८५ वर्षे हलिउड कलाकारलाई दशैं लाग्यो

८५ वर्षे हलिउड कलाकारलाई दशैं लाग्यो

विश्वविख्यात हलिउड कलाकार मोर्गन फ्रिम्यानले नेपालको ठूलो चाड दशैंको सम्झना गरेका छन् । उनले चार वर्षअघि नेपालमा मनाइएको दशैंको ट्वीटमार्फत वर्णन गरेका हुन् ।

नेपाली दौरा,सुरुवाल र ढाका टोपीमा सजिएका मोर्गनले त्यतिबेला लिंगे पिङ खेलेको,निधारमा टिका र शीरमा जमरा सिउरेको क्षणलाई पुनस्मरण गरेको देखिन्छ । भलै दशैं आउन अझै तीन साता बाँकी छ ।

दशैंअघिको सोह्र श्राध्द नै आगामी आइतवारदेखि शुरु हुन बाँकी छ । त्यसपछि दशैं शुरु हुन्छ । अमेरिकी नागरिक मोर्गनले दशैंको दुई सातालाई संक्षेपमा भनेका छन्, ‘दशैंमा हाम्रो आधारभूत प्रवृत्ति र चाहनालाई माथि उकास्ने भावना छ । ती सबै प्रतिकात्मक र शाब्दिक हुन् ।

दशैंको हर्षोल्लासबारे पनि उनले लेखेका छन्,‘दुष्टमाथिकोे विजयभन्दा पनि बढी हो दशैं । यसले प्रत्येक मानवभित्र हुने चर्को प्रतिस्पर्धा र लडाईंलाई स्वीकारेको छ । विश्वको भलाइको स्वागत गरेको पाइन्छ ।’

‘स्टोरी अफ गड’ नामक धार्मिक टेलिभिजन श्रृंखला छायांकनको क्रममा उनी चार वर्षअघि काठमाडौं आएका थिए । दशैंको समयमा आएका उनले काठमाडौं यात्रा कहिल्यै नभुल्ने उल्लेख गरेका छन् । आफूप्रति दर्शाइएको सद्भाव र पूर्ण रूपमा परम्परागत तवरले मनाइएको चाडमा रमाउन पाएको मनोरञ्जनपूर्ण क्षण भुल्न नसकिने उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

टिप्पणीहरू