व्यथा एउटा दबाई अर्को, एमालेमा कारबाही चर्को

व्यथा एउटा दबाई अर्को, एमालेमा कारबाही चर्को

‘टिकट पाए जित्छु, नपाए जिताउँछु’ भन्ने अध्यक्षको निर्देशनसहित स्थानीय चुनावी मैदानमा ओर्लिएको एमालेभित्र अहिले सोही चुनावताका अन्तर्घात गरेको भन्दै कारबाहीको कोतपर्व शुरु भएको छ ।

यसै सिलसिलामा लुम्बिनी प्रदेश कमिटीका ४१ जना सदस्यलाई केरकार गर्न थालिएको छ । सो कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले अध्यक्ष ओलीको निर्देशानुसार कथित अन्तर्घातीलाई तह लाउन छानबिन प्रक्रिया अघि बढाएको बताइन्छ । यसबाट केही नेता पार्टी पलायन गर्ने कि भित्रै अन्तरसंघर्ष गरेर बस्ने भन्ने अवस्थामा पुगेका छन् ।

विशेष गरी १० भाइ निकट भनेर चिनिएकालाई पाखा लगाउने अवसरको रूपमा यो कारबाही अघि बढाइएको स्रोतको दाबी छ । कारबाहीको सूचीमा राखिएका प्रादेशिक सदस्यहरूलाई प्रशिक्षण र विस्तारित बैठकमासमेत सहभागी गराइएको छैन ।

सफाइको मौकासमेत नदिई छापामार शैलीमा अघि बढाइएको कारबाही प्रक्रियाको शिकार हुनेमा तानसेनका निवर्तमान नगर प्रमुख अशोक शाही, उपमेयर लक्ष्मीदेवी पाठक, जिल्ला समन्वय समितिकी उपप्रमुख नीरा मरासिनीलगायत छन् ।

अभियोग लगाइएकाहरूलाई के विषयमा, किन भन्ने सूचनासमेत नदिई गरिएको यो कारबाहीले आपसी अविश्वास शुरु भएको छ । यसैबीच एक हप्ताअघि मात्रै कारबाहीकै सूचीमा रहेका लालबाबु दर्लामीलाई भने माफी माग्न लगाइएको छ । एमालेबाट कारबाहीको सुइँको पाएका रामबहादुर रावल भने माओवादी केन्द्रमा प्रवेश गरेर प्रदेश सह–इन्चार्जको जिम्मेवारी लिन सफल भएका छन् ।

पार्टीभित्रको यो कारबाहीलाई १० भाइ निकटलाई तह लगाउने अवसरका साथै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटबन्दी र टकरावको रूपमा समेत हेरिएको छ । गत चुनावमा ती दुई नेताले गोजीका मान्छेहरूलाई टिकट दिएको र एक अर्कालाई निचा गिराउने खेलका कारण स्थानीय चुनावमा अपेक्षित नतिजा नआएको बताइन्छ ।

धेरै नगरपालिकाको उपमेयर पदमा एमाले उम्मेदवारहरूले जित्नु तर मेयरमा हार्नु पर्ने कारण विश्लेषण गर्दा यो कुरा छर्लंग हुने दाबी स्रोतले गरेको छ । त्यसो त देशभरमैं एमालेबाट उठेकाहरूमध्ये मेयरमा ८३ जना, उप प्रमुखमा ११५ जना छन् । जसमध्ये लुम्बिनीभित्र मेयर हारेर उपमेयर जितेका तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, बुटवल नगरपालिका, कञ्चन गाउँपालिकागायत छन् ।

उता उदयपुरको त्रियुगा नगरपालिका, बेलका नगरपालिका र कटारी नगरपालिकामा पनि मेयरहरू हारेर उपमेयरहरूले जितेको विषयमा दोषीको खोजी भइरहेको छ ।

टिप्पणीहरू