भोला फर्किएपछिको भाँडभैलो

भोला फर्किएपछिको भाँडभैलो

बेलायतबाट स्वदेश फर्किनुअघि जसरी जंगबहादुर र चन्द्रसमशेरले भारतको कलकत्ता आएर रामेश्वरम्को दर्शन गरे, पितृतर्पण, गौदान र क्षमा पूजा गरे– अहिले एमालेमा फर्किनेहरूले त्यसै गर्नुपरेको बताइन्छ ।

घनश्याम भुसालले भनेजस्तो ‘रगत, खकार र पिसाब जाँचेर’ आफ्नो मान्छे प्रमाणित गर्ने चलन अझै कायम हुँदा कर्मचारी नेता भोला पोखरेल फर्किंदाफर्किंदै गुटको घेराबन्दीमा परेका छन् । चुनाव आएपिच्छे नेताहरू कर्मचारीको निक्कै भर पर्छन्, पैसाका लागि । कहाँ–कहाँबाट पैसा आउँछ भन्ने कुरा उनीहरूलाई जति अरुलाई थाहा हुँदैन । त्यस्तो गरेबापत पार्टीलाई पैसा बुझाएर त्यसमा केही तर मार्न पाइन्छ । शायद, त्यही कुरा सोच–विचार गरेर केही कर्मचारी एमालेमा फर्किए । तर, अहिलेसम्म कतै पनि ढिम्किन पाएका छैनन् ।

स्रोत भन्छ, उनले एकीकृत समाजवादी त्याग्नुअघि माधव नेपालसँग टिकट मागेका थिए । माधवले झापामा ओलीसँग लड्न जा भन्नुभयो । खोटाङका मूलवासी भोलाको पछिल्लो पारिवारिक बसाइ झापामै छ । तर, उनले माधव स्वयंले अघिल्ला चुनावमा भाग लिएको काठमाडौं– २ बाट उठ्ने इच्छा दर्शाए । फेरि माधवले भन्नुभयो, ‘किन २ ? १ मा उठ्नुस्, प्रकाशमानसँग !’ त्यसपछि फेरि पार्टीको पोलिट्व्युरो सदस्य मागे । माधवले जागिरबाट राजीनामा नगरी कर्मचारीलाई पोलिट्व्युरोमा राख्दा समस्या हुने बताउनुभयो । भनिन्छ, यसपछि भोला मध्यराति ओलीसँग भेट्न गए । यो कुरा माधवले सुइँको पाउनुभयो र भोलालाई भेट्न बिहानै तीनकुने, सुविधानगरस्थित उनको घर पुग्नुभयो । तर, अध्यक्ष आएको सुइँको पाउनासाथ घरकै अर्कोतिरबाट निस्किए । त्यसअघि एकीकृत समाजवादीका विशेष प्रदेश अध्यक्ष केदारप्रसाद सञ्जेललाई ‘बिदा मागेको’ भनी फोन गरे । सञ्जेलले सम्मानित नेता झलनाथ खनाललाई सुनाए । झलनाथले ‘त्यसो नगर्नुस्’ भनेर आग्रह गर्नुभयो ।

उता, एमालेमा फर्किएपछि फेरि पुण्य ढकालसँग लडाइँ शुरु भएको छ । ढकाल उपसचिवमा बढुवा भएपछि भोला आधिकारिक ट्रेड युनियनको कावा अध्यक्ष भए । पार्टी फुटेपछि एमालेका केदार देवकोटाहरूको बहुमतले उनलाई निकाल्यो । एकीकृत समाजवादीमा पेशागत जिल्ला कमिटीको अध्यक्ष, प्रदेश कमिटीको उपाध्यक्ष र केन्द्रीय लेखा आयोगको सदस्य थिए ।

भोलाले एकीकृत समाजवादी त्याग्नु र एमाले फर्किनु पछाडिका अर्का कारक हुन्, डा.विजय पौडेल । भोलाले बाहिर भन्दा ‘जनता टेलिभिजनको शेयर पचाइदियो’ भन्ने गरेका छन् । तर, झगडा यतिमात्रै हैन । भोलाले डा.पौडेलदेखि केदार सञ्जेल, विश्वनाथ प्याकुरेल, प्रमोद शर्माहरूसम्मका आँखा छलेर ‘लामो हात’ पारेको भनिन्छ । ‘सर्पको खुट्टा सर्पलाई थाहा हुन्छ’ भनेझैँ पैसाको नाका पैसा उठाउँदै आएकालाई नै थाहा हुने भयो । त्यही विषयमा कुरा नमिल्दा उनी एमाले फर्किएको आरोप लगाउन थालिएको छ । एमालेका कर्मचारी नेता प्रेमप्रसाद पराजुली, समीर नेपालहरू सोझा भए । उनीहरूबाट उठ्तीपुठ्ती चल्दैन भन्नेमा कतिपय ठूला नेता ढुक्क छन् । अहिले भोला प्रेमकुमारको ठाउँमा, अर्थात् पेशागत प्रदेशको इञ्चार्ज हुन्छु भनेर एमाले फर्किएका हुन् । तर, त्यो पद मिल्ने छाँट छैन । आफू एमालेमा फर्किएपछि हरिकुमार श्रेष्ठ, दिपक सुवेदी, नरिश्वर भण्डारी, प्रमोद शर्मासहित कर्मचारी र बुद्धिजीवीको ठूलो समूह ल्याउने दाबी थियो । त्यो पनि गफमै सीमित भयो । शुरुमा सबैले ‘हुन्छ–हुन्छ’ भन्दै एमाले छोडाए, उनी गएपछि सबै अडिए । ‘एमालेमा आएको चार–पाँच रात भइसक्यो, खै जिम्मेवारी ?’ भन्दै अहिले नेताहरूकोमा बिहानै पुग्ने गरेका छन् ।

त्यसमाथि ‘मिल्नुपर्छ’ भन्नेहरूलाई ओलीले गर्ने व्यवहार नै अचम्मको छ । त्यस्तो भन्ने समीर नेपालदेखि पुण्य ढकालसम्मलाई बालकोट छिर्न दिनुभएको छैन । भोला गएपछि पुण्यको असन्तुष्टि चुलिएको छ । पेशागतको अध्यक्ष आफू हुनुपर्ने उनको दावी छ । प्रेमकुमार पराजुलीले त मान्छेहरूकै बीचमा भोलाबारे भनेका छन्, ‘हिजो क–कसलाई बिटुल्याएको छ । अब ओलीलाई बिटुल्याउन बाँकी छ । यो डन हो । सतर्क हुनुपर्छ ।’

टिप्पणीहरू