काठमाडौंका सहकारीले पुसभित्र साधारण सभा सक्नैपर्ने

काठमाडौंका सहकारीले पुसभित्र साधारण सभा सक्नैपर्ने

काठमाडौं महानगरपालिकाभित्र रहेका सहकारी संस्थालाई आगामी पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिइएको छ । महानगरपालिकाको सहकारी विभागले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न सम्पूर्ण सहकारी संस्थालाई निर्देशन दिएको छ ।

साधारणसभा सकाइएको १५ दिनभित्र प्रतिवेदन विभागमा बुझाउनपर्ने आज विभागले जारी गरेको सूचनामा उल्लेख छ । सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारण सभामा उपस्थितिका लागि आह्वान गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी, साधारण सभामा गणपुरकको संख्या पुर्याउन, सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटन तथा मन्तव्य नराखी एजेण्डाउपर छलफल गर्ने वातावरण मिलाउन, संस्थाको विनियम संशोधन, कार्यविधि, नियमावली र नीति पारित गर्न विभागले भनेको छ ।

लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन एवम् पेश हुने अन्य सबै प्रतिवेदनमाथि पर्याप्त छलफल गरेर मात्र पारित गर्न, सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन भए प्रचलित कानून, मापदण्ड एवम् विनिमयबमोजिम योग्यता पुगेका सदस्यहरुबाटमध्ये निर्वाचित गर्न पनि विभागले निर्देशन दिएको छ ।साथै, संस्थाको चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम साधारण सभाबाटै अनुमोदन गर्न, हिसाबकिताबका लागि एक जना लेखापरीक्षक र आवश्यकताअनुसार वैकल्पिक लेखापरीक्षकको नियुक्ति गर्न भनिएको छ ।

टिप्पणीहरू