भिआइपी ताक्नेको भरमार

भिआइपी ताक्नेको भरमार

विदेशी झण्डा र कूटनीतिक नम्बर प्लेटको दुरुपयोग गर्दै तस्करी र कालोबजारी गर्ने विभिन्न देशका अवैतनिक वाणिज्यदूत र व्यापारीहरूलाई गृह मन्त्रालयले मात्रै नियन्त्रण गरेर के गर्नु, परराष्ट्रले नै पोस्न अनि नेताहरू विदेश जाँदा र आउँदा माछाबजार जसरी भीड लगाउन थालेपछि ! गत हप्ता माओवादी अध्यक्ष प्रचण्ड जापान जाँदा र सेनापति अष्ट्रेलियाबाट फर्कंदाको भद्रगोल यसको पछिल्लो नमुना हो ।

जापानको राजदूतमा बहाली हुन जानुअघि शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी (दुबसु) ले सचिव मोरक्को गएको मौका छोपेर त्यस्ता अवैतनिक वाणिज्यदूतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भिआइपी लाउञ्ज) प्रयोग गर्न दिने निर्णय गराएका थिए ।

प्रायः मारवाडी समुदायका व्यापारीले विभिन्न देशबाट नेपाल बसी त्यहाँको झण्डा हाल्ने नियुक्ति लिएका छन् । त्यसमध्ये सुलभ अग्रवाल एक हुन्, जो कोभिड महामारीमा थर्मल गर्न तस्करी गर्दागर्दै पक्राउ परे ।

त्यसपछि सरकारले ती ५४ जनालाई आफू सवार हुने सवारी साधनमा सधँा सम्बन्धित देशको झण्डा हल्लाएर जताततै डुल्न र कूटनीतिक नम्बर प्लेट (सिडी) प्रयोगमा रोक लगाउँदै आएको थियो । तर, दुबसुले एकाएक एयरपोर्टमा भिआइपी लाउञ्ज चलाउन दिने निर्णय गराएपछि परराष्ट्रकै हाकिमहरू छक्क परेका छन् ।

यद्यपि, विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्ने विषय परराष्ट्रको निर्णयले मात्र सम्भव हुँदैन, अध्यागमनको जिम्मेवारी वहन गर्ने गृह मन्त्रालय र पर्यटन मन्त्रालयको पनि अनुमति चाहिन्छ । फेरि, उनीहरू ‘विशिष्ट व्यक्ति हुन्’ भनेर कुनै मन्त्रालयका हाकिमले भन्दैमा हुँदैन, गृहको निर्णयका आधारमा राजपत्रमा क–कसले यो सुविधा पाउने भनेर सूचना प्रकाशित भएको हुनुपर्छ ।

तर ती मारवाडीका हकमा यो काम भएको छैन । दुबसुको उट्पट्याङ निर्णय सुनेलगत्तै गृहसचिव टेकनारायण पाण्डेले नागरिक उड्डयन प्राधिकरणका विमानस्थलस्थित महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई पत्र पठाएका छन्, भिआइपी लाउञ्जको दुरुपयोग हुन नदिनु भनेर । यति भइसकेपछि पनि पोल्याण्डका अवैतनिक वाणिज्यदूत लोकमान्य गोल्छाले गत हप्ता भिआइपी लाउञ्जको माग गरे, तर पाएनन् ।

भिआइपी कक्ष माग्नेमा अधिकांश धर्मगुरु हुने गरेका छन् । लामा गुरुहरू रिम्पोछे, महन्थ, पीठाधीश, पादरी, कालिबाबा, शंकराचार्य, मौलवीहरूले यस्तो सुविधाको निम्ति बढी नै सोर्सफोर्स लगाउने गरेको बताइन्छ ।

टिप्पणीहरू