नियम तोड्ने, भिआइपी भित्र्याउने

नियम तोड्ने, भिआइपी भित्र्याउने

के राज्यले बनाएका नियम, कानुन गरिबलाई मात्र आकर्षित हुने हो ?

पोखरामा मापदण्डविपरित भवन बनाउने होडबाजी नै चलेको छ । भवन निर्माण गरुञ्जेल महानगरपालिका र सम्बन्धित निकायले पनि कुनै चासो देखाउँदैनन् । पछि त्यसरी नियम,कानुन र मापदण्ड मिचेर ठड्याइएको बिल्डिङ्गको उपराष्ट्रपति,प्रधानमन्त्रीको वरद् बाहुलीबाट उद्घाटन पश्चात् सबैजना तैं चुप मैं चुप हुनै पर्यो ।

अहिले उक्त प्रवृत्ति पोखरामा निकै बढेको छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको बुद्ध चोकमा रहेको टास्क इन्टरनेशनल होटलको भवन त्यसको ज्वलन्त नमूना हो । सात तले यो भवन पूर्णतः मापदण्ड विपरित अग्लो बनाइएको छ । मापदण्ड विपरित बनेको थाहा पाउँदा पाउँदै पनि उपराष्ट्रपतिको बाहुलीबाट उद्घाटन गराइएको थियो । अब कसले छुने र आँट गर्ने मापदण्ड अनुकूल हुनेगरी भवनको उचाई घटाउ भनेर ? टण्टै साफ ।

त्यसैगरी, विदेशी पर्यटकहरूको लागि प्रख्यात पोखराकै लेक साइडमा पनि मापदण्ड विपरितका धेरैवटा भवन बनाइएका छन् । होटल प्रयोजनको लागि लेकसाईडमा बनाइएकामध्ये भरत पहारीको नौ तले भवनले पनि प्रचलित मापदण्डको उल्लंघन गरेको छ । पहारी स्वयम् इञ्जिनियरिङ्ग क्याम्पसका पूर्व डिन तथा इञ्जिनियर हुन् ।

उनले भवनको मापदण्डलाई लिएर सर्वत्र चर्चा परिचर्चा भएपछि प्रधानमन्त्रीको हातबाट उद्घाटन गराउन खोजे । एकदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटनको सबै तयारी पूरा गरेर भवनमा पुर्याइ छाडे । तर, सर्वत्र आलोचना भएपछि प्रधानमन्त्रीले होटल उद्घाटनचाँहि गर्नुभएन । केही समय त्यहिँ आराम गरेर विशेष लन्च ग्रहण गरेपछि पहारी पनि मापदण्ड मिच्ने व्यवसायी तथा घरधनीको सूचीबाट हटेझैं ढुक्क छन् ।

यसरी नियम,कानुनको उल्लंघन गर्दै भवन निर्माण गर्ने र पहुँच पुर्याएपछि सम्माननीयहरूबाट उद्घाटन गराउने श्रृंखलाले राम्रै गति लिएको छ । ठूलाबडाहरूबाट उद्घाटन गराएपछि प्रचलित कानुन पनि निलम्बन गरे सरह हुने र उन्मुक्ति पाइने भएपछि व्यवसायीहरू यो मार्गमा अग्रसर भएका हुन् । के त्यसो भए राज्यले बनाएका नियम, कानुन गरिबलाई मात्र आकर्षित हुने हो ? निमुखाले मात्र कानुनको पालना गर्नुपर्ने कस्तो संस्कारलाई हामी बढावा दिँदै छौं भन्ने कुराको गतिलो प्रमाण पनि हो यो ।

टिप्पणीहरू