कसले हात उठाए, कहाँबाट महिलाको नाम छुटाए

कसले हात उठाए, कहाँबाट महिलाको नाम छुटाए

यही नेपाल हो, जहाँ अधिकांश पदासिन व्यक्तिहरू जीवनको उत्तरार्धसम्म पदसहित जाने लालचमा बाँचेका छन् । तर, एमालेका केही नेता भन्दै छन्, ‘पदले पुग्यो, अब उठ्दिनँ !’

खासमा पदले पुगेर हैन, ‘म अपमानित भएँ’ भन्न नसकेर केही कमरेड अहिलेको चुनावी दौडबाट पछाडि हटेका हुन् भनिन्छ । विशेषतः आखिरी कदममा माधवकुमार नेपाल, झलनाथ खनालहरूको साथ छाडेका र एमालेमै रहेर पनि अपमानित महसुस गरिरहेका ती नेताले अपमान भयो भन्न नसकेर कार्यकर्ताको चित्त बुझाउन ‘चुनाव नलड्ने आफ्नै इच्छाका कारण’ सिफारिसमा नपरेको भन्न थालेका छन् । अन्तिममा पार्टी विभाजनतिर नजानेहरूको पनि एमालेले वर्गीकरण गरेको छ । केपी ओलीलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भनी सर्वोच्च अदालतमा परमादेश माग्न गएका भीम रावल, घनश्याम भुसालसहित एकथरि छन् । परमादेश नमागे पनि लामो समय माधव–झलनाथहरू अर्कातिर छन् । यीमध्ये ओली परमादेश माग्नेहरूप्रति अलिक बढी अनुदार र परमादेश माग्न नगएका योगेश भट्टराई, सुरेन्द्र पाण्डेहरूप्रति अलिक उदार देखिनुभएको छ ।

यसमध्ये परमादेशमा नगएकी एकजना हुन्, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । तर, आफ्नो खास मानिस तेस्र्याएर ‘अपमान’ गरिँदा दौडबाट बाहिरिइन् । उनी २०५१ सालदेखि नै लड्दै आएको काठमाडौंको क्षेत्र नंं ८ बाट यसचोटि राजेश शाक्य सर्वसम्मत सिफारिसमा परेका छन् । अष्टलक्ष्मीबाहेक अरु थुप्रै योग्य नेता त्यहाँ नभएका हैनन् । यसपछि अष्टलक्ष्मीको चाहना थियो, समानुपातिकमा पर्ने । तर, ओलीले युवालाई महत्व दिने नाममा सम्भवतः उनलाई समानुपातिक सूचीमा पनि समेट्दै छैनन् ।

त्यही समूहका अर्का नेता घनश्याम भुसालमाथि ०७४ को स्थानीय निर्वाचनसम्म उनकै पक्षबाट रूपन्देहीको तिलोत्तमा नगरमा मेयर बनाइएका बासुदेव घिमिरेसँग पौंठेजोरी खेल्दै टिकट सुनिश्चित गर्नुपर्ने बाध्यता । थाहा छैन, पदका लागि झैझगडामा उत्रिने बानी नभएका घनश्याम आफ्नै दौँतरीसँग कुस्ती खेल्दै उम्मेदवार बन्लान् कि नबन्लान् ? रूपन्देहीका नेताहरूले भन्ने गरेका छन्, ‘घनश्यामलाई सिफारिसमै नहालेपछि उनी कराएर खपिनसक्नु हुन्छ, त्यसैले २२ गतेसम्म मुख बन्द गर्नलाई सिफारिस पठाइएको हो ।’ उनको निर्वाचन क्षेत्र नं. ३ मा तिलोत्तमाका जम्मा तीन वडा मात्र पर्छन् । नगरपालिका क्षेत्रमा लोकप्रिय भन्ने नाममा बासु अगाडि सारिए पनि बाँकी ग्रामीणभेगमा उनको खासै प्रभाव छैन भनिँदैछ ।

