भारतीय पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार मेनन काठमाडौंमा

भारतीय पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार मेनन काठमाडौंमा

भारतका पूर्व कुटनीतिज्ञ तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन काठमाडौं आएका छन् । आज नयाँ दिल्लीबाट हवाइ उडानमा आएका मेनन काठमाडौंमा दिउँसो ३ बजे उत्रिएका हुन् ।

कुनै समय भारतीय विदेश सचिव रहेका मेनन् प्रधानमन्त्री मनमोहन सिंहको पालामा राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकामा रहेका हुन् । मेनन कान्तिपुर पब्लिकेसन्सकाे कार्यक्रममा सहभागी हुन आएकाे बताइएकाे छ ।

विदेश मन्त्रालयमा छँदा उनी पाकिस्तान र श्रीलकामा भारतीय उच्चायुक्त थिए । त्यसपछि चीनमा राजदूत भएर गए । बीचमा इजरायलको लागि समेत राजदूत बनेका हुन् ।

उनका जिजुबुबा सी शंकर नयर सन् १८९७ मा भारतीय राष्ट्रिय कँग्रेसको अध्यक्ष थिए भने हजुरबुबा केपीएस मेनन (सिनियर) भारतका प्रथम विदेश सचिव थिए । उनका काका केपीएस मेनन (जुनिएर) पनि चीनका लागि राजदूत र भारतीय विदेश सचिव भएका थिए । उनका बुबा परप्पिल नारायणन् मेनन युगोस्लाभिाको लागि भारतीय राजदूत बनेका थिए । केरलाको नयर परिवारका सदस्य मेनन भने फ्रान्सको राजधानी पेरिसमा जन्मेका हुन् ।

उनी भारतीय आणविक ऊर्जा विभागमा कार्यरत रहँदा आणविक ऊर्जा आयोगमा सल्लाकार थिए । भारत तथा अमेरिकाबीच आणविक छलफलमा ठूलो भूमिका खेलेपछि उनको चर्चा त्यतिबेला व्यापक भएको हो ।

चीनको राजदूत छँदा दुई मुलुकबीचको सम्बन्ध सुधारमा उनको ठूूलो भूमिका रहेको बताइन्छ । फलस्वरुप त्यतिबेला प्रधानमन्त्री अटल बिहारी वाजपेयीको चीन भ्रमण भएको हो ।

टिप्पणीहरू