मुस्ताङमा यार्तुङको भव्य समापन

मुस्ताङमा यार्तुङको भव्य समापन

-अमृत बास्कुने

हिमालपारीको जिल्ला मुस्ताङमा झण्डै चार सय वर्षदेखि चल्दै आएको यार्तुङ मेलाको यस वर्षको संस्करण सकिएको छ । पछिल्लो दुई वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित उक्त मेला यो वर्ष भने सप्ताहव्यापी कार्यक्रमसहित भव्य रुपमा सम्पन्न भएको हो ।

यार्तुङ मेलाको अवसरमा कोरियाली गायिका मीना, अमेरिकी गायिका अमेलियाले समेत प्रस्तुती दिएका थिए । चर्चित गायक गायिकाहरु राजु गुरुङ, वाङ्देन शेर्पा, मिलन नेवारको प्रस्तुती पनि बेजोड थियो । डिजे तेन्जिङसहितको कन्सर्ट यार्तुङको सप्ताहव्यापी कार्यक्रम अवलोकनका लागि १० हजारभन्दा बढी दर्शक आएको आयोजकको अनुमान छ ।मेलामा मुस्ताङ, मनाङ, रुकुम, पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौंलगायत विदेशबाट समेत दर्शक आएका थिए । मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१, पुराङ गाउँको रानीपौवामा साउन २३ देखि २७ सम्म सञ्चालन भएको यार्तुङमा भएको घोडादौड प्रतियोगितामा नेपाली सेनाको सैनिक उच्चशिखर शिक्षालय जोमसोमका राजकुमार अधिकारी प्रथम भएका छन् ।

त्यस्तै बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–२, झोङका बिरबहादुर विक दोस्रो र घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्मा गुरुङले तेस्रो स्थान हासिल गरेका छन् । २३ जनाले भाग लिएको तीन किलोमिटर लामो दूरीको दौडमा विजयीलाई क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगदसहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक जनप्रिय युवाक्लव पुराङका अध्यक्ष उर्केन पाल्देन गुरुङले बताए ।

आठ सय मिटरको छोटो दूरीको घोडादौडमा घरपझोङ गाउँपालिका–५ ढुम्बाका कर्मा गुरुङ पहिलो, बाह्रगुङ मुक्तिक्षेत्र–१, खिङ्गाका लाक्पा टासी गुरुङ दोस्रो र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका झारकोटका राजकुमार विकले तेस्रो स्थान हासिल गर्दै क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । हिमाली क्षेत्रको मौलिक भेषभुषामा घोडा चढेर सांस्कृतिक सम्यतालाई उजागर गर्ने तथा चाडपर्वमा घोडादौड गर्ने स्थानीय परम्परा रहेको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा सदस्य एवम् स्थानीय अगुवा पेम्बा छिरिङ गुरुङको भनाइ छ । मौलिक परम्परा र सभ्यतालाई जोगाउँदै पुस्ताहस्तान्तरणका लागि क्लबले यस्ता प्रतियोगिताको आयोजना गर्ने गरेको गुरुङ बताउँछन् ।

यार्तुङको अवसरमा वभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । आर्चरी, फुटबल, डोरी तान्नेलगायत प्रतियोगिता सञ्चालन गरिएको थियो । आर्चरीमा अन्नपूर्ण गाउँपालिका–३ दाना, म्याग्दीको एरो एण्ड बो क्लबले १०३ स्कोरसहित पहिलो, घरपझोङ गाउँपालिका जोमसोमको फाइभ स्टार क्लबले ९९ स्कोर जोड्दै दोस्रो र मिलिजुली युवा क्लब मार्फाले ९७ स्कोर निकाल्दै तेस्रो स्थान हासिल गरेको थियो । उनीहरुले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।मनाङका सोनम लामा सर्वोत्कृष्ट खेलाडी र विशिष्ट खेलाडी म्याग्दी दानाका कुमार पुर्जा भएका छन् । १६ टिम सहभागी फुटबल प्रतियोगितामा बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गाको थोरङ पास युवा क्लब पहिलो र जनहित युवा क्लब ‘बि’ जोमसोमले दोस्रो स्थान सुरक्षित गर्दै ५० हजार र २५ हजार नगदसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै डोरी तान्ने प्रतियोगितामा खिङ्गा ‘ए’ ले पहिलो, जोमसोमले दोस्रो र खिङ्गा ‘बि’ ले तेस्रो स्थान हासिल गरेका छन् । विजेता टिमले क्रमश २०, १५ र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको जानकारी दिइएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङका स्थानीय वर्षा सकिएपछि हिउँदको चिसो छल्न बेँसी झर्ने परम्परा छ । यही परम्परासँगै यार्तुङ पनि जोडिएको उनीहरुको भनाइ छ । जाडो छल्न बेँसी झर्नु पहिले तीन दिनसम्म रमाइलो गर्ने समय पनि हो यार्तुङ । यार्तुङ यार अनि तुङ शब्दको सम्मिश्रण हो । मुस्ताङ क्षेत्रमा यार भनेको बर्खा र तुङको अर्थ बर्खाको बिदाई भन्ने बुझिन्छ ।

टिप्पणीहरू