काठमाडौंदेखि हाम्रो लस्कर कन्याकुमारीसम्म

काठमाडौंदेखि हाम्रो लस्कर कन्याकुमारीसम्म

– अमोघ धिताल

पानीमा रहेको माछा तिर्खाएको सुन्दा मलाई हाँसो लाग्छ । मानिस भगवान् खोज्न तीर्थयात्रा जान्छन् भन्ने सुन्दा पनि मलाई हाँसो लाग्छ ।

भारतका सन्त कविर दासको यो भनाइ तीर्थयात्रीका लागि थिएन । सबै धर्मका अर्थहीन र अनैतिक प्रचलनहरू मुख्यतया हिन्दू र मुस्लिम धर्मका गलत अभ्यासमाथिको प्रश्न थियो । हामीले उनको विचारलाई मनन गर्दै वैदिक जीवनका चार आश्रममध्ये ब्रह्मचर्य र गृहस्थ पार गरिसकेका छौं भने वानप्रस्थभित्र छिरेका छौं । यसर्थ अहिले हामी फुर्सदिला पनि छौं ।

दक्षिण भारतको प्रसिद्ध हिन्दू मन्दिर भ्रमण गर्ने उद्देश्यले हामी तीन परिवार दिलिपकुमार प्रधान/लीला प्रधान, देवेन्द्र जोशी/इन्दु जोशी र अमोध धिताल/मीरा धिताल बृहत् छलफलमा जुट्यौँ । एकै उमेर समूह र ४० वर्षदेखिका साथी भएकाले बेलाबखत भेटघाट र घुमघाम गरिरहन्थ्यौँ । यसपटक पनि जाने निर्णय ग¥यौं । सोहीअनुसार टुर अपरेटर अभिवादन एक्सपिडिसन एण्ड होलिडेज प्रालि नयाँबजारसित सम्पर्क र समन्वय गरी संक्षिप्त यात्रा कार्यक्रम तयार गर्न लगायौं ।

रामेश्वर मन्दिरमा १२ हजारभन्दा बढी ढुंगाका ठुल्ठूला पिल्लर,स्तम्भ र ऐतिहासिक बुट्टा कुँदिएका छन् ।

यात्रा प्लेन, रेल, बस र जीपबाट हुने भएपछि टिकट बुकिङको लागि ‘टुर अपरेटर’ लाई २ महिनाअगाडि नै पेस्की दियौं । प्रस्थान गर्नु १ हप्ताअगाडि टुर अपरेटरबाट भारतको सिमकार्ड तथा बुक भएका होटलको नाम ठेगाना, विभिन्न स्थानमा हाम्रो लागि बुक भएका जीप चालकको नाम गाडी नं. तथा मोबाइल नम्बर लियौं । सोअनुसार २०७९ जेठ ३१ गतेका दिन नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट बैंगलोरतर्फ दिउँसोको ५ बजे उड्यौं । ३ घण्टाको उडानपछि बैैंग्लोर पुगेर जीपबाट मैसुर टेक्दा रातको १२ बजिसकेको थियो ।

दोस्रो दिन

माताको दर्शन गर्न चामुण्डेश्वरी पहाडको टुप्पोमा पुग्यौं । यो कर्नाटक राज्यको मैसुर जिल्ला हावापानीको हिसाबले अति राम्रो रहेको र मन्दिर पहाडको टुप्पोबाट मैसुर भ्याली राम्रोसित देख्न सकियो ।

समुद्री सतहबाट ३३०० फिटको उचाइमा रहेको यस पहाडको चुचुरोमा देवी दुर्गाले दैत्यराजा महिषासुरको वध गरेको जनविश्वास भएको र केही पर महिषासुरको पनि ठूलो मूर्ति रहेछ । त्यसपश्चात् फेदीमा रहेको जेसी नगरमा बालुवाले बनेका विभिन्न मूर्ति अवलोकन ग¥यौं । दिउँसो शहरबाट १२ किमि परको वृन्दावन गार्डेन हेर्न गयौँ । यहाँ हिन्दी सिनेमाका धेरै सुटिङ भएको रहेछ । त्यसैसित जोडिएको काभेरी नदीको ड्याम पनि अवलोकन ग¥यौं ।

तेस्रो दिन

मैसुर दरबार घुम्न गइयो । ताजमहलपछि यो प्यालेस हेर्न वर्षमा ६० लाखभन्दा बढी पर्यटक आउने गरेको त्यहाँका गाइडले बताए । मैसुरका राजा चामुण्डादेवीका भक्त भएकाले दरबार पनि चामुण्डा पहाडतिरै फर्केको बताइन्छ । उत्कृष्ट वास्तुकलाबाहेक, शाही परिवारका चित्रहरू, सेनाले प्रयोग गरेका पुराना तोप, राइफल राखिएका प्रदर्शन कक्ष पनि सुसज्जित छन् । यस दरवारको संरचना १९१२ मा निर्माण सम्पन्न भएको मानिन्छ ।

