न्यायपरिषद् बैठक बस्दै, जिल्ला न्यायाधीश नियुक्त हुँदै

न्यायपरिषद् बैठक बस्दै, जिल्ला न्यायाधीश नियुक्त हुँदै

न्यायपरिषद्को बैठक आज बस्ने भएको छ । लामो समयदेखि थाती रहेको भ्रष्ट र गलत कार्यमा संलग्न न्यायाधीशहरुमाथि कारवाहीको काम बाँकी रहेकाले उक्त विषय आज पनि प्रमुख एजेण्डा रहेको बताइन्छ ।

आरोपी न्यायाधीशहरुमध्ये कतिपयको प्रतिवेदन आइसकेको,केहीको छानबिन हुँदै गरेकाले बैठकमा सोही विषयले प्राथमिकता पाउने स्रोतको दाबी छ । केही न्यायाधीशको छानबिन प्रतिवेदन प्राप्त भएकाले बैठकमा थप प्रक्रियामा जाने कि उक्त विषयलाई त्यहीँ अन्त्य गर्ने भन्नेबारे पनि छलफल हुने बताइन्छ ।

यसैबीच काठमाडौं जिल्ला अदालतका वकिल रुद्र पोख्रेलसङ्ग अडियोमार्फत भ्रष्टाचारमा संलग्न न्यायाधीश राजकुमार कोइरालामाथि गरिएको छानबिनको प्रतिवेदन पनि परिषद्मा पेश भइसकेको बुझिएको छ । जेल पुगेका बैंकर तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन एमाले निकट कानुन व्यवसायी रुद्र पोखरेलसँग करोडौंको घुुस डिल गरेको अडियो सार्वजनिक भएपछि न्यायाधीश कोइराला निलम्बित छन् ।

अर्कोतर्फ केही जिल्ला न्यायाधीशहरुको नियुक्ति बाँकी भएकाले आजको बैठकमा त्यसबारे पनि छलफल र निर्णय हुने बताइएको छ । कर्मचारीमध्येबाट न्यायाधीश बन्नेहरुमाथि परेको उजुरीमा छानबिन गरिएको छ । केहीविरुद्ध उजुरी परे पनि तोकिएको कानुनी दायराभित्र नपर्नेमाथि छानबिन नहुने परिषद स्रोतको भनाइ छ ।

सम्भवतः जुनियर र सिनियर भन्ने विषयमा परेको उजुरीमाथि छानबिन हुने र समस्या नदेखिए कर्मचारीहरुमध्येबाट आजै नियुक्ति हुनसक्ने सम्भावना बढेको हो ।

अहिले उच्च अदालतका न्यायाधीशको सरुवाको बेला नभएकाले त्यसबारे कुनै एजेण्डा नराखिएको बुझिएको छ । उच्चमा नियुक्त हुने न्यायाधीशको सर्ट लिष्ट गर्न बाँकी रहेकाले यसबारे पछि निर्णय गरिने भनिएको हो । त्यसरी सर्ट लिष्ट तयार गरेपछि उजुरीको लागि सात दिनको म्याद दिइन्छ । उजुरीमाथि छानबिन भएपछि मात्रै न्यायाधीशको नियुक्ति, सरुवा र पोष्टिङ हुने प्रक्रिया रहेको बताइन्छ ।

टिप्पणीहरू