नागरिकता विधेयक चाहिन्छ भन्नेहरु आज पनि एमालेमा प्रवेश

नागरिकता विधेयक चाहिन्छ भन्नेहरु आज पनि एमालेमा प्रवेश

स्थानीय चुनावका बेला अरु पार्टीका नेता–कार्यकर्ता आफूतिर तान्न सफल नेकपा एमालेले अहिले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर अन्य दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराइरहेको छ । पार्टी कार्यालयदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटसम्म विभिन्न पार्टी छाडेर एमालेमा मिसिनेहरुको लर्कोमा मधेसीहरु नै धेरै देखिएका छन् ।

चुनावका बेला टिकट पाउने आशमा पार्टी फेर्ने प्रवृत्ति नेपाली राजनीतिका लागि नौलो कुरा होइन । तर, २०७४ को निर्वाचनसम्म मधेस विरोधी पार्टीको आरोप लागेको एमालेमा मधेसवादी दलका ठूला नेतासमेत धमाधम प्रवेश गर्न थालेपछि आसन्न निर्वाचनमा जसपा र लोसपा मधेसमै कमजोर हुनसक्ने आकलन गर्न थालिएको छ । स्थानीय चुनावका बेला मधेशमा एमालेको पक्षमा देखिएको लहरले परिणाम फरक परेको थियो । ०७४ को चुनावमा मधेसमा पाँचौ दल बनेको एमाले अहिले ३१ स्थानीय तहको नेतृत्व जितेर दोस्रो पार्टी बनेको छ ।

यसैबीच जनता समाजवादी पार्टी (जसपा) की पूर्वसांसद रहेकी नाज पनि आज एमालेमा छिरेका छन् । दुई दर्जन नेता–कार्यकर्तासहित च्यासलस्थित एमाले मुख्यालय पुगेर उनी कुनैबेला आफैँले मधेस विरोधी नेता भनी कडा आलोचना गरेका ओलीको हातबाट अबिर घसेर एमालेमा मिसिएका हुन् । उनीसँगै जसपाका पूर्वजिल्ला समन्वय अध्यक्ष मयुर चौधरी, मधेस प्रदेश सदस्य किसुनदेव यादव, कैडैना गाउँपालिकाका अध्यक्ष राजनन्दन चौधरी, मलंगवाका पूर्वमेयर निरशल साहलगायत एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले लोकतन्त्र, संविधानको रक्षा गर्न र समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन एमालेले निर्वाचन जित्नुको विकल्प नभएको बताउनुभयो । एमालेलाई हराउन सत्ता गठबन्धनले राज्य स्रोतको चरम दुरुपयोग गरेको आरोप लगाउँदै उहाँले त्यसविरुद्ध चुनावमा केन्द्रित हुन पार्टीका नेता–कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

आजको कार्यक्रममा ओलीले आफू नागरिकता अध्यादेशको विरोधी नभएको पनि प्रष्ट्याउनु भएको छ । आफू नेतृत्वको तत्कालीन सरकार टिकाउन नागरिकता अध्यादेश ल्याएर महन्थ ठाकुरहरुलाई सिंहदरबार छिराउनु भएका उहाँले त्यतिबेलाको प्रसंग झिक्दै भन्नुभयो, ‘संविधानमा व्यवस्था भएबमोजिम नै ल्याइएको थियो ।’ तर, त्यहि प्रावधान रहेको अहिलेको विधेयकप्रति भने उहाँले असन्तुष्टि जनाउनुभयो ।

सरकारले संसदको मर्यादालाई भूलेर विधेयक ल्याएको र राष्ट्रपतिसँग सिंगौरी खेलिरहेको अध्यक्ष ओलीको आरोप छ । विद्येयक एमालेले नरोकेको जिकिर गर्नुभएका उहाँले नागरिकता समस्या समाधान गर्न आफू अहिले पनि तयार रहेको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू