हत्या प्रकरणले वर्षमानसँग फुपू हैरान

हत्या प्रकरणले वर्षमानसँग फुपू हैरान

माओवादी केन्द्रका प्रभावशाली नेतालाई गालामा हिर्काउन आफ्नै वृद्ध फुपूले कुरिरहेको ५ वर्ष भयो तर उनका लागि त्यो संयोग अहिलेसम्म जुरेको छैन ।

रोल्पाको खोलावारि र पारि गाउँ भएका नेता वर्षमान पुन र उनकी ७७ वर्षीया फुपू गिरी पुन एउटै पालिकाका बासिन्दा । माओवादीको हट स्पट मानिने रोल्पाबाट उदाएका, जनयुद्धकालमा माओवादीको डेपुटी कमाण्डर पुन र फुपूबीच कुनै कलह थिएन तर ०७५ सालको प्रतिनिधि सभा निर्वाचनताका फुपूका छोरा रोहित पुन (वर्ष ३०) को माओवादीबाटै हत्या भएपछि कलह शुरु भएको हो ।

रोहित नेपाली कांग्रेसनिकट भ्रातृ संगठन तरुण दलका जिल्ला अध्यक्ष थिए । बृद्धा गिरीले छोराको हत्यापछाडि बर्षमानको हात रहेको आशंका गरेकी छन् । उनले वर्षमानका ८ जना मान्छेले रमाइलो र घुमघामका लागि भन्दै रोहितलाई फकाएर लगी अमानवीय यातना दिएर हत्या गरेको बताइन् ।

रोहितको हत्यापश्चात् दाङ पुनरावेदन अदालतबाट सजायँ पाएर रोल्पा कारागारमा आजीवन जन्मकैद भुक्तान गरिरहेका देवबहादुर घर्ती राजनीतिक पावर र दादागिरी देखाएर त्यहाँको चौकीदार बनेका छन् । त्यहीँबाट रोहितको परिवारलाई म जेलबाट त निस्कुँ, तिमीहरूलाई देखाउँछु भनेर धम्क्याउने गरेको फुपू गिरी बताउँछिन् ।

देवबहादुर, वर्षमान र हत्या गरिएका रोहित पुनबीच हाडनाताको सम्बन्ध छ । हत्या प्रकरणमा जोडिएका अन्य ७ जनालाई वर्षमानले संरक्षण गरिरहेको फुपूको आशंका छ । माओवादीको त्रासबाट अन्य जिल्ला मुक्त भए पनि रोल्पालगायत केही जिल्लामा अझै धङधङी बाँकी नै छ ।

केही दिनअगाडि रोहित–पत्नी लालकुमारी सिंहदरबारस्थित गृह मन्त्रालयमा छिरिन् र उपसचिव शेखर पौडेललाई भेटेर देवबहादुरले धम्क्याउने गरेका कारण उनलाई रोल्पा कारागारबाट अन्यत्र सारिदिन हार गुहार गरिन् ।

टिप्पणीहरू