केपी ओलीका कारण प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नभएको माधव नेपालको दाबी

केपी ओलीका कारण प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नभएको माधव नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको कार्यकाल सन्तोषजनक नभएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरू कुरा गर्दै उहाँले जनताका मुद्दा स्थापित गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसद्को कार्यकाल प्रसंसायोग्य नरहेको बताउनुभएको हो ।

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम, व्यक्तिवादी चरित्र र अहंकारका कारण मुलुक अन्योलतामा फसेको उहाँको भनाइ छ । पछिल्लो समय सिंगो राजनीतिक शक्ति संसद जोगाउनेतर्फ केन्द्रित हुनु परेकाले सोचेजस्तो प्रभावकारी काम हुन नसकेको अध्यक्ष नेपालले बताउनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा रहेकोसमेत उहाँले दाबी गर्नुभयो । मुलुकको विकास र सुशासनका हिसाबले विगतको पाँच वर्ष उपलब्धिमूलक हुन नसकेको तर देशलाई सम्भावित ठूलो दुर्घटनाबाट जोगाउन सफल भएको भन्दै नेपालले सन्तोष व्यक्त गर्नुभयो ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल भोलि मध्यरातदेखि समाप्त हुने बताएको छ । तथापि सभाको कार्यकालबारे कानुनी विवाद यथावत छ ।

टिप्पणीहरू