरूको सम्मानमा एक सप्ताहान्त लण्डनमा ‘ब्ल्याक टाइ डिनर’ कार्यक्रम गरियो । उक्त कार्यक्रमका संयोजक थिए सुवाषसिंह गुरुङ ।

भूतपूर्व गोर्खा सैनिक तथा तमुधिं यूके पूर्व अध्यक्ष गुरुङले जनही एकसय पाउण्ड टिकट शुल्कबाहेक प्रायोजक र संघसंस्थाबाट हजारौं पाउण्ड आफ्नै निजी खातामा ल्याए । करिब दुई सय जना सहभागीको टिकट शुल्क र प्रायोजनबाट झण्डै तीस हजार पाउण्ड उठाइएको अनुमान छ । भागबण्डामा पत्रकारहरूले खासै नपाएको बरु संयोजक सुवाषसिंह गुरुङले नै ‘मह काट्दा मज्जाले हात चाटेको’ चर्चा सुनिन्छ ।

कार्यक्रम गरेर भ्रमण खर्च जुटाउने आइडिया योगेश्वर अमात्यको थियो । आफूले शुरुमा हालिदिएको टिकट खर्च डिनर कार्यक्रम गरेर उठाउनु र बचेको पैसा आफैंले खाए हुन्छ भन्ने योगेश्वरको आश्वासनले सुवाष पैसा माग्न कस्सिएका थिए । उनले एकजनालाई पनि उधारो र ‘कम्प्लिमेन्ट्री’ टिकट दिएनन् बरु डिनरमा आउन नसके खातामा पैसाचाहिँ हालिदिनु प्लिज भनेर अनुनय नै गरे । यी र अन्य यस्तै विविध कारण विवादरहित हुन सकेन डिनर नाइट ।

जुन उद्देश्यका लागि पत्रकारहरूको बेलायत भ्रमण र कार्यक्रम गरिनु पर्ने हो, त्यो नगरी व्यक्तिगत लाभमा डिनर कार्यक्रम केन्द्रित भएको, आर्थिक पारदर्शीता नभएको, बेलायतको अध्यागमन नियमविपरीत पब्लिक फण्ड संकलन गरिएको र आफूमाथि अपमान भएको भनी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले कार्यक्रम संयोजक सुवाषसिंह गुरुङसहित अन्य आयोजकमाथि प्रश्न नै उठाएका थिए ।

एनआरएनए यूकेले नेपाल र बेलायतको ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपालका पत्रकारलाई आमन्त्रण गर्न १९ अप्रिल २०२२ मा पत्र लेखेको भए पनि ‘ब्ल्याक टाइ डिनर’ कार्यक्रम भ्रमणको उद्देश्यविपरीत व्यापार केन्द्रित भएको आरोप लगाउँंदै गाहामगर रिसले आगो भएका थिए ।

बेलायतस्थित नेपाली समुदायका हरेक व्यक्तिसँग पैसा उठाउँदै कार्यक्रम गर्नेबारे आफूहरूसँग कुनै परामर्श नगरिएको भन्ने आक्रोश पनि गाहामगरले पोखेको स्रोतले बतायो । उक्त डिनर कार्यक्रम गर्न संयोजक सुवाषसिंह गुरुङ र सदस्यहरूमा ह्यारी गुरुङ, किशोर राना, दीपक श्रेष्ठ, श्रीचन्द्र गुरुङ, ओजेश डंगोल, एलबीजेड गुरुङ खटिएका थिए ।

टिप्पणीहरू