केपी ओली शीतल निवासमा, परराष्ट्र सचिव लैनचौरमा

केपी ओली शीतल निवासमा, परराष्ट्र सचिव लैनचौरमा

१५ बुँदे सन्देशसहित पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको नागरिकता विधेयक संसदका दुवै सदनले हुबहु पास गरेपछि नैतिक संकटमा पर्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्नुभएको छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई पालैपालो बोलाएर एकसरो छलफल गरी विधयकमा आफ्नो चासो सम्बोधन नभएकोमा असन्तुष्टी जनाउनुभएकी भण्डारीले विधेयक पुुनः प्रमाणीकरणका निम्ति सभामुखले शीतल निवास पठाउनुअघि ओलीलाई भेट्नुभएको हो । राष्ट्रपतिसँग भेट गर्न हिजो साँझ पौने ७ बजेको समयमा शीतल निवास पुग्नुभएका अध्यक्ष ओली राति ९ बजेको हाराहारीमा त्यहाँबाट बाहिरिनुभएको थियो ।

राष्ट्रपतिजस्तै ओलीले पनि नागरिकता विधेयकको विपक्षमा अभिव्यक्ति दिँदै आउनुभएको छ । तर, सत्ता गठबन्धनका केही नेता र गृहमन्त्री बालकृष्ण खाँणले भने ओलीसमेतको सहमतिमा उहाँको पालामा ल्याइएको अध्यादेशकै प्रावधान राखेर विधेयक ल्याइएको दावी गरेका छन् ।

संसद र गठबन्धनले राष्ट्रपतिको ‘मान नराख्दिएको’ मा रुष्ट हुनुभएका ओली विधेयक पारित भएलगत्तै झापाबाट फर्केर हत्तारहत्तार शीतल निवास पुग्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्णरुपमा लिइएको छ । त्यसो त राष्ट्रपतिले विभिन्न स्वतन्त्र समूह,नागरिक समाजका अगुवा, संघसंस्थाका प्रतिनिधि, नेपाली सेनाका पूर्वजर्नेल लगायतलाई पनि पटक-पटक भेट्नुभएको थियो ।

यता,हिजै सभामुख अग्निप्रसाद सापकोटाले परराष्ट्र सचिव भरतराज पौडेलसँग करिब पौने दुई छलफल गर्नुभएको छ । सभामुख भेट्न सचिव पौडेल साँझ साढे ५ बजेतिर लैनचौरस्थित उहाँको निवास पुग्नुभएको थियो ।

चिनियाँ सभामुखको नेपाल भ्रमणको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयका सचिव र नेपालका सभामुखको भेटवार्ता त्यसैमा केन्द्रित रहेको अनुमान गरिएको छ ।

टिप्पणीहरू