यो दरबारको मालिक महारानी प्रमोदादेवी वडियार भए पनि यदुविर कृष्णदत्त चामराजा, जो अहिले मैसुरका महाराजा भनेर चिनिन्छन्, यसैको एक भागमा बस्दा रहेछन् । यस दरबारको मर्मत सम्भार र प्रशासन कर्नाटक सरकारले हेर्दैछ । दरबारको ढोकासामु लेखिएको ‘न विभेति कदाचन’ कहिल्यै नडराउनुहोस् शब्दको सम्झना सधैं रहिरहनेछ । मैसुर दरबारमा साँझको बत्ती बलेको हेर्न पर्यटकको भीड लाग्छ । करिब १ लाख चिम साँझमा बल्दा दरबार त्यसै झलमल हुने नै भयो ।

बैंगलोर जाने क्रममा बाटामा पर्ने टिपु सुल्तानको दरबार हेर्न पुग्याैँ। ठूलो बगैंचाको बीचमा टिपु सुल्तानको शालिक छ, जसलाई टाइगर अफ माइसोर पनि भनिन्छ । साँझ ८ बजे बैंकटेश्वर दर्शन गर्न १६० किमि बस यात्रा ग¥यौं । वातानुकूलित बसले बिहानी ३ बजे तिरूपति पु¥यायो । टुर गाइडले होटलमा न्वाइध्वाई गरी फ्रेस हुन लगाए । बिहान ५ बजे माता पद्मावतीको मन्दिर दर्शन गर्न ओर्लियौं ।

चौथो दिन

आन्ध्र प्रदेश तिरूपति जिल्लाको तिरूचनुर तिरूपती, तिरुमालामा देवी पद्मावतीको मन्दिर पुग्यौं । द्रविड वास्तुकलामा बनेको मन्दिरमा पद्मावती देवी लक्ष्मीको अवतार हुनुहुन्छ भने भगवान बैंकटेश्वरको पत्नी हुनुहुन्छ । धन, भाग्य, शक्ति, सौन्दर्य, प्रजनन र समृद्धिको देवी लक्ष्मी, पार्वती र सरस्वतीको साथमा त्रिदेवीको रूपमा रहनु हुन्छ ।

यस मन्दिर क्षेत्रमा कपाल चढाउनेको ठूलो भीड देखियो । महिला, पुरुष दुवैले कपाल चढाउने र मुण्डन गर्दा रहेछन् । प्राप्तदान र सम्पत्तिको हिसावले यो संसारको सबैभन्दा धनी मन्दिरहरूमध्ये एक हो । दिनमा ७५ हजारभन्दा बढी भक्तजनले भगवानको दर्शन गरेको बुझियो । बिहान ८ बजेदेखि लाइनमा बसेको, १ बजे मात्र भगवानको दर्शन पाइयो ।

लाइन बस्ने व्यवस्था राम्रो थियो तर भगवान्को मूर्तिनजिक पुग्दा हुल एकैचोटि छोड्ने गरेकाले जसको शक्ति उसको भक्ति भनेजस्तो ठेलमठेल हुने गर्छ । सुरक्षाको दृष्टिले पनि मन्दिर परिसरमा धेरै जाँच पड्ताल हुने रहेछ । मोबाइल फोन, क्यामेरा, इलेक्ट्रोनिक घडीजस्ता सामग्री लिई जान निषेध गरेको पाइयो भने सरसफाइको अवस्था अति राम्रो लाग्यो । यहाँका मानिसहरू भगवान वैंकटेश्वरलाई गोविन्दा भनी पुज्दा रहेछन् । अब हामी मिनाक्षी माताको दर्शन गर्न जीपमा करिब ६०० किलोमिटरको यात्रापश्चात निकै राति मदुरै पुगी होटलमा आराम ग¥यौं ।

पाँचौँ दिन

राजा मलेया द्वाजा पाण्डेयले भगवान शिवसित सन्तान प्राप्तिका लागि छोराको आश गर्दै यज्ञ गरे, यसबाट करिब ३ वर्षकी जत्री बालिका उत्पन्न भइन्, जसको ३ वटा स्तन थियो भने शरीरबाट माछाको गन्ध आउने र आँखा पनि तेजिला माछाकै जस्ता थिए । बालिकाको असामान्य अवस्था देखेर बिलखबन्दमा परेका राजालाई दैवीयआकाशवाणी भयो, अहिले आत्तिन पर्दैन, उमेर भएपछि उचित वर भेट्नासाथ सुन्दर देखिनेछिन् र एक स्तन हट्नेछ । तत्पश्चात राजा खुशी भई उनको नाम मिनाक्षी राखेर राज्य सञ्चालनमा उत्तराधिकारी स्वीकार गरे । कालान्तरमा उनैले मदुरै राज्य सञ्चालन गरिन् ।