कञ्चनपुर जिल्लामा निरु पाललाई ‘तयार हुनु है’ भनिकन डा.दिपकप्रकाश भट्टसहितका नेताको नाम सिफारिस गरिएको छ । त्यसो त केही त्यस्ता नेता कतै–कतै सर्वसम्मत सिफारिसमा पनि परेका छन् । तिनले उम्मेदवारी पाउलान्, नपाउलान् भन्ने कुरा बुझ्न असोज २३ पर्खिनुबाहेक विकल्प छैन । तर, भीम रावल अछामबाट सर्वसम्मत भएका छन् । यदि एकीकृत समाजवादीले श्रम मन्त्री शेरबहादुर कुँवरलाई उठाएन भने रावलले जित्ने सम्भावना छ । तर, बालकोटले झपट बोहोरालाई मैदान नछोड्न भनेको बताइन्छ । यदि त्यहाँबाट भीम उठ्ने र शेरबहादुुर नउठ्ने हो भने पार्टी विभाजनको असर शून्य हुन्छ । किनभने, समाजवादीहरूले पनि भीम रावललाई छोडेर कांग्रेसका गोविन्द शाहहरूलाई भोट हाल्दैनन् ।

१० भाइ पक्षधर रविन कोइराला झापा १ बाट सर्वसम्मत भएका छन् । यो सर्वसम्मतले योगेश भट्टराईलाई अप्ठेरो पारेको छ । उनलाई यसचोटि ताप्लेजुङमा लिम्बू समुदायले स्वीकार्ने सम्भावना क्षीण हुँदै गएको छ । त्यसो भयो भने विकल्प हो, झापा– १, तर त्यहीँ उनकै हितैषी रविन सर्वसम्मत भएका छन् । नुवाकोटमा परमादेश माग गर्नेमध्येका नारायण खतिवडाको सर्वसम्मत सिफारिस भए, सिन्धुलीबाट पनि केशव पाण्डेको कुरा आएको छ । ओली कार्यकालका १३ दिने संघीय मामिलामन्त्री गणेश पहाडीले जसो गर्दा पनि उम्मेदवारी सिफारिस नहुने देखेपछि हात उठाए । पाल्पामा दलबहादुर रानाको त्यस्तै भयो । चाहेर पनि नवलपरासीबाट बैजनाथ चौधरी सिफारिसमा पर्न सकेनन् । युवराज ज्ञवाली दाङ ३ बाट यसरी सिफारिसमा परेकी, उच्छृङ्खल गायिका कोमल वलीले उठ्न चाहिनन् भनेमात्रै टिकट पाउने गरी !

ठाकुर गैरे एकल सिफारिसमा त परे, तर दलबहादुर रानाले सहयोग गरेनन् भने पाल्पामा अप्ठेरो छ । चितवनबाट सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल सर्वसम्मत हुन सकेनन् । सुरेन्द्रको ठाउँमा जेएन थपलिया र कृष्णभक्तको ठाउँमा देवी ज्ञवाली खडा भएका छन् । माधव–झलनाथका मान्छे यो हालतमा पुग्दा ओली समूहकै उपगुटको झगडा देखियो, गण्डकी प्रदेशमा । आगामी मुख्यमन्त्री सुनिश्चित गर्ने नाममा पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रदेशसभामा दोहोरिने भएपछि कास्कीबाट खगराज अधिकारीले पनि मुख्यमन्त्रीकै अभिलाषा राखेर प्रदेश रोजेका छन् ।

धेरैजसो महिलालाई समानुपातिकबाट संसदमा लैजान सकिने कारण भूगोलमा तिनको सिफारिस उल्लेख्य भएन । धेरै चर्चामा आएकी राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरणको पनि नाम आएन । सर्वसम्मत सिफारिस भएका महिलामा स्याङ्जाबाट केन्द्रीय सचिव पद्मा अर्याल, झापाबाट पवित्रा निरौला खरेल र सुनसरी– ३ बाट भगवती चौधरी हुन् । नत्र, शिवमाया तुम्बाहाङ्फे, थममाया थापाजस्ता सिनियर महिलाहरूको नाम पनि सर्वसम्मत भएको छैन । बिन्दा पाण्डे दुबैभन्दा सिनियर हुन् । तर, कतैबाट नाम आएन । बरु, रघुवीर महासेठकी पत्नी तथा धनाढ्य उपेन्द्र महतोकी बहिनी जुलीकुमारी धनुषाबाट सर्वसम्मत सिफारिसमा परेकी छन् ।

टिप्पणीहरू