सेनाकै पुजारीद्वारा पण्डितमाथि सास्ती

सेनाकै पुजारीद्वारा पण्डितमाथि सास्ती

सुविधायुक्त ठाउँमा सरुवा र बढुवा हुनका लागि के नुवाकोट वा सिन्धुपाल्चोकवासी, त्यसमा पनि बाँडेगाउँकै हुनुपर्ने ? हामी सुदूरपूर्व र सुदूरपश्चिममा सरुवा भएकाहरूलाई किन ल्याइँदैन उपत्यका वा आसपासका जिल्लामा ? सरुवा गर्ने निकायमा ८ वर्षदेखि पुजारी सेनानी विनोदराज लोहनी र भरत सापकोटाले जिल्लावासी र गाउँलेलाई मात्र सहज ठाउँमा सरुवा मिलाइरहेका छन् ।

भेग र क्षेत्रका हिसाबले सरुवा गरिएका एक मात्र उदाहरण हुन् पण्डित सुवेदार राममणि आचार्य । व्यक्तिगत समस्या बुझ्नुपरेमा पण्डितहरूलाई नै सोधपुछ त गरिन्छ तर उसलाई कसरी थप जटिल समस्या उत्पन्न गर्न सकिन्छ भन्ने हेतुले सरुवा गरिन्छ ।

यसअघि सेनाभित्रैका कर्मचारीले सरुवाको प्रबन्ध मिलाउँदा समस्या आएको थिएन । तर, पुजारीले नै खटनपटन गर्दा समस्या उत्पन्न हुने गरेको छ । सरुवा क्रममा मातहतका व्यक्तिहरूको सिटरोलमा पनि तलमाथि गरिएको छ । जसले गर्दा सरुवा, बढुवा र शान्ति सेना जाने रोलक्रममा असर पुग्छ । जथाभावी गर्ने त्यस्ता पुजारीमाथि कारबाही गरिएन भने संगठनप्रतिको विश्वसनीयता झन् टुट्दै जानेछ ।

मानवीयता तथा स्वास्थ्य समस्याका एवं गुनासो मूल्यांकनका आधारमा पैदल फौज, मद्दती फौज, प्राड सेवा, हवाई सेवा, विविध सेवा तथा प्राविधिक सेवाका पदिक तथा अन्य दर्जाको नियुक्ति सरुवाअनुसार गरिएको भनिए पनि पूर्व बसेकालाई पूर्व र पश्चिम सरुवा भएकालाई फेरि पश्चिम नै पठाइएको छ ।

जबकि सरुवा गर्दा पूर्व बसेकालाई पश्चिम र पश्चिम बसेकालाई पूर्व पठाइनुपथ्र्याे । यो कसरी मानवीयताको आधार भो चिफसा’ब ? समस्या सुन्ने निकाय ‘सिकायत’मा गुनासो राखे पनि यस्ता निकायमा जसबारे गुनासो गरिएको छ तिनै व्यक्ति रहने गरेकाले कुनै कार्यान्वयन गरिँदैन । पुजारी सुवेदार अर्जुन सापकोटालाई मूलकोतमा ‘तान्त्रिक, मान्त्रिक र यान्त्रिक’ विधिबाट पूजा गराउने निर्विकल्प भन्दै वर्षाैंदेखि त्यहीं राखिएको छ । जबकि डोसियरमा उक्त व्यवस्था कहीँ–कतै उल्लेख छैन । यो संगठनको नियमविपरीत गरिएको कार्यमध्ये एक हो ।

यस्तो विधिका लागि कुन शैक्षिक संस्थाबाट सर्टिफिकेट लिए ? सापकोटा र लोहनीले संगठनमातहत तालिमका लागि बनाइएको सिलेबस, धार्मिक हिसाबले कुनै पनि वस्तु वा झण्डा, निशान, मौलोलगायतको महत्व, वैज्ञानिकताबारे पण्डितहरूलाई लेख्न लगाउँछन् र जस्ताको तस्तै लगेर आफूले लेखेको भन्दै माथि पेश गर्छन् । सापकोटा, लोहनीलगायत पण्डित अधिकृतहरूको अक्षमताकै कारण जंगी अड्डामा धार्मिक प्रवचन दिन बाहिरबाट प्रवचक खोज्ने परिपाटी शुरु भएको छ ।

यिनले त हेडक्वार्टरमा आफैँँले प्रवचन दिन सक्नुपर्ने हो । यदि, उनीहरू सक्दैनन् भने हामीमध्येबाट पनि त छानिन सक्थ्यौँ तर हामीमा भएको प्रतिभा ओझेलमा पार्नकै लागि दूरदराजमा सरुवा गरी पठाउँछन् ।

गण, गुल्ममा कार्यरत पण्डितहरूलाई प्रवचन दिएको रेकर्ड हेडक्वार्टरमा पठाउन अनिवार्य गरिएको थियो तर सोही दर्जाका अधिकृतहरूले उक्त कार्य गर्न नसक्दा सक्षम पण्डितहरू त्यसको सिकार बन्नुपरेको छ । यो सब कुराको सूक्ष्म खोजबिन गरी कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

– पीडित पण्डितहरू

टिप्पणीहरू