प्याडको आकार नमिलेपछि मेशिन थन्कियो,छात्रालाई सकस

प्याडको आकार नमिलेपछि मेशिन थन्कियो,छात्रालाई सकस

स्यानिटरी प्याडको आकार मेशिनसंग मेल नखाएपछि हुम्लाको सिमकोट गाउँपालिका भरिका माध्यमिक विद्यालयमा भएका मेशिन थन्किएका छन् । विद्यालयलाई उपलब्ध गराइएको मेशिन एक वर्षदेखि बन्द अवस्थामा छ ।

गाउँपालिकाको वडा नम्बर ८ स्थित सैपाल माध्यमिक विद्यालयका शिक्षक विष्णु रोकायाले उक्त मेशिनले एक वर्ष अघिसम्म राम्रोसंग काम गरिरहेको बताए । तर, मेशिनको प्वाल र प्याडको आकार नमिलेकाले मेशिन बन्द भएको उनको भनाइ छ ।

सेनिटरी प्याड वितरण समितिको सम्पर्क व्यक्तिसमेत रहेका उनले भने,‘मेशिनबाट प्याड निस्किन छाडेपछि विद्यालयका छात्राहरुलाई महिनावारी भएको बेला भण्डारण कोठामा राखेको प्याड वितरण गर्दै आएका छौं ।’ पहिले आफैले झिक्दै आएको प्याड माग्नु परेपछि उनीहरुले लाज मान्ने गरेको उनको भनाइ छ ।

बालमन्दिर माविमा पनि सोही समस्या निम्तिएको छ । कोठामा मेशिन थन्किएकाले हातैले प्याड वितरण गर्नुपर्ने बाध्यता छ । जसले गर्दा आफूलाई आवश्यकता परेको बेला प्याडको प्रयोग गर्नबाट छात्राहरु वञ्चित भएका छन् । गाउँपालिका शिक्षा शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यले सेनिटरी प्याड मापदण्डअनुसार वितरण गर्दै आएको जानकारी दिए ।

मेशिन दिने संस्थाले समन्वय नगरिकन विद्यालयलाई उक्त मेशिन उपलब्ध गराएको कारण समस्या देखिएको उनको ठहर छ । गाउँपालिकामा रहेको सात वटा माविलाई उक्त मेशिन उपलब्ध गराइएको थियो । मेशिन वितरण गरेको एक वर्षसम्म संस्थाले नै प्याड उपलब्ध गराउँदै आयो । तर,अहिले भने शिक्षा शाखाले वितरण गर्दै आएको छ । शिक्षक आफैले छात्रालाई प्याड बाँड्ने गरेका छन् ।

टिप्पणीहरू