पाहुना आउँदा पुरानो तुष प्रकट

पाहुना आउँदा पुरानो तुष प्रकट

आएका छन्, विदेशी पाहुना । तुष पोखियो, पुरानो झगडाको । चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्सुको काठमाडौं भ्रमणमा नेकपाको विवादकालीन समयका तुष पोख्ने काम भएको छ ।

त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटालाई नबोलाई अध्यादेशमार्फत् कानुन उल्टाएर राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायाधीश चोलेन्द्रसमशेरसँग मिली आफूखुशी ५२ भाइको नियुक्ति र २ पटकसम्म प्रतिनिधिसभा विघटन गर्नुभयो । अहिले लि चान्सुको भ्रमण भैरहँदा ओलीपक्षीय राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिना र सभामुखको पुरानो विवाद प्रकट भएको छ ।

नेपाल र चीनबीच अस्ति अन्तर संसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कुराको सूचना राष्ट्रियसभा अध्यक्ष तिम्सिनालाई दुई दिनअघिसम्म थिएन । चान्सु काठमाडौं उत्रिनु दुई दिनअघि सभामुखले फोन गरेर तिम्सिनालाई भ्रमणबारे सुनाउनुभयो र लगत्तै उहाँको सचिवालयले भेटघाट एउटा होटलमा हुने खबर दियो ।

तर, सभामुखसँगको भेट पाहुनाले नेपाल टेकेकै दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै राख्ने, राष्ट्रियसभा अध्यक्षलाई चाहिँ सोल्टी होटलमा बोलाउने कुरामा उहाँको सचिवालयले आपत्ति जनायो । त्यहाँबाट फोन गर्नेले चिनियाँ दूतावास र हाम्रै परराष्ट्रका अधिकारीलाई भने, ‘उहाँ हाम्रो समकक्षी हो, समकक्षीसँगको भेट कार्यकक्षमा हुन्छ । आफूभन्दा माथिल्लो हैसियतको पदाधिकारी भए मात्रै होटलमा जान सकिन्छ ।’

यसपछि बल्ल राष्ट्रियसभा अध्यक्षले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्काई हलमा हिजो बिहान चान्सुसँग भेट्ने मौका पाउनुभयो । त्यसपछि त्यहीँ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भेटघाट मिलाइयो । तर, अग्नि सापकोटाले भने आएकै दिन ल्होत्से हलमा भेट्नुभयो । स्काई हल राष्ट्रियसभाको लबीका रूपमा प्रयोग हुँदै आएको छ । यसरी अपमानित गरिएपछि सोमबार सभामुखद्वारा आयोजित रात्रिभोज गणेश तिम्सिनाले बहिष्कार गर्नुभएको थियो ।

ओलीसँगको भेटमा चान्सुले चुनाव आइरहेको र देशका सबै समस्या तपाईंहरूबाट हल हुने विश्वास लिन सकिने बताउनुभयो भने ओलीले यताउता, विगत–वर्तमानका कुरा निकालेर वार्ता लम्ब्याएपछि प्रचण्ड आधा घण्टासम्म पर्खाईमा पर्नुभयो ।

संसदमा आइपीयु (अन्तर व्यवस्थापिका युनियनलगायत वैदेशिक मामिला हेर्नलाई) अन्तर्राष्ट्रिय महाशाखा छ । त्यसले विदेशी पाहुनाको भ्रमण तथा भेटघाटको व्यवस्थापन गर्छ । तर, लि चान्सुको भ्रमण व्यवस्थापन आन्तरिक शाखाबाट गराइयो । उक्त शाखा कुर्सी, टेबुल, फर्निचर मिलाउने कामका लागि बनाइएको हो ।

यो भ्रमणको अर्को पक्ष वा संयोग कस्तो छ भने, लि चान्सुलाई निम्तो गर्ने सभामुख अग्नि सापकोटा र निम्तो मान्ने चान्सु दुबैको पद धेरै लामो छैन । प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका २ गतेदेखि शुरु हुँदैछ र त्यसदिन राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गरेसँगै सभामुख सापकोटा पदमुक्त हुने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ ।

नेपाल आउनुअघि रुस, मंगोलिया र कोरियाको भ्रमण सिध्याएका चान्सु आउँदो अक्टोबर १५, अर्थात् असोज २९ गतेदेखि शुरु हुने पार्टी कंग्रेसबाट बिदा हुने लाइनमा हुनुहुन्छ । यता राष्ट्रियसभा अध्यक्ष तिम्सिनाको कार्यकाल भने बाँकी नै छ ।

टिप्पणीहरू