पाकिस्तानको बाढीमा साढे तीन करोड मानिस प्रभावित, ११ सयको मृत्यु

पाकिस्तानको बाढीमा साढे तीन करोड मानिस प्रभावित, ११ सयको मृत्यु

मुसलधारे वर्षापछिको बाढीले एक तिहाइ भाग डुबानमा पर्दा पाकिस्तानमा ११ सय मानिसको ज्यान गएको छ । बढीले साढे तीन करोड मानिस प्रभावित भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा तीन सय ८० बालबालिका छन् । भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र अन्नबाली ध्वस्त पारेको छ । वर्षाले देशको एक तिहाई भूभाग जलमग्न भएको पाकिस्तानकी जलवायुमन्त्रीले बताएकी छन् । ‘देशको एक तिहाई भाग पानीमा डुबेको छ’, जलवायु परिवर्तनमन्त्री सेरी रिहमानले भनिन् । वर्षा छिट्टै कम हुने सम्भावना नरहेको उनले बताइन् ।

एक दशकयताको बाढीले १० अर्ब डलरभन्दा बढी क्षति पुर्याएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । तर, यो क्षति अनुमान गरेभन्दा बढी हुन सक्ने प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।

मानव निर्मित जलवायु परिवर्तनको असरसँग जुध्न पाकिस्तानलाई सहयोग गर्ने विश्वको दायित्व भएको सरकारको भनाइ छ । बाढीले बिचल्लीमा परेका पर्यटकसहित तीन सय जनालाई हेलिकोप्टबाट उद्धार गरिएको छ । सेनाको हेलिकप्टरले अलपत्र परेका परिवारको उद्धारसँगै खाद्यान्नका प्याकेटहरू दुर्गम क्षेत्रमा खसालेको छ ।

पाकिस्तानको बाढीलाई ‘अप्रत्याशित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ ।

टिप्पणीहरू