कमाण्ड सेनापति एक वर्षमै झरेर पृतनापति

कमाण्ड सेनापति एक वर्षमै झरेर पृतनापति

तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले पोहोर घर जाँदाजाँदै ल्याएको कमाण्ड अवधारणाले हाकिमहरूको फुली त थपियो तर फिल्डमा खटिने तल्लो दर्जाका सैनिक कर्मचारीहरूको वृत्तिविकासमा अवरोध खडा गरेपछि नेपाली सेनालाई पुरानै पृतना स्वरुपमा फर्काउने तयारी शुरु भएको छ । आठ वटा प्रितनालाई चार वटा कमाण्डमा झार्ने अवधारणा व्यवहारिक नभएको भन्दै चर्को असन्तुष्टी बढेपछि सैनिक संगठनलाई पुरानै संरचनामा फर्काउन खोजिएको हो ।

दुई तारे जर्नेलको कमाण्डमा रहेको सात प्रदेश र उपत्यकासहित आठ वटा पृतनालाई पूर्णचन्द्रले उपत्यकासहित पूर्वी,मध्य र पश्चिम गरी चार कमाण्डमा झारेका थिए । जसका कारण कतिपय रणनीतिक महत्वका अति संवेदनशील बाहिनीहरू केन्द्रिकरणमा परे । जस्तै, बाग्लुंगको बाहिनी चीनको सीमा नजिक रहेको जोमसोम पुर्याइएको थियो भने हेटौँडा नजिक (चनबन) को सात बाहिनीलाई भक्तपुरको खरिपाटी ल्याइएको थियो ।

संगठन पुनर्संरचनाका लागि २० अर्ब लागत अनुमान गरिएको उक्त अवधारणाअन्तर्गत सरकारबाट बजेटको एक सुको पनि सुनिश्चितता नहुँदै दरबन्दी सृजना गरी माथिका हाकिमहरूलाई फुली पनि लगाइयो । पृतनापति मेजर जर्नेललाई कमाण्ड सेनापति भन्न थालियो । माथिकाको फुली त बढ्यो तर,तल्लो दर्जाका जमदार, सुवेदारजस्ता सैनिक कर्मचारी लाभान्वित नहुँदा तलतिर असन्तुष्टि चुलियो । जसका कारण सेनाको चेनअफ कमाण्ड नै बिथोलिने तहमा असन्तुष्टी बढेपछि प्रधानसेनापति प्रभुराम शर्मा पुरानै संरचनामा जाने तयारीका साथ छलफलमा जुटेको बताइन्छ ।

बिना बजेट खाली डाँडामा पल्टन सार्ने कुरा सम्भव थिएन । पूर्णचन्द्रले आफैँ पाँच तारे हुनलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई मनाएर हतारमा निर्णय गरेकाले अहिले पृतनामा फर्किनै पर्ने अवस्था आइलागेको बताइन्छ । सेनाको नीति तथा योजना विभागका प्रमुख अशोक सिग्देलको टिमले यसबारे अध्ययन गरिरहेको जंगीअड्डा स्रोतले बताएको छ । त्यसो त, नेपाली सेनालाई पृतनाबाट कमाण्डको स्वरुपमा लैजाने अवधारणा भारतबाट लिइएको हो । यो अवधारणा पूर्णचन्द्रको मात्र होइन । त्यतिबेला सेकेन्डम्यान रहेका प्रभुरामले पनि यसमा साथ दिएका थिए ।

तर,उनैलाई बाइपास गरेर घर जाँदाजाँदै पूर्णचन्द्रले एकलौटी निर्णय गरेपछि चिढिएका सेनापति अहिले आफैं निर्णय सच्याउने सोचमा पुगेका हुन् । जंगीअड्डा स्रोतका अनुसार जोमसोम गएको बाहिनी बाग्लुङमै फर्काउने र खरिपाटी ल्याएको सात बाहिनी उतै फर्काउने सोचका साथ प्रभुरामले केही चरणमा छलफल गरिसकेका छन् । तर,पूर्णचन्द्रले सरकारबाटै निर्णय गराएकाले अहिले सेनाले मात्र निर्णय गरेर त्यो सम्भव नहुने हुँदा रक्षा मन्त्रालयलाई आग्रह गरिएको सैनिक स्रोत बताउँछ ।

टिप्पणीहरू