कार्यव्यवस्थामा सहमति जुटेन, सर्वदलीय बोलाउन एमालेको माग

कार्यव्यवस्थामा सहमति जुटेन, सर्वदलीय बोलाउन एमालेको माग

नेकपा एमालेले नागरिकता विधेयकमा आमसहमति जुटाएर मात्रै पुन: संसदमा पेश गर्नुपर्ने बटमलाइन बनाएको छ । प्रतिनिधिसभा बैठकअघि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि एमाले सांसदहरुले सर्वदलीय बैठकको मागसमेत गरेका छन् ।

बैठकमा सहभागी एमाले सांसदहरुले विधेयक रोकर सर्वदलीय बैठक बोलाउन माग गरेका हुन् । बहुमत, अल्पमत जसरी पास गरे पनि राष्ट्रपतिको चासो सम्बोधन हुनुपर्ने उनीहरुको भनाइ छ । राष्ट्रपतिको मान राख्न भए पनि छलफलका लागि समितिमा पठाउनु पर्ने मागमा एमाले सांसदहरु अडिग रहेपछि सहमति जुट्न नसकेको हो ।

सत्तापक्षका सांसदहरुले भने आजैको संसद बैठकबाट नागरिकता विधेयक पारित गर्नुपर्ने अडान राखेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधयेक जस्ताको तस्तै संसदमा लैजाने निर्णय गरेको थियो ।

संघीय संसदका दुवै सदनले पारित गरेको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनु भएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरी साउन २९ गते आइतबार साँझ १० बुँदे संदेशसहित प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको हो ।

राष्ट्रपतिको उक्त निर्णयको एमालेले स्वागत गरेको छ भने सत्तापक्षका पार्टीहरुले असन्तुष्टि जनाएका छन् ।

टिप्पणीहरू