उध्योगी,ब्यापारीको सम्मेलनमा प्रधानमन्त्री र भारतीय मन्त्री पाहुना

उध्योगी,ब्यापारीको सम्मेलनमा प्रधानमन्त्री र भारतीय मन्त्री पाहुना

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आगामी भदौ २३ र २४ गते चौथो संस्करणको नेपाल पूर्वाधार विकास सम्मेलन हुने भएको छ ।

परिसंघले विज्ञप्तिमार्फत सम्मेलनको आयोजना गरिएको जानकारी गराएको हो । कार्यक्रममा यातायात, ऊर्जा,शहरी विकास,खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरु पहिचान गर्दै त्यसबारे समीक्षा गरिनेछ ।

त्यस्तै,पूर्वाधार विकासमा सरकारले गरेको प्रतिज्ञा एवं सुधारहरुलाई उत्प्रेरित गर्ने,पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने,दिगो विकास लक्ष्यहरु हासिल गर्न हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरुलाई प्राथमिकता दिने उदेश्यका साथ कार्यक्रम गर्न लागेको परिसंघले जनाएको छ ।

सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि परिसंघले हाल यो सम्मेलनको आयोजना गरेको हो । साथै, परिसंघले कोरोनाका कारण आर्थिक वृद्धि संकुचित भएको बताएको छ ।

सन् २०१९/२० मा नेपालको आर्थिक वृद्धि दुई दशमलव ३७ प्रतिशत भएको उल्लेख गर्दै यसलाई बढाएर सन् २०२२/२३ मा आठ प्रतिशत पुर्याउने परिसंघको लक्ष्य छ ।

विश्वव्यापी रुपमा भइरहेको पुँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती सिर्जना भएको जनाइएको छ ।

सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी,निजी क्षेत्रको थप संलग्नता,प्रविधि र डिजिटल रुपान्तरणलगायतका विषयमा नीतिगत सुधारका अवधारणालाई पुनजीवित गर्ने परिसंघको विश्वास छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्नुहुनेछ । त्यस्तै,भारतका सडक,यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह,अडानी समूहका अध्यक्ष गौतमा शान्ति अडानी विशेष अतिथि रहने परिसंघले बताएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइन,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पनि सम्मेलनमा उपस्थिति जनाउनुहुनेछ ।

टिप्पणीहरू