त्यसैगरी छिमेकी राज्यहरूलाई जित्दै गइन् र इन्द्रलोकसमेत कब्जा गरिन् । शिवलोक कब्जा गर्ने क्रममा शिवजी प्रकट हुनासाथ तेश्रो स्तन र माछाको गन्ध हट्यो । मिनाक्षीले थाहा पाइन् कि मेरो हुनेवाला पति यिनै हुन् । ततपश्चात् मिनाक्षी मदुरै फर्किन् र केही समयपश्चात् विवाह सम्पन्न भयो भन्ने किम्बदन्ती छ ।

मिनाक्षी मन्दिर पहिलो शताब्दीमै निर्माण भएको र १६औं शताब्दीमा, पुनर्निर्माण भएको मानिन्छ । १४ औ शताब्दीमा दिल्लीको सुल्तानका कमाण्डर मलिक काफरले आफ्ना सेनालाई दक्षिणी भारतमा नेतृत्व गर्न पठाउँदा मन्दिरका सुन, चाँदी तथा बहुमूल्य रत्नहरू लुटेका रहेछन् । जब विजयनगर साम्राज्यले मुस्लिम सुल्तानलाई हराएर मदुरै कब्जा गरे, तब बल्ल मन्दिरको पुननिर्माण शुरु भई १६ औँ शताब्दीका राजा विश्वनाथ नायकद्वारा मरम्मत र विस्तार गरेको इतिहास पाइन्छ ।

छैठाैँ दिन

रामेश्वरको दर्शन गर्न १६० किलोमिटरको दूरी जिपबाट पार ग¥यौं । मन्दिर समुन्द्री सतहबाट जम्मा १० मीटरको उचाईमा रहेछ । रामेश्वर मन्दिरलाई तामिलनाडुमा रामनाथास्वामी पनि भनिन्छ । यो हिन्दू मन्दिर शिवको हो । बाह्र ज्योतिर्लिङ्ग र ठूलो चारधाममध्ये एक । भगवान रामले पत्नी सीतालाई अपहरणकारी रावणबाट बचाउन यहाँबाट समुन्द्रपारि श्रीलंकासम्म पुल (राम सेतु) बनाएका थिए ।

रामनाथास्वामी (शिव) मन्दिरको वर्तमान संरचना १२ औं शताब्दीमा बनाइएको हो । यस मन्दिरमा भारतका सबै हिन्दू मन्दिरहरूमध्ये सबैभन्दा लामो करिडोर रहेको छ । करिडोरको चौडाई २० फिट र ऊचाई २५ फिट छ । मन्दिरमा १२ हजारभन्दा बढी ढुंगाका ठुल्ठूला पिल्लर÷स्तम्भ र ऐतिहासिक बुट्टा कुँदिएका छन् । यति विशाल मन्दिर हामीले जीवनकालमा पहिलो चोटी देखेका हौं ।

मन्दिर परिसरभित्र २२ वटा कुण्ड छन् । ती कुण्डको जलले स्नान गर्नु तीर्थयात्राको प्रमुख पक्ष मानिन्छ । भगवान् शिवले रामलाई लंका युद्धमा भएको पाप नाश गर्न उक्त स्थानमा आफ्नो धनुले कुण्ड निर्माण गरी स्नान गर्न लगाएर शुद्ध बनाएको कथन छ । अगाडि बंगालको खाडी रहेको छ, जसमा सीतालाई स्नान गर्न लगाइयो भनिन्छ । त्यो नै अग्नि तीर्थम हो ।

सीताले बालुवाबाट बनाएको लिङ्गलाई राम लिङ्गम र हनुमानले हिमालयबाट ल्याएको विशाल लिङ्गलाई विश्वलिङ्गम भनिन्छ । रामेश्वरमा हामीले घुमेका मुख्य ठाउँहरूमध्ये पूर्वराष्ट्रपति श्री ए.पि.जे.अब्दुल कलामको घरमा उनका कीर्तिहरूको चित्र र उनीसँग सम्बधित पुस्तकहरू राखिएको छ । सानो भए पनि सजावट राम्रो देखिन्छ । त्यसैगरी पाँचमुखे हनुमानको मन्दिर र परिसरमा पानीमा तैरिने जादूगरी ढुंगा रहेका छन् । अग्नि तीर्थ भनेर चिनिने स्थानमा सीताले रामको अगाडि अग्निपरीक्षा लिएको बताइन्छ ।

धनुषकोडी बिच समुन्द्री तटमा श्रीलंकासित जोडिएको पुल रहेको अनुमान गरिन्छ । हाल पुलको केही भाग देखिने हुनाले यसलाई राम सेतु भ्यूप्वाइन्ट पनि भनिन्छ । यहाँबाट श्रीलंकाको दूरी १८ किलोमिटर मात्र रहेको बताइन्छ । यस स्थानमा पहिला १९६४ सम्म भब्य शहर रहेको र चक्रवातले यसलाई पूरै ध्वस्त गरिदिएकोले हाल भग्नावशेषका रूपमा रहेको छ । यो हिन्द महासागर र बे अफ बंगालको संगम हो ।

(बाँकी आगामी अंकमा)

टिप्पणीहरू